मोवाइल प्रोर्टाबिलिटि सेवाः प्राधिकरण प्रक्रिया अघि बढाउँदै, सेवा प्रदायकहरू भने अनिच्छुक

Advertisement

काठमाडौं । मोवाइल प्रोर्टाबिलिटि सुविधामा नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरूबीच मतान्तर देखिएको छ । प्राधिकरणले मोवाइल प्रोर्टाबिलिटि सुविधाको अन्तिम चरणमा काम भइरहेको बताए पनि सेवा प्रदायकहरूले सो सुविधा सुचारु गर्न कठिन रहेको बताएका हुन् ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार अहिले मोवाइल प्रोर्टाबिलिटिको काम अन्तिम चरणमा पुगिसकेको छ । उनले कर्पोरेट नेपालसँग भने ,‘अहिले मोवाइल प्रोर्टाबिलिटिसँग सम्बन्धित् रिपोर्टहरू तयार भईसकेका छन् । विगतमा सोही तयारीका लागि कार्यटोली नै गठन भएको थियो । कार्यटोलीले आफ्नो रिपोर्ट तयार पारेको छ ।’ तयार भएको उक्त रिपोर्ट पास हुन भने बाँकी छ । रिपोर्ट पास गर्ने प्रक्रिया पनि अघि बढिरहेको बताउँदै उनले अब छिट्टै मोवाइल प्रोर्टाबिलिटि सेवा सञ्चालनमा आउने बताए । 

Advertisement

यता, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले भने मोवाइल प्रोर्टाबिलिटि सुविधा ल्याउनु राम्रो कुरा भए पनि यसलाई लागू गर्न त्यति सहज नभएको बताएका छन् । 

उनले भने, ‘मोवाइल प्रोर्टाबिलिटि पूर्णरुपमा प्राविधिक व्यवसाय हो । एउटा सेवा प्रदायक र अर्को सेवा प्रदायकबीच कल आदान प्रदान गर्न आवश्यक पर्ने स्रोत, साधन–उपकरणहरूको व्यवस्था गर्न लगानी तथा समय प्रशस्तै चाहिन्छ । सो सुविधामा कल आदान–प्रदान गर्ने मात्र नभई कलको बिलिङ तथा प्याकेजहरू खरिद गर्ने, रिचार्ज गर्ने कार्यले थप जटिलता हुनजाने भएकाले अध्ययन विश्लेषण विस्तृतरुपमा गरी त्यसको आवश्यकतामाथि पूर्वअध्ययन गर्न जरुरी छ ।’ 

कहिले सञ्चालनमा आउला मोवाइल प्रोर्टाबिलिटि सेवा ?
मोवाइल प्रोर्टाबिलिटि ल्याउन सकेमा राम्रो हुने कुरा प्राविधिकहरूले विगत एक दशकदेखि नै उठाउदै आएका छन् । उक्त प्रोर्टावेलिटी ल्याउनु पर्छ भन्नेमा नियामक तथा सेवा प्रदायक दुवै सकारात्मक पनि छन् । तर प्राविधिक रुपमा विभिन्न कठिनाई हुने भएकाले मोवाईल प्रोटर्यावेलिटी तत्काल भने सञ्चालन गर्न सम्भव हुने देखिदैन । 

अन्तर्राष्ट्रिय दूरसञ्चार बजारमा समेत मोवाइल प्रोर्टाबिलिटिका अभ्यास सञ्चालनमा छन् । तर सञ्चालित प्रोर्टाबिलिटिका अभ्यासले त्यति उपलब्धी भने आर्जन नगरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । 

मोवाइल प्रोर्टाबिलिटि सुविधामार्फत ग्राहकले बोकेको एउटा सेवा प्रदायकको सिमकार्ड नम्बरलाई अर्को सिमकार्डमा बदल्न मिल्छ । अर्थात नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने प्रयोगकर्ताले आफ्नो नम्बरलाई एनसेलमा परिणत गर्न मिल्छ । यस्तै, एनसेलको प्रयोगकर्ताले सोही नम्बरलाई नेपाल टेलिकममा बदल्न सक्छन् । 

यो कुरा झट्ट सुन्दा ग्राहकलाई अचम्म पनि लाग्न सक्छ । के त्यसरी एउटा कम्पनीको सिमकार्ड नम्बरलाई अर्को कम्पनीको नम्बरमा बदल्न मिल्छ ? तर केही प्रक्रिया पूरा गर्दा अवश्य मिल्छ ।

सिमकार्ड नम्बर परिवर्तन गर्न कत्तिको आवश्यक छ र त्यसलाई कार्यन्वयन गर्न कतिको सम्भव छ भन्ने कुरामा सरोकारवालाले खोजी गर्नुपर्ने सेवा प्रदायकको भनाई छ ।

Advertisement

Advertisement