अनुकुल मौसमले कृषि उत्पादन राम्रो भई आर्थिक वृद्धिको अनुमान पूरा हुनसक्छः विश्व बैंक

Advertisement

काठमान्डौं । विश्व बैंकले मनसुनमा देखिएको अनुकुलता कारण नेपालको कृषि उत्पादन राम्रो हुने र दुई दशमलव सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने विश्वास लिएको छ । 

विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटअनुसार ४० वर्षपछि  पहिलो पटक चालु आर्थिक बर्षमा अर्थतन्त्र संकुचित भएको भन्दै आउँदो आर्थिक बर्षमा दुई दशमलव सात प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सहजरुपमा पूरा हुने अपेक्षा गरेको छ । 

Advertisement

कोभिड १९ पछिको पुनर्लाभलाई तीब्रता दिन र नेपाललाई हरित, उत्थानशिल र समावेशी  विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्छ भन्दै विश्व बैंकको प्रतिवेदनमा पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुर्नउत्थान पूर्णरुपमा नहुनसक्ने औंल्याएको छ । 

बैंकले आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहनसक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८–७९ मा चालु खाता घाटा घट्न गई कूल ग्राहस्थ उत्पादन (जीडीपी)को १.२ प्रतिशत पुग्ने अनुमान पनि गरेको छ । 

राजश्व संकलन लक्ष्यअनुसार हुनसक्ने संभावना न्यून रहेको र आर्थिक राहतका उपायहरू, खोप कार्यक्रम र आयोजनाहरू पुनःसन्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चहरूले आर्थिक वर्ष २०७८–७९ को वित्तिय घाटा बढ्ने र सो आर्थिक वर्षको जीडीपीको सात प्रतिशत नजिक पुर्याउने पनि औंल्याएको छ ।  

सरकारले कोभिड १९ को प्रभाव र यसका कारण देखा पर्नसक्ने जोखिमलाई सम्बोधन गर्ने कार्यक्रम रेखांकित गरिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानशिल आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिस्पर्धी क्षमतामा सुधार ल्याउनु महत्वपूर्ण हुने विश्व बैंकले सुझाव पनि दिएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता नौ दशमलव दुई अर्ब  अमेरिकी डलर अर्थात करिब ११ खर्ब नेपाली रूपिया बराबर अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो । यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपुर्ण प्रभावसहित अनुमानित दुई लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ । मध्यकालिन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि छैन् ।” 

प्रतिवेदनमा नेपालको निर्यात क्षमता हासिल गर्नका लागि जोड दिनुपर्ने छ वटा प्रमुख प्राथमिकताहरू उल्लेख गरेको छ । यसमा तीब्र र उत्थानशिल पुनर्लाभका लागि पर्यटन क्षेत्रमा सुधार गर्ने, अधिक वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न प्रक्रिया सरलीकृत र सुव्यवस्थित गर्ने, निर्यात प्रवर्द्घनलाई आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउने, बोटविरुवाको स्वास्थ्य सम्बन्धी फाइटोसेनिटरी र गुण नियन्त्रणका पूर्वाधारमा लगानी गर्ने, र विश्व मूल्य श्रृंखलामा जोडिएको अधिक अवसरहरूको लागि डिजिटल व्यापार र ई–वाणिज्यलाई बढावा दिने रहेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजसँग मिलेर विश्व बैंकले सोमबार गरेको कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले मानिसहरूको जीवन, जीविकोपार्जन र व्यवसायमा गम्भीर असर पारेको यस कोभिड १९ महामारीको विश्वव्यापी प्रभावको बीचमा नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए । 

उनले भने, “आर्थिक सुधारमा बल पुर्याउन निर्यातको सम्भाव्यतालाई बढावा दिन गरिएका सुझावहरु नेपालले अंगिकार गरेको नीति र प्राथमिकता अनुकूल नै छ । हरित, उत्थानशिल र समावेशी विकासको एजेण्डा मार्फत महाव्याधि पश्चातको पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन नेपाल सरकार विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ ।”

सरकारको राहत, पुनर्संरचना र उत्थानशिलताको योजना महामारीको प्रभावलाई तत्काल र दीर्घकालीन रूपमा हरित, उत्थाशिल र समावेशी पुर्नलाभ प्राप्त गर्नमा केन्द्रित रहेको भन्दै विश्व बैंकले योजनाको पहिलो चरण कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यवसाय र घर परिवारलाई राहत र सहायता केन्द्रित रहेको बताएको छ । पुनर्संरचनाको चरण वा मध्यम अवधिमा, देशको प्राकृतिक पूँजी आधार कायम गर्ने हरित रोजगारी प्रवर्द्घन र सिर्जना गर्ने लगानीमार्फत पुनर्लाभमा केन्द्रित रहेको उसको भनाई छ । 

माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद–जर्भोसले भने “हामी नेपालको हरित, उत्थानशिल, र समावेशी विकासलाई सहयोग गर्न सरकारले चालेका योजनाबद्ध सुधारका कदमहरूलाई स्वागत गर्दछौं । यस संकटबाट थप बलियो बनेर निस्किनका लागि नेपालका लागि यो एक आधार हुनेछ । यस प्रयासमा हामी विशेष गरी दिगो र उत्थानशिल पुनर्लाभलाई सहयोग पुर्याउन, नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न टेवा पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यको लागि तत्पर छौं ।”
 

Advertisement

Advertisement