डा. आचार्यको प्रश्न– हाम्रा नेतामा सार्वभौमसत्तासम्पन्न देशलाई व्यवस्थापन गर्ने क्षमता छ र ?

Advertisement

काठमाडौं । पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्यले अमेरिकी संस्था एमसीसी सँग भएका गलत प्रावधानहरु सच्याएर मात्रै पास गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार उनले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने बताए । 

प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी पास गर्ने वा के गर्ने भन्नेबारे अहिलेसम्म धारणा बनाएको छैन भनेर भन्नु गलत भएको भन्दै आचार्यले भने, ‘म एमालेका साथीहरुलाई भन्न चाहन्छु, तपाईंरुले शेरबहादुरलाई होईन, जनतालाई जवाफ दिनुपर्छ । केपी ओली बहुत वाचाल हुनुहुन्छ । मलाई त सिंहदरबारमा बस्ने नेताहरुको व्यवहारसँग डर छ । हाम्रो नेताहरुमा सार्वभौमसत्तासम्पन्न देशलाई व्यवस्थापन गर्ने क्षमता छ र ? अमेरिका सुपरपावर देश हो । यत्रो रकम दिँदा उसको स्वार्थ छ । एमसीसीको उपाध्यक्ष भनेको एउटा कर्मचारी हो । उहाँहरु आउँदा देश नै एमसीसीमय भयो । हाम्रा नेताहरु आन्तरिक राजनीतिको पोको फुकाउनुहुन्छ । यस्तो विषयमा त सबै दलहरु एक कठ्ठा हुनुपर्छ । म एमसीसी जस्ताको त्यस्तै पास हुनुहँदैन भन्ने व्यक्ति हुँ ।’

Advertisement

राजनीतिक दलहरु, यसका नेताहरु र राज्य संयन्त्रमा भएका व्यक्तिहरु र बौद्धिकहरुले राष्ट्रप्रति ठूलो अन्याय गरेको आचार्यको भनाई छ । उनले एमसीसी सम्झौता गर्दासम्म नेपालको तर्फबाट पर्याप्त लापरवाही रहेको सुनाए । 

आचार्यले भने, ‘राष्ट्रिय हित के–के हुन ? भन्ने विषयमा लापरवाही भयो । अमेरिका नेपालमा ४०–५० वर्षदेखि विकासको सहयोगी हो । सम्झौतामा राजनीतिक र रणनीतिक प्रकृतिका शर्त छन् ।’

उनले अहिलेसम्म ४६ देशमा एमसीसी सम्झौता भएको र तीमध्ये तीन–चार वटा देशमा सम्झौता खारेज भएको पनि स्मरण गराए । आचार्यले भने, ‘सम्झौतामा अमेरिकी कानून लागू हुने कुरा लेखिएको छ । कम्प्याक्टको दफा ३.३ मा यो कुरा लेखिएको छ । वैदेशिक अनुदान कहिल्यै पनि फ्रि हुँदैन । चीनले पोखरा विमानस्थल बनायो, त्यहाँ उसले आफ्नै ठेकेदार राखेको छ । भारतले हुलाकी राजमार्ग बनाउँदा पनि त्यस्तै गरेको छ । यो सम्झौतामा अमेरिकी स्वार्थलाई बढावा दिने कुरा लेखिएको छ ।’

डा. आचार्यले एमसीसी आईपीएसको अंग हो कि होईन ? भन्ने प्रश्न नै गलत रहेको पनि सुनाए । उनले भने, ‘कुटनीतिमा देखिने र नदेखिने पाटा हुन्छन् । यो एमसीसीमा ९ वटा शर्तहरु अनन्तकालसम्म रहने कुरा लेखिएको छ । ५.५ मा हेर्दा अमेरिकी हितभन्दा बाहिर हुनुहुँदैन भनिएको छ ।’

संरचना बनिसकेपछि संरचनाको उपयोगबारे पनि अमेरिकाको चासो हुन्छ भनेर लेखिएको पनि उनले सुनाए । आचार्यले भने, ‘विकासको आयोजनाको लागि संसद्मा गएर सन्धी ऐन बनाउने हो ? भोलि अन्य देशले पनि ल्याए भने हामी कहाँ पुग्छौं । भोलि हामी गलपासोमा पर्नसक्छौं । अमेरिकी सिनेटमा छलफल हुँदा अमेरिकी रणनीतिक स्वार्थबारे पनि स्पष्ट रुपमा राखिएको छ । देशको हितमा हुँदा पास गर्दा हुन्छ । तर, यो त छलफल गर्नुपर्छ । हामीले उठाएका प्रश्न अनावश्यक होईन तर अप्ठ्यारा लाग्ने हो । कांग्रेस र एमालेका नेताहरुको व्यवहार जनसंगती छैनन् ।’

Advertisement

Advertisement