कर योगदानबारे प्रश्न उठिरहँदा चौधरी ग्रुपले भन्यो– गएको आवमा १४ अर्ब २८ करोड कर तिर्यौं

Advertisement

काठमाडौं । नेपालको एक मात्रै अन्तर्राष्ट्रियस्तरका धनाड्य विनोद चौधरीले गएको आर्थिक बर्षमा १४ अर्ब २८ करोड रुपियाँ कर तिरको बताएका छन् । चौधरी ग्रुपले सोमबार विज्ञप्तिमार्फत नेपालको कुल राजश्वमा आफ्नो ग्रुपले एक दशमलव ७३ प्रतिशत योगदान दिएको जानकारी दिएको छ । 

नेपाली काँग्रेसका साँसदसमेत रहेका विनोद चौधरीले तिर्ने गरेको करबारे बारम्बार प्रश्न उठ्ने गरेकोमा गएको आर्थिक बर्षमा आफूले गरेको योगदान समूह ग्रुपले सार्वजनिक गरेको हो । एउटा ब्यापारिक समूहबाट सरकारको राजश्वमा भएको संभवतः यो सबैभन्दा ठूलो योगदान भएको सो ग्रुपको भनाई छ । 

Advertisement

कोभिड–१९ का कारण विश्वव्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई व्यापारिक कारोबारमा ब्यापक गिरावट आएको समयमा आफूले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको चौधरी ग्रुपको भनाई छ । 

उक्त ग्रुपले आर्थिक बर्ष २०७६–७७ मा नौ अर्ब ८७ करोड, आव २०७५–७६ मा ११ अर्ब ६७ करोड, आव २०७४–७५ मा नौ अर्ब ६७ करोड रुपियाँ राजश्यमा योगदान गरेको पनि जानकारी दिएको छ । 

Advertisement

विनोद चौधरीले भनेका छन्, ‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ । स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भुमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’

विगत चार आर्थिक बर्षमा चौधरी ग्रुपले सरकारको राजश्वमा ४५ अर्ब ५० करोड  रूपियाँ योगदान गरेको जनाएको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रसम्म लगानी गरेको छ । यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एकमात्र डलर अर्बपतिको सूचीमा सुचीकृत छन् । 

गत बर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेको र स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो भन्दै ग्रुपले लकडाउन व्यहोर्नु नपरेको भए राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने थियो भनेको छ । 

Advertisement