पूर्वराज्यमन्त्री ‘टक्ला’लाई ११ बर्षको कैद फैसला

Advertisement

जनकपुरधाम । उच्च अदालत जनकपुरधामले पूर्वराज्यमन्त्री संजय साह ‘टक्ला’लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा उनलाई दोषी ठहर गर्दै सजाय सुनाइएको हो । 

धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएकोमा उनले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिएपछि फैसला कार्यान्वयनमा ढिलाई भएको थियो ।जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित बाँकी सबैलाई कसुर ठहर गरेको थियो । सफाइ पाएका विरुद्ध सरकारले पुनरावेदन गरेको थियो भने कसुर ठहर भएकाहरुले निवेदन दिएका थिए ।

Advertisement

यसअघि १७ असोजमा ज्यान मार्ने उद्योग कसुर सदर गरे पनि उच्च अदालतले सजाय घटाएर १२ वर्षको ठाउँमा ७ वर्ष कायम गरेको छ । कर्तव्य ज्यान मुद्दामा साहको कारणले ५ जनाको हत्या नभएको, अरु व्यक्तिको कारणबाट उनीहरुको ज्यान गएको देखिए तर त्यही प्रसंगमा जीवनाथ चौधरीको हत्या गर्न षडयन्त्र गरेको तर हत्या प्रयास सफल नभएको ठहर उच्च अदालतले सोमबार गरेको छ । उच्च अदालतले ११ वर्ष कैदको फैसला गरेको छ । 

उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई कैद सजायको फैसला गरेको हो । २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए ।

सो घटनामा साहलाई मुख्य योजनाकारको रुपमा हेरिएको थियो । सोही आधारमा उनीविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने मुद्दा चलाइएको थियो । अहिले उनी जेस सजाय काटिरहेका छन् । 

Advertisement

Advertisement