Advertisement

काठमाडौं । सन् २००१, जतिबेला कुनै नेपालीले पनि सामसुङ ब्राण्ड चिन्दैन्थे, त्यतिबेला उनले यो ब्राण्ड नेपालमा भित्राए । सामसङलाई नेपालीको मन मनसम्म पुर्याउन संघर्ष गरे र यसलाई नेपालको पहिलो नम्बरको मोवाइल ब्राण्डको रुपमा स्थापित गराउन सफल भए । उनी हुन दीपक मल्होत्रा । 

मल्होत्राको संघर्षशील व्यवसायिक यात्रा चार दशकभन्दा लामो भइसकेको छ । उनको पहिचान सामसङ मोवाइल एक्लै बनाएको पनि होइन् । होटल, जलविद्युत, घरजग्गा, वित्तीय क्षेत्र आदिमा पनि मल्होत्राको ठूलो लगानी भइसकेको छ । 

Advertisement

उनले कुनै विदेशी भूमिमा नगई नेपालमै बसेर उच्च शिक्षासम्मको अध्ययन पूरा गरे । उनमा सानैदेखि ‘व्यवसाय नै गर्ने हो’ भन्ने इच्छा थियो । छिमेकी गोल्छा खानदानसँगको संगतले पनि मल्होत्रालाई व्यवसायमै लाग्न झन उद्देलित बनायो । ​व्यापार व्यवसायमै रमाउने नेवार समूदायकी छोरीसँगको विवाहले झन उनलाई हौसला मिल्यो । डाक्टर, इन्जिनियर बन्ने सोच मल्होत्रामा कहिल्यै आएन् । 

व्यवसायी मल्होत्राको पैत्रिक पेशा होटल व्यवसाय हो । तर त्यो व्यवसाय उनले रोजेनन् । आजभन्दा ४१–४२ बर्षअघि कसैसँग हङकङ पुगेका मल्होत्राले हङकङको बजारहरु घुमे । त्यहाँ धेरै कुराहरुबारे जानकारी लिए । र, नेपालमा घडी, टेलिभिजन, कम्युटरका पार्टपुर्जा लगायतका इलेक्ट्रोनिक्स सामानहरुको आयात सुरु गरे । नेपालमा हुने मागअनुसार हरेक त्यस्ता सामानहरु उनी आयात गर्थे । हङकङमा सामानहरु सस्तो पाइन्थ्यो । 

त्यतिबेला नेपालमा व्यापार व्यवसाय गर्न निकै असहज थियो । त्यसमाथि आयात व्यापार झन कठिन । विदेशी मुद्राको निकै अभाव हुन्थ्यो । बाणिज्य विभागले तोकेको मापदण्डका आधारमा सीमित मात्रामा सामान आयात गर्नुपर्ने बाध्यता थियो । 

सन् १९९७ सम्म वैधानिकरुपमा विदेशबाट आउँदा १० किलोसम्म सुन ल्याउन पाइने नियमअनुसार अरु व्यवसायीसहित मल्होत्राले पनि ल्याउँथे र भारतीयहरु नेपालमा आएर त्यो सुन किन्थे । सन् १९९७ मा भारतले सुन आयात गर्दा भन्सार दर घटाएर न्यून गरिदिएपछि भारतीय आफैले सुन आयात गर्न थाले भने यता नेपालका व्यवसायीको स्वतः सुक्यो । त्यसपछि कुनै पनि सुन आयात नगरे पनि मल्होत्रालाई आलोचना गर्न चाहनेहरु बारम्बार उनलाई सुन तस्करीसँग जोडेर आलोचना गर्न छोडेका छैन् । मल्होत्रा १९९७ पछि आफूले एक ग्राम सुन तस्करी गरेको प्रमाण देखाए आफ्नो सम्पत्ति राज्यलाई सुम्पन तयार रहेको भन्दै आलोचकलाई चुनौति दिन्छन् । 

मोवाइल यात्रा
व्यवसायी मल्होत्राले मोवाइलको व्यापार सुरु गरेको पनि २५ बर्ष भइसकेको छ । इलेक्ट्रोनिक्स सामानको व्यापारबाट उनी १९९६ मा मोवाइलको व्यापारतिर मोडिए । त्यतिबेला मल्होत्राले नोकिया, मोटोरोला, सोनी, अल्काटेललगायतका त्यतिबेलाका थुप्रै मोवाइल फोनहरु आयात गर्थे । तर ती समान नेपाल उपभोक्ताका लागि नभई भारतीय पर्यटकका लागि लक्षित थिए । 

त्यो बेलामा भारतमा मोवाइल फोनमा करका दरहरु महंगो भएकाले भारतीय पर्यटकहरु नेपालमा आउँदा फोन किन्ने गर्थे । कतिपय भारतीय सामान किन्न मात्रै पनि नेपाल आउने गर्थे । मल्होत्राले मोवाइल फोन भित्राएको दुई बर्षपछि मात्रै नेपालमा मोवाइल फोनका लागि सिमकार्डको बिक्री खुल्ला गरिएको हो । नेपाल टेलिकमले पहिलो पटक १० हजार सिम बिक्री खुल्ला गरे पनि किन्नेको संख्या न्यून भएपछि पटक पटक सुचना निकाल्नु परेको थियो । त्यसपछि मात्रै मल्होत्राले ल्याएका फोन नेपालमा बिक्री हुन थाल्यो । 

सन् १९९८ मा नेपालमा पहिलो पटक मोवाइल फोन खुल्ला भएसँगै मोवाइल आयातमा एउटै व्यक्तिलाई जुनसुकै ब्राण्डका मोवाइल आयात गर्न दिने कुरामा नियन्त्रण गरियो । सोही प्रावधानअनुसार मल्होत्राको आईएमएस ग्रुपले सुचना तथा सञ्चार मन्त्रालयबाट लाइसेन्स पनि लियो । त्यो बेलामा सबैभन्दा धेरै बिक्री हुने मावाइल ब्राण्ड नोकिया थियो । सुरुमा आईएमएस ग्रुपले नोकियाको आधिकारिक बिक्रेताको लागि प्रयास गर्यो ।

तर उसले ‘त्यो खालको सिस्टम हाम्रो छैन्’ भन्दै नदिएपछि आईएमएस ग्रुपले सामसङको आधिकारिक बिक्रेताको अनुमति लिन पहल गर्यो । र, उसले आईएमएसलाई नेपालको आधिकारिक बिक्रेता पनि तोकिदियो । 

सन् २००५ मा अर्को सेवा प्रदायकको रुपमा तत्कालिन स्पेस नेपाल प्रालि (हालको एनसेल)ले मेरो मोवाइल ब्राण्ड थपिएपछि मोवाइल फोनको बिक्री ह्वात्तै बढ्यो । सामसङ फोनको व्यापार पनि अझै बढ्यो । 

सन् २००१ मा नेपाल भित्राउँदा कसैले पनि सामसङ फोन चिन्दैन्थ्यो । सबैको मुखमा नोकिया मात्रै हुन्थ्यो । यस्तो स्थितिमा पनि मल्होत्रा जोखिम मोलेरै सामसङको आधिकारिक बिक्रेता बने । यसलाई नेपाली बजारमा स्थापित गर्न उनले निकै मेहनत गरे । धेरैको हातमा यो फोन पुर्याउन दौडधुप गरे । र, नेपालमा ५० प्रतिशतभन्दा बढि बजार हिस्सासहित सबैभन्दा धेरै बिक्री हुने मावाइल ब्राण्डको रुपमा स्थापित गरे । 

सामसङ मोवाइलले ठूलो बजार लिएको देखेपछि सन् २००७ बाट अरु मोवाइल ब्राण्डहरुले पनि नेपालमा आफ्नो आधिकारिक बिक्रेता नियुक्त गर्न थाले । त्यसपछि सामसङ फोनको प्रतिस्पर्धा अरु ब्राण्डसँग सुरु हुन थाल्यो ।  सन् २०११ बाट सामसङ विश्व कै नम्बर १ मोवाइल ब्राण्ड भएपछि यसप्रति नेपाली उपभोक्ताको झन विश्वास बढ्यो । र, अझै पनि सामसङ मोवाइल फोन नेपालको नम्बर वान स्थानमा छ । 

विश्वमा नम्बर वान नहुँदै नेपालमा सामसङलाई नम्बर वान ब्राण्ड बनाउन मल्होत्रा सफल भए पनि सामसङ कोरियाले नेपालमा यस ब्राण्डको बिक्रीका लागि अर्को बिक्रेता थपिदिएपछि उनी खुशी छैनन् । आफ्नो ब्राण्डलाई नेपालमा स्थापित गराउन सफल भएकोमा सामसङले उनलाई सम्मान गर्न कन्जुस्याईं गरेको छ । सबै मुलुकमा कम्तिमा दुई वटा आधिकारिक बिक्रेता राख्ने नीति बनाएअनुसार सामसङले अर्कोलाई पनि बिक्रेता तोकेको छ । 

चुनौति 
पछिल्ला दिनमा चिनियाँ ब्राण्डका मोवाइल पनि केही स्तरीय आउन थालेपछि भने सामसङलाई चुनौति थपिएको छ । पहिला जस्तो एकलौटी बजार छ भनेर बस्ने अवस्था मल्होत्रालाई छैन् । सामसङको गुणस्तर, सुविधा, नविन प्रविधिले गर्दा यस ब्राण्डप्रति उपभोक्ताको ठूलो विश्वास रहे पनि धेरै मोवाइल ब्राण्डहरु आक्रामकरुपमा आएको बेलामा सामसङ पनि आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको छ । सामसङ नेपालले अझै पनि नेपालमा आफ्नो ७५ प्रतिशत बजार हिस्सा रहेको बताउँदै आएको छ । 

Advertisement

Advertisement