लुलाई प्रचण्डको जवाफ– डिसेम्बर १४ अघि नै हामी एमसीसी टुंगो लगाउँछौं

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो डिसेम्बर १४ अघि नै अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता टुंगो लगाउने बताएका छन् । 

एमसीसीबारे छलफल गर्न नेपाल भ्रमणमा रहेको अमेरिकी सहायक विदेशमन्त्री डानाल्ड लुसँग शुक्रबार भएको भेटमा उनले उक्त आश्वासन दिएका हुन् । प्रचण्डले एमसीसी सम्झौताको डकुमेन्ट पहिला जस्तो थियो, अहिले त्यस्तो नभएकाले कन्फ्युजन सिर्जना भएको तर्क गरेका छन् । उनको संकेत पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले सम्झौतामा संशोधन गरेर संसदबाट पास गर्नुपर्ने कुरा राखेबाट कन्फ्युजन सिर्जना भएको हो । 

Advertisement

लुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताए । उनले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने लुले बताएको जानकारी दिए । प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको जिकिर गर्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने जानकारी गराएको बताए । 

प्रचण्डले भने, ‘राम्रो वातावरणमा सौहाद्रपूर्ण र खुल्ला छलफल भयो । म छलफलबाट पूरै सन्तुष्ट भएको छु, हामीले पहिलो कुरा नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेण्टको बारेमा केही कुरा गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर बेस्ट इण्डस्ट्रीको आवश्यक्ता छ, युवाहरुलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इण्डस्ट्री नै राम्रो हुन्छ भने । नेपालको पिस प्रोसेसको बारेमा कुरा भयो, तेस्रो कुरा एमसीसीमा थियो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ ।’

Advertisement

Advertisement