‘सरकारको कार्यशैलीले पर्यटक ल्याउन मात्रै हैन्, पर्यटनको साख जोगाउन पनि मुस्किल भयो’
विनायक शाह, प्रथम उपाध्यक्ष, होटल संघ नेपाल (हान)

Advertisement

विनायक शाह
काठमाडौं । कोरोना महामारी सुरु भएको करिब दुई वर्ष भएको छ । यस अवधिसम्म महामारीले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रमध्ये पर्यटन पनि हो । यो क्षेत्रमा हामी पर्यटन व्यवसायीलाई टिक्न निकै गाह्रो भएको छ । 

अहिलेसम्म जसोतसो टिकेका व्यवासायीलाई अझै कति समय टिकाउने ? भन्ने चिन्ता छ । हुन त विश्वभर खोपको मात्रा बढ्दै गएकोले पर्यटन व्यवसायीमा पनि आशाको किरण भने देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि जनसंख्याको एक तिहाइभन्दा बढीले खोप लगाइसकेपछि उक्त मुलक महामारीको रेड जोनबाट बाहिर आउन सक्छ भन्ने छ । 

Advertisement

नेपालमा पनि एक तिहाइभन्दा बढीले नै खोप लगाइसके भन्ने सरकारी तथ्यांक छ । सेवा क्षेत्रमा काम गर्ने करिब ९५ प्रतिशतभन्दा बढी अग्रपंक्तिमा खटिने कर्मचारी तथा कामदारले खोप लगाइसकेका छन् । यिनीहरूबाट सेवा सुविधा लिंदा संक्रमण पनि न्यून हुँदै गएको पक्कै देखिन्छ ।

पर्यटन क्षेत्र पुनरजागृत गराउन र अन्तर्राष्ट्रिय समूदायलाई महामारीपछि सकारात्मक सन्देश दिन अब नेपाल पनि रेड जोनबाट हटाउनुपर्छ भन्ने हामी पर्यटन व्यवसायीले माग गर्दै आएको छौं । यसको लागि सरकारले उपयुक्त पहल गर्नुपर्छ । पर्यटक आगमन सहजीकरण गर्न र यात्रा सहज बनाउन पनि उपयुक्त विधिहरूको खोजी गरिनुपर्छ । महामारी न्यूनीकरण हुँदै जाँदा हामी पर्यटन व्यवसासीले तय गरेका योजना अब ठूलो क्षेत्रमा नगए पनि सानो क्षेत्रबाट भ एपनि सुरु गर्नुपर्ने हुन्छ । 

सरकारले जारी गरेको ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८’ को शीघ्र पूर्णरूपमा कार्यान्वयन हुनुपर्छ । सरकारले व्यवसायी तथा पर्यटकीय सेवा लिने सेवाग्राहीलाई भएको कतिपय द्विविधाका विषयमासमेत थप स्पष्ट गर्नुपर्ने हुन्छ । यसका लागि सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानमा सहजीकरण गर्न आवश्यक छ । सरकारले कार्यविधि छिटो ल्याउने र यसलाई कार्यान्वयन गरेर छिटोभन्दा छिटो पुनरुत्थान गर्नतर्पm अग्रसर हुनुपर्छ ।

नेपाल शरद ऋतुका लागि पदयात्रा गर्ने र दृश्यावलोक तथा विदा पर्यटन मनाउन आउनेका लागि उपयुक्त समय हो । त्यसैले अब विस्तारै पर्यटक बढ्ने अनुमान छ । नेपाल पर्यटनमा प्राकृतिक विविधताले गर्दा स्वर्ग नै छ भन्ने गरिन्छ । हामीले पर्यटकका लागि विविधता छ मात्रे भनेर बस्ने मात्रै नभएर त्यसलाई प्रवद्र्धन गर्नमा जोड दिनुपर्छ । ती पर्यटकीय विविधतालाई हामीले अझै चिनाउन र प्रवद्र्धन गर्न सक्नुपर्छ ।

नेपाल साहसिक पर्यटनको लागि उपयुक्त गन्तव्य पनि हो । यहाँ भएका पर्वतीय पर्यटन अन्तगर्त पर्वतारोहण, पदयात्रादेखि राफ्टिङ, बन्जी, स्काई डाइभिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङसहितका साहसिक पर्यटनको प्रडक्ट पर्यटक आकर्षणको माध्यम हुन्छन् । अब पर्वतारोहण तथा साहसिक पर्यटनमा रुची देखिन थालेको छ । यही क्षेत्रमा पछिल्लो समय पर्यटकले रुची देखाइरहेका पनि छन् । 

महामारीपछि सामूहिक रूपमा नआए पनि व्यक्तिगत रूपमा आउनेका लागि पर्वतारोहण रुचाउने, पर्वतीय पर्यटनदेखि यहाँका सौन्दर्य मन पराउनेको गन्तव्यस्थल भएको देखिन्छ । यसका लागि जतिसक्दो चाँडो सरकारले आगमनमा सहजीकरण गर्नुेदेखि आकर्षिक गर्ने प्याकेजन पनि ल्याउनुपर्छ । नत्र नेपाल आउने पर्यटक नेपाल खुला नहुँदा अरु नै देश जान सक्छन् । ती पर्यटकले अर्को देश जाने योजना नबनाउँदै हामीले पर्यटकीय वातावरण सिर्जना गरिसक्नुपर्छ ।

कोरोनापछि न्यू नर्मल अवस्थामा जाने प्रयास संसारभर भइरहेको छ । असाधारण र असामान्य अवस्था गुजारेर आएकोले अब गर्ने काम पहिलेभन्दा विल्कुल फरक हुनैपर्छ । सरकारको काम गर्ने तौरतरिका अब परिवर्तन गर्न ढिलो भइसक्यो । यसका लागि सरकारले सहजीकरण गर्नुपर्छ । 

पहिले जसरी काम गर्ने गरिएको थियो, अब त्यो तरिकाले नहुन सक्छ । छिटो, छिरितो र राम्रोसँग काम गर्ने र पर्यटक भित्र्याउने काम गर्नुपर्छ । अब एकैपटक सबै देशले पर्यटक खोज्न थालेका छन् । त्यसो हुँदा जसले सहजीकरण गरेको छ र जहाँ जाँदा पर्यटकले तुलनात्मक रूपमा लाभ तथा सहजता महशुस गर्नसक्ने वातावरण देख्छन त्यहीँ जाने हो । त्यसैले यो उद्योग नै आतिथ्यता राम्रो भएको मुलुकमा जान रुचाउने प्रकृतिको हो ।

पर्यटक आगमन सहजीकरणमा बहस भइरहे पनि नेपालले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने र एक महिनाको लागि निःशुल्क घोषणा गरेको भिसा शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेको छैन् । त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ । यसले संसारकै ध्यान आकर्षित गर्नसक्छ । यसले गर्दा हामी सबैको प्रयासले छिटो लयमा फर्कन सक्ने पनि देखिएको छ । 

पछिल्लो समय खोप लगाएर हिड्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ । खोप लगाएर हिड्ने पर्यटकलाई सहजीकरण पक्कै गर्नुपर्छ । खोप लगाएका पर्यटकलाई खोप लगाएकै जनशक्तिबाट सेवा दिने भएकोले आत्मविश्वासको तह बढेको छ । यसो हुँदा संक्रमणको जोखिम कम हुने, खोप लगाएपछि एक प्रकारले ढुक्कको अनुभूति हुन्छ भने संक्रमण भइहाले पनि कम जोखिम हुन्छ भन्ने छ । त्यसैले पनि अब आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकको संभावना बढ्न सक्ने चाहिँ देखिन्छ ।

महामारीले पर्यटनमा असर 
कोरोना महामारीका कारण वैशाख २०७७ मा शून्यमा झरेको पर्यटक आगमन सुधार हुँदै चैत २०७८ सम्ममा मासिक २२ हजार आउन थालिसकेका थिए । वैशाख २०७८ मा पुनः महारीको दोस्रो लहरका कारण गरिएको निषेधाज्ञाबाट पुनः पर्यटक आगमन ओरालो लाग्यो ।  विदेशमा बसेका नेपाली नागरिक आफन्त भेट्न आएकाबाहेक पर्यटकको सूचीमा परेनन् । यो बीचमा महामारीले कति व्यवसायी तथा पर्यटनलाई असर गर्यो ? भनेर व्यवसायी कै सहकार्यमा एक अध्ययन पनि भएको थियो । उक्त अध्ययनले १७ प्रतिशत व्यवसायी नै यो व्यवसायबाट बाहिरिएको भन्ने प्रतिवेदनसमेत आएको छ । 

बैंकले ऋण नपत्याउने, घरभाडा तिर्न नसक्ने, व्यवसाय चल्नै नसक्ने तथा आम्दानीको स्रोत नै शून्य भएको हुँदा ती व्यवसायीलाई समस्या परेको हो । पर्यटनमा कुनै चलहपलह नै नभएको, मनस्थिति पनि विषय भएको थियो भने सोही बेला सरकारले पनि कुनै सहयोग नै नगरेका कारण यो क्षेत्रलाई थप समस्या परेको थियो ।

अहिले जे जति पर्यटक आएका छन्, ती सबै फेरि खोपको मात्रा पूरा गरेर बाहिरिन थालेकोले पनि पर्यटक विस्तारै बढ्न थालेको हो । पर्यटक आउने वातावरण अब विस्तारै सिर्जना भएको पनि देखिन्छ । भाइरको नयाँ भेरिएन्ट ओमिक्रोन नियन्त्रणमा आयो भने पर्यटक आगमन बढ्ने र सहजतातर्फ गएको सन्देश भने आगमनको तथ्यांकले नै देखाउँछ । पर्यटक आउने वातवारण भएपछि विस्तारै यो क्षेत्र रिभाइव हुँदैछ ।

महामारीले साना व्यवसायी नै विस्थापित भए भने ठूला व्यवसायका पनि दक्ष जनजशक्ति बेरोजगार बने । ती जनशक्ति दुई वर्षदेखि घरमै छन् । कुनै वैकल्पिक पेशा व्यवसाय गरेर अस्थायी रूपमा काम गर्दै जीविकोपार्जन गरेर बसेका कतिपय जनशक्ति पुनः यही पेशामा फर्कने अपेक्षा छ । उनीहरूले वर्षौं लगाएर सिकेको सीप, दक्षता र जीवनभरको संघर्षमा खर्चिएको समयको हिसावले अहिलको अल्पकालिन समय मात्रै बैकल्पिक पेशामा छन् । भोलिका दिनमा पर्यटन पुनरुत्थान भयो भने वातावरण सहज हुुँदा अहिले विस्थापित भएका व्यवसायी तथा मजदुर पुनः यही पेशामा फर्कन सक्ने सम्भावना बाँकी नै छ । कामदारमा व्यवसायीले गरेको अहिलेसम्मको लगानी पुनः फिर्ता ल्याउने प्रयास हाम्रो पनि हुन्छ ।

लामो समय भएका कारण यो पेशमा वर्षो मेहनत गरेका, जीवनभरको संघर्षबाट केही रकम संकलन गरेका र स्वेच्छिक अवकाश लिएर केही पेशा व्यवसाय सुरु गरिसकेका व्यक्ति भने पुनः यो क्षेत्रमा नफर्कन पनि सक्छन् । युवा पुस्ता भने पक्कै पर्यटन मै आउँछन् । यो पेशाले ठूला व्यवसायीभन्दा सानालाई पक्कै बढी समस्या पारेको छ । ठूलाको जग अलि बलियो हुने हुँदा सानालाई अलि बढी समस्या परेको हो ।

तीन तहको सहकार्य आवश्यक
कोरोना महामारीपछि हामी निजी क्षेत्र पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सरकार तीनवटै तह सँगसँगै सहकार्य गरेर जानुपर्ने हुन्छ । पर्यटन व्यवसायी यसअघि आगमन सहजीकरणको माग गर्दै सीसीएमसीमा कति धायौं धायौं । पर्यटन मन्त्रालय, स्वस्थ्य मन्त्रालयको आआफ्नै मापदण्ड, राजनीतिक तहमा निर्णय स्वेच्छाचारी हुँदा पर्यटन क्षेत्र उसै त मारमा परेको त्यसमाथि समन्वय नहुनु सबैभन्दा कमजोरी रह्यो । निजी क्षेत्रले बोर्डलाई गुहारिरह्यो बोर्डले पनि सरकारलाई घचघच्याइरह्यो तर प्रभावकारी समन्वय भने हुन सकेन् । 

सरकारको हप्ता हप्तामा परिवर्तन हुने निर्णय, एउटा निर्णय कार्यान्वयन नहुँदै अर्को निकायबाट फेरि परिवर्तन हुने हुँदा यो क्षेत्र धेरै नै पिल्सियो । पर्यटन व्यवसायी सीसीएसीमा, पर्यटन मन्त्रालय र प्रधानमन्त्रीकोमा जति धाउँदा पनि केही सीप नलागेर थाकेका बसेका थियौं । पटक पटक व्यवसायीले साँचो बुझाउने र हरियो प्लेटका सवारीले काठमाडौं घेर्ने चेतावनी दिएका कारण अहिले बल्ल अनलाइन भिसा खुल्यो र सहजीकरण हुने अवस्थासम्म आइपुग्यो ।

हाम्रो देशमा नीति निर्माण हुने तर त्यसको कार्यान्वयन फितलो हुने समस्या छ । त्यसको अनुगमनसमेत नहुने समस्या छ । महामारीपछि देश दर्शन कार्यक्रम अघिल्लो सरकारकै पालामा आएको थियो । अहिलेको सरकारले पनि त्यसलाई स्वीकार गरेपनि अहिलेसम्म कर्मचारीले कार्यविधि नै बनाएका छैनन् । १० दिनको पर्यटन काजमा पठाउने विषय पनि बजेटमा आयो, सरकारले कार्यक्रम लागू गर्ने भयो । तर अहिलेसम्म कार्यविधि बनाएर कार्यान्वयनतर्फ जान कुनै वास्तै नै देखाएन । यसले त हाम्रो देशमा नीति निर्माण हुने, निर्णय पनि हुने तर त्यसको कार्यान्वयन भए नभएको कुनै अनुगमन नै नहुने समस्या थप जटिल हुँदै गएको देखाउँछ । पर्यटन क्षेत्रको अगुवा देखिने नेतृत्व गर्ने निकाय निजी क्षेत्रको लागि पर्यटन बोर्ड मात्रै हो । बोर्डको कुरा सरकारले नसुन्ने भएपछि यसको अर्थ चाहिँ के नै रह्यो र ? 

अन्तर्राष्ट्रिय प्रवद्र्धन कसरी ?
नेपालमा आउने पर्यटक २० देखि २५ प्रतिशत एक पटक आइसके पनि पुनः आउने गरेका छन् । सन् २०१९ मा करिब १२ लाख पर्यटक आए । यसमध्ये झन्डै एक तिहाई हिस्सा सन् २०२० मा नेपाल आउन चाहन्थे । महामारीले गर्दा ती पर्यटक गुमाएका छौं । नेपालले समयमा नै भिसा खोल्न नसक्दा, सामान्य अवस्थाको भन्दा नेपाल आउने उडान तीनदेखि चार दोब्बर बढी खर्च हुने अवस्थामा पुग्यो । महामारी अघि यूरोप तथा अमेरिकाबाट नेपाल आउने दुईतर्फी भाडादर अझै एकतर्फी नै खर्च हुने अवस्था छ । एकतर्फी १४ सय डलर खर्च गरेर नेपाल आउनुभन्दा छिमेकी मुुलुकले चार सय कममा मात्रै सेवा दियो भने पनि पर्यटक उतै लाग्छन् । त्यसैले हामीलाई त अब पर्यटक ल्याउन मात्रै हैन्, पर्यटनको शाखः जोगाउनै पनि चुनौतिपूर्ण भइसक्यो ।

नेपालले त्रिभुवन विमानस्थललाई बुटिक बनाउने भनेको थियो । योसँगै अबको पर्यटकीय सेवा फरक शैंलीको बनाउनुपर्छ । व्यवहार परिवर्तन गर्नुपर्छ । विमानस्थलदेखि हरेक पर्यटकीय सेवामा फरक तरिकाको सेवा सुरु गर्नुपर्छ । जसले नेपालको सन्देश अन्तर्राष्ट्रिय रूपमा सकारात्मक जाओस् भन्ने हो । यसले नेपालको प्रवद्र्धन गर्न थप सहज हुन्छ । नेपालको अर्को समस्या कर्मचारीतन्त्रसँगको समन्वय पनि हो । जसरी खोप लगाएका पर्यटकलाई सहजीकरण गरौं, अनअराइभल भिसाको व्यवस्था गरौं भनेर पटक पटक करानुपरेको अवस्था थियो, त्यसै अवस्था पूर्वाधार निर्माण, नीति तथा निर्माणको कार्यान्वयन, छिटो सहज सेवा, एकद्वार नीति तथा अनुगमनमा पनि छ । पूर्वाधार निर्माणमा छिटो गर्ने, पर्यटन सेवा सुविधामा सहजीकरण गर्ने भन्ने कुनै प्राथमिकता नै छैन् ।

सरकरले सहजीकरण मात्रै गरिदिने हो भने अहिले नै नेपालका होटल तथा रेस्टुरेन्टले २५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता तयारी अवस्थामा छ । यो क्षमताको ५० प्रतिशत मात्रै पर्यटक आएको अवस्थामा पनि सेवा उद्योग फस्टाउँछ । त्यसका लागि हाम्रा पर्यटकीय पूर्वाधार सुधार गर्ने, नयाँ संरचनामा सहजीकरण र समय तालिका अनुसार काम गर्नै सकेको छैन् । पूर्वाधारकै कुरा गर्नुपर्दा एउटा उदाहरण हुनसक्छ निर्माणाधिन विमानस्थल । पोखरा र भैरहवामा विमानस्थल निर्माण भइरहेको छ । निर्माण अन्तिम चरणमा छ भनेर पनि पटक पटक भन्दै छौ । तर, त्यसैलाई दृष्टिगत गरेर व्यवसायीले गरेको लगानी अन्योलमा छ । व्यवसायीले त लगानी गर्दा निश्चित समयको लागि ऋण लिएर बनाएको हुन्छन् ।

तोकिएको समयपछि आम्दानी सुरु हुन्छ र ऋण तिर्छु, व्यवसायबाट लाभ गर्छु र राज्यलाई कर तिरे आफू पनि सबल हुन्छु भन्ने उद्देश्य लिएको हुन्छ । तर, नेपालमा सरकारले पूर्वाधारलाई प्राथमिकता दिएर छिटो गर्ने तथा सहजीकरण गर्ने काम कुनैले पनि गरेको देखिदैन् । तीन वर्षभित्र सकिनुपर्ने विमानस्थल सात वर्षसम्म पनि सकिएको छैन् । यसले अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गरिरहेको छ । त्यतातर्फ सरकारको ध्यानै छैन् ।

महामारीपछि पर्यटन पुनजागृत गर्न नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला अबको तीन वर्षमा गर्न सकिन्छ । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० आयोजना गरेको भए पनि महामारीका कारण हुन सकेन् । भ्रमण वर्षलाई लक्षित गरेका खर्बौंको लगानी खेर गएको छन् । अब सरकारले अन्तर्राष्ट्रिय मेला तथा महोत्सव गर्ने र विश्वभरबाट पर्यटक आकर्षित गर्ने वातावरण सिर्जना गर्नुपर्छ । नेपालले लुम्बिनीबाट एभरेष्टसम्मको म्याराथन गर्ने, गोक्योमा आइस फेस्टिभल गर्ने, रारामा कार्यक्रम गर्नेसहितका गन्तव्य विशेष कार्यक्रम गर्न सक्छ । विश्वभरबाट अब घुम्न निस्कनेमध्येबाट सानो हिस्सालाई मात्रै दृष्टिगत गरेर मौका छोप्ने र त्यसको सदूपयोग गर्न सक्नुपर्छ । पर्यटन उद्योग सेवा दिन तयार छ भन्ने सन्देश दिन पनि जरुरी छ ।

व्यवस्थापन मात्रै राम्रो गरेर सेवा दिन सकिने आधार
नेपाल अन्तर्राष्ट्रियस्तरमा प्राकृतिक गन्तव्यको देशको रूपमा परिचित छ । यहाँ कुनै केही कृत्रिम गन्तव्य बनेको र बनाउनुपरेको छैन् । भएकै प्राकृतिक गन्तव्यको प्रचार गर्ने, पर्यटक लैजान सहजीकरण गर्ने तथा प्रवद्र्धन गर्ने हो भने व्यवस्थापनबाट मात्रै धेरै पर्यटक बढाउन सकिन्छ । पर्यटकीय सेवा र सुविधा दिएरै पर्यटकको बसाई अवधि बढाउन सकिन्छ । महामारीपछिको पछिल्लो एक वर्ष पर्यटक घुमेर, नयाँ गन्तव्य पुगेर बसाई अवधि बढेको होइन् । होटल क्वारेन्टिनको बाध्यताले बस्नेहरूका कारण औषतमा अवधि बढेको देखिएको हो । हामीले अब यहाँ बस्ने र खर्च गर्नेबाटै बसाई अवधि बढाउन जरुरी छ ।

साँच्चै पर्यटकको बसाई अवधि नै बढाउने हो भने त नयाँ गन्तव्यमा पुराउने, प्रचार गर्ने र पर्यटकलाई उत्साहित बनाउने स्वतःस्फूर्त रूपमा घुम्ने वातावरण नै बनाउनुपर्छ । डिमाण्ड हामीले सिर्जना गर्ने हो । पर्वतीय पर्यटन जतिबेला पनि तयार छ । स्थानीय सरकारले पर्यटन आकर्षित गर्न सक्नुपर्छ । बढीभन्दा बढी गन्तव्यको प्रचार गर्नुपर्छ भन्ने हो । भएकै गन्तव्यबाट पनि आकर्षित गर्न सकिन्छ । यसका लागि व्यवस्थापन राम्रो हुनुपर्छ । राम्रो काम गर्नेलाई सम्मान पनि गर्नुपर्छ ।

महामारीबाट के सिकायो ? भविष्यको तयारी के ?
महामारी कहिल्यै अनुमानित हुँदैन् । सानो एक नकारात्मक सन्देश जाने काम भयो भने पनि पर्यटन क्षेत्रलाई असर गरिहाल्छ । कुनै एउटा हवाई दुर्घटना हुँदा, पर्यटकीय क्षेत्रमा बाटो बिंग्रदा, राजनीतिक माहोल परिवर्तन हुँदा पनि पर्यटनमा असर पर्छ । बाढी, पहिरो, भूकम्पले पार्ने प्रभाव झन ठूलो र भयावह हुन्छ । यो अनुमान गर्न सक्ने विषय पनि होइन् । प्राकृतिक विपत्ति जतिबेला पनि पर्नसक्ने विषय हो । त्यसका लागि आवश्यक तालिम र सेवा सुविधा दिन सधैं तम्तयार हुनुपर्छ । पर्यटकीय समस्या र समाधानको लागि नेपालमा एसिया प्रशान्त क्षेत्रमै थाइल्याण्डपछि नेपालले मात्रै पर्यटक प्रहरी राख्ने गर्छ । यसले पर्यटनका तत्कालिन समस्याको समाधान गर्न सक्छ । यसलाई चुस्त दुरुस्त, बनाउने, अधिकार सम्पन्न बनाउने तथा नेपालमा विदेशीले आफूलाई पर्ने कुनै पनि आपत विपतमा हटलाइन नम्बर सार्वजनिक गर्ने र टाक्सफोर्सले काम गर्ने पनि हुनुपर्छ ।

तत्काल आइपर्ने विपत्तिलाई सामाधान गर्ने फोकल प्वाइन्ट तथा आवश्यक फन्डको व्यवस्था तत्काल हुने प्रणाली तयारी अवस्थामा राख्नुपर्छ । कोरोना महमारीले थलिएको दुई वर्षसम्म पर्यटन व्यवसायीले राहत नपाउने, कति व्यवसायीलाई समस्या पर्यो, कहिले र कसरी पुनरुत्थान गर्ने वा हुनसक्छ ? यसमा सरकारको कुनै लेखाजोखा नै छैन् । यो सिस्टमले अब काम गर्दैन् । ठूला महामारी वा यस्तो कोरानाजस्तैको लागि पनि कसैले तयारी गरेर बस्ने भन्दा पनि व्यवस्थापन नै प्रमुख हो । निजी क्षेत्र, सरकारी–निजी–साझेदारीमा काम गर्ने हुनुपर्छ ।

अहिलेको महामारीमा हामीले नीति नियम तय गर्ने, छिटो निर्णय गर्ने, नियम कानून तुरुन्तै परिवर्तन गर्नेसहितको काम गर्नुपर्छ । जोखिम व्यवस्थापनमा सहकार्य र समन्वय नै हो । अन्तर्राष्ट्रि«य समूदायले तत्काल गर्नसक्ने हाम्रोले गर्न नसक्ने भन्ने हुँदैन् । हाम्रोमा सिस्टमले काम गरेन् । भएकै साधन स्रोतको प्रयोग गर्ने, व्यवस्थापन प्रणाली राम्रो हुनुपर्छ । त्यसो हो भने जतिसुकै ठूलो समस्या पर्दा पनि आत्तिनु पर्दैन् ।

(शाहसँग कर्पोरेट नेपालका राजु बास्कोटाले गरेको कुराकानीमा आधारित)

Advertisement

Advertisement