सबै जिल्लामा फोरजी विस्तार भयो, अब सबै स्थानीय तहमा पुग्ने होः नेपाल टेलिकम

Advertisement

काठमाडौं । सरकारको मुख्य स्वामित्व रहेको नेपाल टेलिकमले ७७ जिल्लामा नै आफ्नो ‘फोरजी’ सेवा विस्तार भएको जानकारी दिएको छ । कम्पनीले अब सबै स्थानीय तहमा यो सेवा पुर्याउने लक्ष्य रहेको जनाएको छ । 

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले कर्पोरेट नेपालसँग भने, ‘अहिले हामीले फोरजी सेवा देशको ७७ वटै जिल्लामा विस्तार गरिसकेका छौं । अब सबै स्थानीय तहमा पुग्ने हो ।’ फोरजी सेवा सबै स्थानमा पुर्याउन ग्राहकको आफूहरुमाथि दबाब रहेको उनले बताए । 

Advertisement

फोरजी सेवाको सुरूवात नेपालमा २०७६ साल असोज १५ गतेबाट भएको हो । यसका लागि १८ अर्ब रूपियाँ बजेट छुट्याइएको थियो । त्यो बेलामा देशका प्रमुख ५० शहरलाई लक्षित गर्दै फोरजी विस्तार गरिएकोमा अहिले सबै जिल्लामा विस्तार गर्न कम्पनी सफल भएको हो । 

कम्पनीले फोरजी विस्तार सम्पन्न गरिनसक्दै ‘फाइभजी’ कहिले ल्याउने हो ? भन्ने उपभोक्ताको चासो बढेर गएको छ । देशमा केही मुख्य शहरबाट पाइलट प्रोजेक्टको रूपमा फाइभजी परीक्षण गर्ने कम्पनीको योजना रहेको छ । 

टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कर्पोरेट नेपालसँग केही समयअघि भनेका थिए, ‘हाम्रोमा थ्रिजी ल्याउने बेलामा पनि अब टूजी पूरै विस्थापित हुन्छ होला भन्ने कुरा आएको थियो । तर, विश्व दूरसञ्चार अभ्यास हेर्ने हो भने फोरजी मात्रै चल्ने देशमा टूजी पनि चलिरहेका छन् । हामीले प्रविधिलाई अपग्रेड गर्ने हो । तर त्यसो भन्दैमा पूराना योजना विस्थापित नै हुन्छ भन्ने चाहीं होइन ।’

टेलिफोनको पहुँच विस्तार र गुणस्तरमा नेपाल दूरसञ्चार प्राधिकरणले एक खालको निर्देशन र मापदण्ड तयार गरे पनि त्यसको पूर्णपालना गर्न भने सेवा प्रदायकहरूले सकेका छैनन् । अहिले सेवा प्रदायकहरूले गुणस्तरभन्दा पनि पहुँच विस्तारलाई जोड दिँदै आएका छन् । 

Advertisement

Advertisement