भिजिट भिसामा यूएई पुगेर अलपत्र परेर फर्किएकाहरुको पीडा श्रममन्त्रीले सुने

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुको पीडा सुनेका छन् । उनले मन्त्रालयमा पीडितहरुको कुरा सुन्दै अलपत्र पार्नेहरुलाई कारवाही गर्ने बताए । 

श्रेष्ठले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्सल टिम गठन गरेको बताए । 

Advertisement

उनले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने बताए । सरकारले दलालहरुलाई खोजी कारबाही गर्ने बताए । मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताए । उनले आउँदो आईतवारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताए । 

मन्त्री श्रेष्ठले भने, ‘हामीले एउटा मार्सल टिम एक्शनमा जाने गरी दलालहरुलाई, ठगहरुलाई, तह लगाउने गरी तयार गरेका छौँ । यो मार्सल टिमले जो पीडित भएर, दुःख पाएर दुबईबाट फर्किनुभएका भाइहरुको पनि वेदना, पीडा सुन्नेछ ।’ 

उनले थपे, ‘म तपाईंलाई के पनि चेतावनी दिन चाहन्छु भने अब पानी मुनि गए पनि अपराध छोडिँदैन । कि तपाईंले आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकारेर झुक्याएर, ठगेर लगिएका नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई छिटो भन्दा छिटो नेपाल पठाउनुस् भन्न चाहन्छु । मान्छेबाट गल्ती हुनसक्छ । तर यो गल्ती स्वीकार गर्न सकिने गल्ती छैन् । तपाईं लगायत यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरुलाई यो सरकारले छोड्नेवाला छैन ।’

पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गए पनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो गरे । पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भए पनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए । पीडितहरुले त्यहाँ रहेको दूतावासले कुनै पनि सहयोग नगरेको गुनासो गरे  । 

पीडितहरु श्रीराम रानाभाट, भुवन खड्का, रामराज सुनुवारले पीडा सुनाएका थिए । पीडितहरुले आर्थिक स्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरुले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो गरे । 

यूएईका स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरि लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केहि दिन यता तातेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार ब्याबसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि ब्याबसायीहरुले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् । 

Advertisement

Advertisement