जनगणना र महिलाको अधिक संख्याले उठाएका बहसहरु

Advertisement

– डा. यमुना घले 

नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाले महिलाको संख्या ५१.०४% र पुरुषको संख्या ४८.९६% देखाएको छ । महिलाको संख्या पुरुषको भन्दा ६ लाखभन्दा बढी भएको तथ्यले नेपाली समाजको एक तप्का बिबिध तरिकाले तरंगित छ । प्रत्येक दश बर्षको अन्तरालमा गरिने जनगणनालाई नागरिकहरुले एउटा महत्वपूर्ण प्रकृया र दस्तावेजको रुपमा लिने गर्दछन् ।

Advertisement

सरकारको नारा ‘कोही नछुटुन्, कोही नदोहोरियुन् ले बोकेको सन्देशले नै सबैले आफूलाई एक नेपालीको नाताले कुनै बिभेदबिना आफ्नो पहिचान सम्बद्ध बिस्तृत जानकारी दिन पाउने सुअवसर हो भन्ने अनुभूति गराउँदछ ।

जनगणनालाई सकारात्मक रुपमा हेर्दा प्रशिक्षित गणकहरु नागरिककै घरदैलोमा पुगेर उनीहरुकै मुखबाट प्रत्यक्ष रुपमा जानकारी लिने गरिन्छ । यसले गर्दा आफ्नो परिवारका सम्पुर्ण बिवरण बिना संकोच उपलब्ध गराउँदछन् पनि । यसरी जानकारी दिने क्रममा आफू र आफ्नो परिवारका सदस्य संख्याका साथै पहिचान खुल्ने गरि लिंग, धर्म, भाषा, पेशा आदिका बारेमा निर्धक्क र गर्वका साथ भन्ने गरिन्छ ।

जनगणनाको प्रकृयाले नागरिकलाई एकपटक आफू र आफ्नो परिवारका बारेमा गर्व गर्ने अवसर जुराउँदछ र यो बिबिधतापुर्ण घर, समाज, र राज्यको अभिन्न पाटो हुन पाएकोमा आफूलाई धन्य ठान्दछ ।

जनगणनाको बिस्तृत बिबरण आउन त बाँकी नै छ । प्रारम्भिक नतिजाकै आधारमा सार्वजनिक रुपमा मूलतः चारवटा सवालहरु प्रमुख रुपमा बहसमा आएकोे देखिन्छ: 

क) यो जनसंख्या पूर्ण छैन किनभने कतिपय शहरी र ब्यवस्थित बसोबास भएका क्षेत्रमा समेत गणकहरु पुगेका छैनन् र धेरै परिवारहरु जनगणनामा सम्मिलित हुनबाट बञ्चित भएका छन् भने कतिपय दुर्गम क्षेत्रको अवस्था के होला ? 

ख) जनगणनाका प्रकृयामा नै देखिएका समस्याहरु जस्तै केही गणकहरुले पूरा प्रश्नावली नभरेको, भरिएको सूचना सिसाकलमले भरेको र बिशेषतः मातृभाषा र धर्मको बारेमा प्रायसः नसोधिकनै नेपाली र हिन्दुमा आफैंले क्रमशः चिन्ह लगाईदिएको जस्ता गुनासाहरु उठेका थिए ।  

ग) जन्मदर घटेकाले भबिष्यमा युवा र बृद्ध–बृद्धाको अनुपात बढि हुने र राज्यलाई सामाजिक सुरक्षामा चुनौती आउने सवाललाई पनि बहसमा ल्याईएको छ । 

घ) महिलाको संख्या पुरुषको भन्दा बढी भएकोले समाजमा आउन सक्ने बिचलनका बारेमा बिभेदपूर्ण, निन्दनीय, र उत्तेजक टिप्पणीहरु पनि सार्वजनिक रुपमा अगाडि ल्याईएको छ । यी चार सवालमध्ये महिलाको जनसंख्या पुरुषकोभन्दा बढी भएकोबारे गरिएका टिप्पणीहरुमा आधारित भएर यो लेख तयार गरिएको छ ।

महिला जनसंख्याको बिस्तृत बिश्लेषण नभईसकेको कारण कुन उमेरका महिलाको बाहुल्यता छ, त्यसको यकिन भईसकेको छैन । तथापि सामाजिक सञ्जालतिर राखिएका टिप्पणीहरु हेर्दा लाग्छ, उनीहरुले बुझेका महिला सबै युवतीहरु हुन् । उनीहरुले बुझेको अझ दुखदः पक्ष त महिलाहरु उपभोग्य बस्तु हुन् र उनीहरुका ईच्छा अनुसार उपयोग गर्न सकिन्छ । कतिपयले त हाक्काहाक्की कानूनको बर्खिलाप हुनेगरि बहुबिबाह गर्नको लागि उक्साहट हुने खालका अभिब्यक्तिहरुसमेत दिएका छन् । महिला जनसंख्याभित्र सबैले गहिरिएर हेर्नुपर्ने र मनन गर्नुपर्ने केहि महत्वपूर्ण सवालहरु छन् ।

ती हुन्:
१) महिलाको संख्याभित्र बालिका, बयस्क र ज्येष्ठ नागरिक सबै समेटिएका हुन्छन् । त्यो आँकडाभित्र भरखरै जन्मिएका बालिकाहरुदेखि र प्रौढ महिलाहरुसम्म पर्दछन् ।  

२) बिस्तृत तथ्याँक प्राप्त भएपछि पनि बालिकाको संख्या अधिक देखिएमा समाजमा छोरीलाई लिंगको आधारमा बिभेद नगरी समान सन्तानको हैसियतमा स्विकार्यता बढेको सूचकको रुपमा लिन सकिन्छ ।  

३) यसमध्ये बयस्क महिलाहरुको संख्या अधिक भएमा श्रम बजारमा महिलाशक्तिको बाहुल्यता हुँदा राज्यको समाबेशी आर्थिक बिकाशमा उनीहरुलाई सबल र जबरदस्त संबाहकको रुपमा लिन सकिन्छ ।  

४) महिला ज्येष्ठ नागरिकको बाहुल्यता रहेको पाईएमा उनीहरुको दाँजोमा पुरुषहरुको जीवनशैलीलाई कसरी स्वस्थ्य र चुस्त दुरुस्त राखेर उनीहरुको आयु लम्ब्याउन सकिन्छ, त्यसतर्फ ध्यान दिने अवसरको रुपमा लिन सकिन्छ ।  

५) कतिपय परिवारमा यौनिक अल्पसंख्यक बिशेषतः छोरीका रुपमा जन्मिएका सन्तानको फरक पहिचान खुलाउन सहज नभएको कारण पनि महिलामा नै गणना गरिएको हुन सक्दछ ।  

६) बिबिध कारणले गर्दा एकल आमाको भुमिका निर्वाह गरिरहेका धेरै संख्या पनि यहाँ समेटिएका छन् र उनीहरुबाट प्रत्येक ब्यक्ति, समाज र राज्यले एकल महिलाहरुका सरोकारहरुलाई सम्बोधन गर्ने अवसरका रुपमा लिन सक्दछ ।  

७) बदलिंदो परिवेशमा कतिपय युवा महिलाहरुले बिबाहलाई बाध्यात्मक रुपमा नलिई उनीहरुले यसलाई आफ्नो चाहना, स्वेच्छा र अधिकारको रुपमा लिएको हुन सक्दछ । तसर्थ महिलाको जनसंख्या बढी हुनु आफैंमा टिप्पणीकर्ताहरुले भनेजस्तो नकारात्मक नभई देशमा महिला समानता, लैंगिकमैत्री बिकाश, उनीहरुको क्षमताको प्रस्फुटन गरि समाज रुपान्तरण गर्ने अवसरको रुपमा लिन सकिन्छ ।

महिलाको जनसंख्या बढि हुनुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबैको भूमिका रहेको हुन्छ । बिशेषतः युवा जोडीहरु जो पेशाब्यवसायमा संलग्न र सकृय छन्, उनीहरुले भु्रण पहिचान नगरि एकल बच्चामा आफूलाई सन्तुष्ट राखेका हुनसक्छन् । यसका अरु पनि कारणहरु हुन सक्दछन्, तथापि आफ्नो सन्तान एक छोरीमामात्र सिमित राखि नेपाली समाजमा ब्याप्त पित्तृसत्तात्मक सोचलाई चुनौती दिनुका साथै छोरीप्रति बिभेदपूर्ण तरिकाले हेर्ने दृष्टिकोण बदल्नमा धेरै सहयोग पुर्याएका हुन सक्दछन् । यसले गर्दा कतिपय महिलाहरुको मातृस्वास्थ्यका कारण आउन सक्ने अनेकन चुनौतीहरुबाट पनि जोगिन मद्धत पुगेको छ ।

यसरी महिला युवाहरुलाई पेशा ब्यवसायमा संलग्न हुन र आफूले कति सन्तान जन्माउने भन्ने निर्णय गर्नका लागि सक्षम बनाउनुमा र आफ्ना छोरीहरुलाई शिक्षा र बहुआयामिक बैयक्तिक बिकाशमा साथ सहयोग र आँट दिएर काबिल बनाउन महत्वपूर्ण भुमिका खेल्नुहुने आमाबुवा र अभिभावकहरुको अहम् भुमिका रहेको छ । त्यसैले गर्दा महिला संख्या अधिक हुनुमा एक अमुक कारणमात्र जिम्मेवार छैन । तर यस प्रकृया र अवस्थाले समाज रुपान्तरण, स्विकार्यता, सकृय आर्थिक जीवनमा समाबेशी प्रकृयाको अबलम्बन जस्ता याबत् पक्षहरुलाई समग्र रुपमा अंगिकार गरिनुपर्दछ भन्ने सन्देश पनि दिएको छ । यो लैंगिक समानताको दृष्टिकोणबाट राज्यको लागि महत्वपूर्ण अवसर पनि हो ।

जनसांख्यिक अवस्थाले केबल संख्यामात्रै जनाउँदैन । यसले देशको आगामी परिदृश्य पनि ईंगित गर्दछ । त्यसैले सबै नागरिकले म कति जिम्मेवार तवरले परिवार, समाज र राज्य निर्माणमा सकारात्मक भुमिका खेल्न सक्दछु भन्नेतर्फ ध्यान केन्द्रित गर्न सकियो भने महिलामाथि गरिने भद्दा टिप्पणीहरु सुनिने छैन । बिशेषतः पुरुषहरुले आफूबाट हुनसक्ने कुनै प्रकारका लैंगिक बिभेद हुने छैन भन्नेतर्फ सचेत र सतर्क रहि महिला र पुरुष समान हुन् भन्ने मान्यतालाई आत्मसात गर्न सकियो भने आफ्ना हजुरआमा, आमा, फूपु, माईजु, भाउजु, दिदीबहिनी, छोरी, भान्जीहरुजस्ता पबित्र नातासम्बन्धप्रति सम्मान हुनेमात्र नभई देशको जिम्मेवार नागरिक भएर प्रस्तुत हुने अवसर पनि प्रदान गर्दछ । 

अहिलेको जनसांख्यिक परिस्थिति ईतिहासकै स्वर्णयुगका रुपमा रहेकोले युवाशक्तिलाई सही र जिम्मेवार रुपमा परिचालन गर्नका लागि एक अर्काको लैंगिक वा यौनिक पहिचानको सम्मान र स्विकार गर्नु अपरिहार्य छ । अहिले महिलाको जनसंख्यामाथि सार्वजनिक रुपमा गरिएका खेदपूर्ण अभिब्यक्तिहरुले के ईंगित गर्दछ भने समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण र मनोबिज्ञान संकुचित भएको र लैंगिक रुपान्तरणलाई आत्मसात गर्न नसकेको देखिन्छ । त्यसैले घरपरिवार र समाजले पनि यो सवाललाई गम्भिरतापूर्वक लिई आफ्ना बालबच्चाको हुर्काईदेखि नै सचेत र जिम्मेवार बनाउनुपर्ने आवश्यकता देखिन्छ । महिलालाई बिभेद गरेर न देशको समग्र बिकास हुन्छ न त समाज नै समतामूलक हुन सक्दछ । त्यसैले सबै मिलेर देश बनाउनका लागि महिलाको अस्तित्व स्वीकार गर्दै उनीहरुको सम्मानका साथ साझेदारीलाई अगाडि बढाउनु अपरिहार्य छ । 

(लेखक घले नेपाल सेन्टर फर कन्टेम्प्रोरी रिसर्च (एनसीसीआर) नामक गैरसरकारी संस्थाकी अनुसन्धान निर्देशन हुन् )

Advertisement

Advertisement