तीन जनाको हत्या गरी खाल्डोमा पुर्नेहरु पक्राउ, घट्नाको कारण जग्गा दलालीको कमिशन

Advertisement

काठमाडौं । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एकसाता अघि हत्या गरेर खाल्डो खनि पुरेको अवस्थामा भेटिएका दुई व्यक्तिको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्नमध्ये मुख्य योजनाकार अनिल मण्डलसहित मोरङका अमित शाह र नासिर आलम पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार थप केही व्यक्ति फरार छन् । 

Advertisement

हत्यामा केही भारतीयसमेत संलग्न रहेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले तीन जनाको हत्या आर्थिक लेनदेनकै कारण भएको बताएको छ । आर्थिक लेनदेनको कारण मोरङमा दुई जना र ललितपुरको गोदावरीमा नगरपालिका–१२, थेचोमा थप एकजनाको हत्या गरि खाल्डो खनेर पुरिएको अवस्थामा शव बिहीबार प्रहरीले फेला परेको छ ।

तीन जनाको हत्या सिरहा नगरपालिका वडानम्बर १२ स्थायी घर भएका ३१ बर्षीय अनिल मण्डलले आपसी लेनदेनका कारण केही व्यक्तिको सहयोगमा फरकफरक मिति र स्थानमा हत्या गरी खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

माघ १२ गते धनपालथान वडा नम्बर ७ को उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडानम्बर ४ का ३२ बर्षीय शम्भुकुमार चौधरी र भोलीपल्ट धरान उपमहानगरपालिका वडानम्बर ३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको सोही स्थान नजिकैको अर्को खाल्डोमा शव भेटिएको थियो । 

त्यहाँका स्थानीयले शंकास्पद खाल्डो देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले ५ फिट गहिरो खाडलबाट दुई जनाको शव बाहिर निकालेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेसँगै प्रहरी टोली अनुसन्धानको लागि घटना स्थलमा पुगेको मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले बताए । 

उनले प्रहरीले खाल्डो खन्दा पहिला एउटा लाश भेटिएको बताए । त्यसको भोली पल्ट अर्को स्थानमा पनि शंकास्पद खाल्डो खनेर अर्को लाश पनि निकालिएको जिसीले बताए । उनले प्रहरी अनुसन्धानले श्रेष्ठको पुस ५ गते र चौधरीको पुस ७ गते हत्या गरिएको पत्ता लागेको बताए । 

अनुसन्धान गर्दै जाँदा उनीहरुसँग संलग्न एक जना हराएको र त्यसको लागि ललितपुरको थेचोमा छ भन्ने थाहा पाएपछि मोरङ जिल्ला प्रहरी र अपराध महाशाखाको टोलीले गोदावरीमा लाख फेला परेको बताउँदै उनले प्रहरी अनुसन्धानबाट मण्डल समूहले पुस ५ गते भन्दा अगाडि मंसिर २८ गते ६३ बर्षीय मोहन लिम्बुलाई हत्या गरी ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ थेचोमा खाल्डो खनी पुरेको देखिएको बताए । 

लिम्बुको शव प्रहरीले माघ २० गते बिहीबार मात्रै ललितपुरमा फेला पारेको थियो । लिम्बुको हत्या गरेर शव चाँडै कुहाउन खाल्डामा नुनको समेत प्रयोग गरिएको भेटिएको जिसीले जानकारी दिए । घटनामा संलग्न तिनै जनालाई प्रहरीले माघ २० गते फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ । 

हत्याका मुख्य योजनाकार मण्डललाई प्रहरीले काठमाडौं महानगरपालिकाको वडानम्बर १३ बल्खुबाट पक्राउ गरेको छ । यस्तै सोनारलाई विराटनगर ५ दामाबन्दी चोकबाट र आलमलाई विराटनगर १७ मटेरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जग्गा जमिनको कारोबारको क्रममा हासिल हुने रकम एकलौटी बनाउन तीनै वटा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । हत्यामा उनीहरुले नाइलनको डोरी तथा गम्छा प्रयोग गरी घाँटी कसेर मृतकहरुको हत्या गरेको खुलेको छ । धनपालथानमा शव भेटिएका श्रेष्ठ र चौधरी मण्डलसँगै मंसिर २९ गते विराटनगर आएको अनुसन्धानको क्रममा खुलेको छ । 

Advertisement

Advertisement