Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले गैरआवासीय नेपाली (एनआरएन)लाई शेयर बजारमा लगानी गर्न सहज वाताबरण बनाउने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले शेयर बजारमा लगानीको दायरा बढाउने क्रममा एनआरएनएलाई पनि चाँडै लगानीको सहज वातावरण बनाउन आफू लाग्ने बताएका हुन् । 

Advertisement

कार्कीले शेयर बजारको विषय निकै संवेदनशील रहेको भन्दै पूँजी बजारको विकृति रोक्न आफूले निर्देशन दिईसकेको बताए । अब शेयर बजार प्रविधिमैत्री बन्नुको विकल्प नरहेको उनको भनाई छ । 

कार्कीले नेप्सेको टीएमएस प्रणालीलाई थप सशक्त बनाउने बताए । उनले पछिल्लो समय शेयर बजार ओरालो लाग्नुमा अरु कारण नभई सामान्य साइकल मात्रै भएको बताए । कार्कीले विभिन्न गतिविधि र अभिव्यक्तिले शेयर बजार घटाउन बढाउन मद्दत गर्ने स्वीकार गर्दै इन्साइडर ट्रेडिङ जस्ता विकृतिमा जिम्मेवारी पाएका व्यक्ति नै संलग्न हुने गरेको बताए । 

उनले नेस्से र नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रतिस्पर्धीको रुपमा नभई सहजकर्ताको रुपमा काम गर्नुपर्ने बताए । ब्रोकरको गुणस्तर र संख्या दुवैमा वृद्धि गर्न आफू लागि पर्ने कार्कीले बताए । उनले नेप्सेको टीएमएस प्रणाली सुधार गर्न गृहकार्य भइरहेको बताए । 

धितोपत्र बजारमा अर्को पनि स्टक एक्सचेन्ज खोल्ने हल्ला आफूले पनि भर्खरै सुनेको बताउँदै सीईओ कार्कीले आगामी दिनमा नयाँ स्टक एक्सचेञ्ज चाहिने नचाहिने कुरामा गहन अध्ययन गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘मैले बजारमा अहिले नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी भइरहेको छ भन्ने कुरा सुन्दैछु । नयाँ स्टक एक्सचेञ्ज ल्याउने काम सरकारको हो । तर पनि त्यसमा गहन अध्ययन तथा खोजी र विचार गरेर मात्रै वास्तविकता के हो भन्ने पत्ता लगाउनु जरूरी छ ।’

कार्कीले देशमा उद्योगधन्दा कलकारखाना खोल्नु राम्रो कुरा रहेको बताए । ठूला घरानाहरुको लगानी रहेको नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी भइरहेको हल्ला अहिले पूँजी बजारमा चलिरहेको छ । नेपालमा एउटा स्टक एक्सचेञ्ज भइरहेको अवस्थामा अर्को किन र केका लागि ल्याउने भन्ने कुरा निकै महत्वपर्ण हुने बताए । 

लगानीकर्ताहरूको समस्या बुझ्दै समस्याको समाधान गर्न आफू लागिपर्ने उनले बताए । कार्कीले शेयर बजारमा रहेका विकृति हटाएर यस क्षेत्रलाई व्यवस्थित गर्न आफू लागिपर्ने बताए । उनीसँगको थप कुराकानी माथि भिडियोमा पनि हेर्न सकिन्छः 

Advertisement

Advertisement