नेपालमा साहसिक खेल ‘स्की’ कसरी प्रवर्द्धन गरिँदैछ ? लाक्पा फुटी शेर्पासँगको कुराकानी

Advertisement

काठमाडौं। हिउँमा खेलिने खेल स्की युरोपमा लोकप्रिय खेलको रुपमा रहेको छ । हिमाली देशको रुपमा रहेको नेपालमा भने यसले अझै पनि प्रशय पाउन सकेको छैन् । यो एउटा खेल मात्रै नभएर साहसिक खेल पनि भएकाले यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नसक्छ । तर पछिल्लो दिनमा नेपालमा पनि स्की खेलबारे नेपालमा चर्चा हुन थालेको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्ने उपायहरुको खोजी गर्ने क्रममा पर्यटन व्यवसायीले स्कीलाई पनि राम्रो संभावनाको रुपमा पहिल्याएका छन् । 

स्की खेलको प्रवद्र्धनले नेपालका माउन्टिनिरिङ गाइडहरुलाई पनि अन्तर्राष्ट्रिय गाइड लाइसेन्स होल्डर हुन् मद्दत पुग्ने नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पा फुटी शेर्पा बताउछिन् । उनले अन्तर्राष्ट्रिय गाइट लाइसेन्स होल्डर हुनका लागि स्की पनि अनिवार्य चाहिने उनी बताउँछिन् । प्रस्तुत छ शेर्पासँग कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीको सारः

Advertisement

किन ९ जना माउन्टिनिरिङ गाइडहरुलाई स्की तालिमको लागि स्विट्जरल्याण्ड र फ्रान्स पठाउनु भयो ?
पर्यटन व्यवसायी तथा माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाको नेतृत्वमा ९ जना माउन्टिनिरिङ गाइडहरुलाई हामीले स्विट्जरल्याण्ड र फान्समा स्की तालिमको लागि पठाएको छौं । हामीले यसरी बाहिर तालिमको लागि पठाउन थालेको यो नवौं वर्ष हो । अहिलेको टिममा ९ जना माउन्टिनिरिङ गाइडहरु छन् । आधारभूत तालिम यहाँ नेपालमा दिन्छौं । साथै, लेभल १ र लेभल २ तालिमको लागि स्विट्जरल्याण्ड र फ्रान्स पठाउने गरेका छौं। त्यहाँको तालिमको लागि स्विट्जरल्याण्डमा रहेको डिसेन्टिस थ्री थाउजन्ड भन्ने निजी संस्थाले गर्दै आएको छ।

डिसेन्टिस थ्री थाउजण्डको स्विट्जरल्याण्डमा केबल कारदेखि लिएर रेस्टुरेन्ट, होटल लगायतको सबै व्यवसाय रहेको छ। हामीलाई उक्त संस्थाले हरेक वर्ष नै सहयोग गर्दै आएको छ । हामीले बर्षमा १५ जनासम्म माउन्टिनिरिङ गाइडहरुलाई तालिमका लागि पठाउने गरेका छौं। हामीले जहाजको टिकट मात्र काट्नुपर्छ। उनीहरुले स्विट्जरल्याण्ड र फ्रान्स पाउली भालार्ड फाउन्डेसनको सहयोगमा एक–एक हप्ताको तालिम लिने छन्। माउन्टिनिरिङ गाइडहरुलाई सबै निःशुल्क छ खाने बस्ने। सुरु सुरुमा हामीले आधारभूत तालिमका लागि भारतको मनालीमा तालिम दिने गरेको थियो। नेपालीहरुले एकदम छिटो सिक्दो रहेछ भनेर लेभल १ तालिमको लागि डिसेन्टिस थ्री थाउजण्डले प्रस्ताव गरेका थिए। त्यसपछि हामीले हाम्रा माउन्टिनिरिङ गाइटहरुलाई स्विसमा तालिमको लागि पठाउन सुरु गरेका हौं। 

किन स्की जरुरी छ माउन्टिनिरिङ गाइडहरुका लागि ?
इन्टरनेशनल गाइड लाइसेन्स होल्डर हुनका लागि स्की पनि अनिवार्य चाहिन्छ। अहिलेसम्म नेपालको माउन्टिनिरिङ गाइडहरुलाई गाइड विथआउट स्की बर्गर भन्छन्। लेभल १, २ र ३ गर्दै गएपछि उनीहरु पुरा (फुल)रुपमा गाइड हुन्छ । हाम्रो उद्देश्य भनेको उनीहरुलाई फुल रुपमा गाइट बनाउनु हो । साथै, नेपालमा पनि जनशक्ति उत्पादन गर्नु हो । हाम्रो नेपालमै अहिले स्कीको लागि धेरै जनशक्ति उत्पादन भइसक्यो। 

युरोप अमेरिकातिर स्कीको ज्ञान भएन भने, माउन्टिनिरिङ गाइडहरुले काम नै पाउँदैन् । हिमाल चढ्नको लागि मात्र पाउँछ । स्की क्षेत्रमा त काम नै पाउँदैन् । स्की प्रशिक्षक हुन् पाउँदैन । हाम्रोबाट तालिम लिएकाहरु अहिले विदेशमा गएर स्की प्रशिक्षक भएर काम गरिरहेका छन्। माउन्टिनिरिङ गाइडहरुलाई स्की एकदमै जरुरी छ। नेपालको पर्यटन क्षेत्र विकास गर्न स्कीलाई महत्व दिन जरुरी छ। यसपटक हामीले कालिञ्चोकमा पनि तालिम दिइसक्यौं । स्कीको लागि हामीले नेपालको विभिन्न ठाउँहरुमा अनुसन्धानहरु गरिराखेका छौं।

स्की गर्नका लागि नेपालको कुन–कुन ठाउँमा सम्भव छ ?
खप्तड, ढोरपाटन, मेरापिक, मनाङ, मुक्तिनाथ त्यस्तै नेपालका विभिन्न ठाउँहरुमा सम्भव छ। हामीले स्की गर्नका लागि मेरापिकमा अनुसन्धान गरेर आएका छौं । 

नेपालमा स्की खेल्ने कुरामा तपाईंले किन र कसरी पहल सुरु गर्नु भएको हो ?
युरोपको स्विट्जरल्याण्ड, फ्रान्स, इटाली, अस्ट्रिया लगायतका देशहरुमा स्की खेल्ने पहिलो नेपाली म नै हुँ । फान्सको मोन्लोङ हिमालमा स्की खेलें । हेली स्की गरे। मलाई ती देशहरुमा जाँदा सबैभन्दा मन पर्ने खेलकुद नै स्की हो। म एकेडेमीको कार्यकारी निर्देशक भएपछि साहसिक तालिमका लागि १० लाख बजेट दिएको थियो। नेपालमा स्कीबारे कसैलाई थाहा थिएन् । नेपालमा स्कीको तालिम दिनुपर्छ भनेर मैले कुरा राखें र त्यसपछि साहसिक तालिमको बजेटलाई स्की तालिममा परिवर्तन गरेका हौं । स्की खेलाउनसक्ने क्षमतावान व्यक्ति उत्पादन गर्नका लागि नेपाल माउन्टेन एकाडेमीले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आर्थिक समन्वयमा सन् २०१५ देखि तालिम दिन सुरु गरिएको हो । हामीले माउन्टिनिरिङ गाइडहरु छनौट गरी पहिलो स्की तालिम भारतको मनालीमा दुई गयौं। मनालीमा तालिमको लागि त्यहाँ जान आउन टाढा भएपछि विस्तारै नेपालमै स्की तालिम सुरु गर्नुपर्छ भन्ने सोचका साथ अहिले  कालिञ्चोकमा हिउँ पर्ने बेलामा तालिम दिने गरेको छौं । 

कसैले स्की गर्न चाहे तपाईंहरुको प्रशिक्षकहरुले नै सिकाउने हो कि बाहिरबाट ल्याउनु हुन्छ ?
अहिले हाम्रै प्रशिक्षकले सिकाउन थालेका छन् । सुरुका दिनमा बाहिरबाट प्रशिक्षकहरु आएर हाम्रा गाइडहरुलाई सिकाउने गर्थे । नेपालमा हाम्रो प्रशिक्षकहरु छन् । अहिलेसम्म ३०–३५ जना जनशक्ति उत्पादन भइसकेको छ । अहिले युवाहरुको लागि स्की एकदम इन्ज्वाई पनि हुने भएकाले मन पराउन थालेका छन्। हिजोको दिनमा मैले यो कार्यकम ल्याउँदा स्की भन्दा स्केटिङ हो भने पनि थियो । स्की भनेको कस्तो हुन्छ ? भनेर पर्यटन मन्त्रालयका मानिसहरुलाई पावर प्वाइन्टमा फोटो देखाउनु पथ्र्यो । तर आजका दिनमा धेरै जनाले स्की भनेको बुझिसकेको छ । अहिले नेपालीहरुलाई स्की एकदम मनपर्न थालिसकेको छ । 

स्कीको बारेमा अझै तपाईंले जानेको कुराहरु भन्दिनु न । के के छन् ? 
नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको संभावना धेरै छ। युरोप, अमेरिकामा हो भने उनीको खेतीपाती नै स्की हो। स्की खेल विशेषगरी युरोपमा निकै लोकप्रिय छ । विन्टर सुरु भयो की उनीहरु आफ्नो परिवार लिएर हिमालमा स्की खेल्न जान्छन्। बिहान गएर बेलुकी फर्किन्छन । त्यहाँको रिर्सोटहरु चल्ने भनेको स्कीले हो । अरु कुराहरु सिक्न धेरै समय लाग्छ । सिकिसकेपछि पनि सबै परिवार नै जान मिल्र्दैन्। तर स्कीको राम्रो पक्ष भनेकै यो यस्तो खेल हो कि जसमा चार–पाँच वर्षको बच्चा र ९५ वर्षको हजुरबासँग खेल्न मिल्छ । रमाउन मिल्छ । 
युरोप, अमेरिकामा हिल स्टेशन चल्ने नै स्कीकै कारणले हो। उनीहरुको व्यवसाय नै स्की हो। मैले जीवनमा मिस्टर बिनलाई स्की खेल्ने ठाउँमै भेटेको छु । स्की खेल्ने क्रममै मैले धेरै सेलिब्रेटीहरु भेट्ने मौका समेत पाएको छु। युरोप, अमेरिकामा धनीहरु बाहिर जाने भनेकै स्की खेल्न हो। सुरुमा त्यहाँ जाँदा म आफूलाई नै स्की भने थाहा थिएन् । तर त्यहाँ गएपछि मैले स्की ६–७ वर्ष नै खेलें । अहिले मलाई स्की खेल साह्रै मन पर्छ । दुई वर्षअघि मात्र स्विट्जरल्याण्डमा गएर स्की खेलें । यो जुनसुकै उमेरका व्यक्तिले खेल्न मिल्ने खेल हो।

अहिले जति जनालाई स्की तालिमका लागि स्विट्जरल्याण्ड र फान्स पठाउनु भएको छ, उहाँहरुले तालिमपछि प्रमाणपत्र केही पाउनु हुन्छ कि ?
नेपाल माउन्टेन एकेडेमीले उहाँहरुलाई प्रमाणपत्र दिने छ । उनीहरु अहिले धेरै राम्रो खेल्ने भइसकेका छन्। नेपालमा फुल गाइड भनेर हिजोका दिनमा सुनारबहादुर गुरुङ मात्र हो। तर आजको दिनमा धेरै जना उहाँ जस्तै स्की खेल्ने भइसके । फुल गाइड हुनुपर्छ हाफ गाइड भएपछि । नेपालीहरु सक्षम हुँदाहुँदै पनि किन स्कीको तालिम नभएको कारण पछाडि हट्ने ? बरु उनीहरुलाई अगाडी सारेर सिकायो भने विदेशमा गएपछि पनि काम पाउँछ । नेपालको पनि स्की क्षेत्र प्रवद्र्धन गर्न मिल्छ । आजको दिनमा मलाई गर्व महशुस हुन्छ जुन अवधारणा मैले लिएर आए त्यो नेपालमा पनि सुरुको भएको छ। 

Advertisement

Advertisement