थुप्रै अपराधमा मुछिएका व्यक्तिलाई पर्यटन बोर्डको सदस्य नियुक्त गरेर मन्त्री आले विवादमा

Advertisement

काठमाडौं । विभिन्न अपराधमा मुछिएर अदालतले दोषी ठहर गरी जेल सजायसमेत भोगका व्यक्तिलाई नेपाल पर्यटन बोर्डको सदस्य नियुक्त गरेर संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री प्रेम आले विवादमा परेका छन् । 

मन्त्री आलेले केही दिनअघि बैंक लुटेको आरोपमा अदालतबाट दोषी प्रमाणित भई सजाय भोगेका एमालेका कार्यकर्ता लीला भनिने टासी लामालाई नियुक्त गरेका हुन् । लामालाई नियुक्ति गर्ने निर्णय भइसके पनि उनको आपराधिक पृष्टभूमि रहेको तथ्य बाहिर आएपटि नियुक्तपत्र दिन भने ढिलाई गरिएको छ । 

Advertisement

सिन्धुपाल्चोक निवासी लामा एमालेका कार्यकर्ता हुन भने अहिले लैनचौरमा रेष्टुरेन्ट आदि व्यवसाय सञ्चालन गर्छन् । अपराधमा दोषी ठहरिएर सजाय भोगेपछि टासीले आफ्नो नाम परिवर्तन गरेर लीला राखेका थिए । 

लामालाई बोर्डको सदस्य बनाउन एमालेका पर्यटन व्यवसायी चन्द्र रिजालको भूमिका रहेको पर्यटन व्यवसायी बताउँछन् । मानव तस्करी गरेको आरोप खेप्दै आएका रिजालले लामालाई बोकेर हिंडनु अर्थपूर्ण देखिन्छ । विभिन्न अपराधमा मुछिएर सजायसमेत भोगेका व्यक्ति सदस्य भएर आउने भएपछि पर्यटन बोर्डका सदस्यहरु पनि हच्किएका छन् । 

लामाले विभिन्न समयमा एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू (बीओके), कान्तिपुर फाइनान्स, स्याकार ट्रेडिङ कम्पनी, गुडविल फाइनान्सलगायत वित्तीय संस्थामा करोडौं लुटपाट गरेको, विभिन्न समयमा अवैध लागू औषध र ठूलो रकमसहित पक्राउ परेको रेकर्डबाट देखिन्छ ।  

बौद्धस्थित बीओकेको शाखाबाट रकम लुटेपछि २०६२ मा प्रहरीले लामालाई पक्राउ गरेर मुद्दा लगाएको र जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेकोमा २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिने काम भएको जनाइएको छ । यति धेरै विवादमा परेका मानिसलाई रिजालको सिफारिसमा बोर्डको सदस्य नियुक्त गरेसँगै मन्त्री आलेसमेत विवादमा तानिएका छन् । 

Advertisement

Advertisement