नारायण ज्ञवाली
हामीले विगत तीन वर्षदेखि नेपालमा विद्युतीय चुल्हो राष्ट्रिय अभियान शुभारम्भ गरेका थियौं । प्रत्येक वर्ष हामीले वार्षिकोत्सव पनि मनाउँदै आएका छौं । यही माघ गएको ११ गतेमा पनि बार्षिकोत्सव मनायौं ।
हामी हिमालयन हाइड्रो एक्स्पो गर्दैछौं । म यस विषयमा मात्रै केन्द्रित रहन्न । स्वदेशमा उत्पादन भएको विद्युतको खपत बढाउनको लागि हामीले अहिले समान्य रुपमा मात्रै काम गरेर यो सम्भव छैन । धेरै बढ्दैन् । त्यसलाई हामीले विद्युतको अलि बढि उत्पादनशील उपयोग गरेर नै यसमा आधारित साना साना चुल्हो चलाउनेदेखि लिएर सुविधा बढाउने काम गरेदेखि मात्रै विद्युत खपत बढाउन सक्छौं ।
यो रोजगारीसँग जोडिएको विषय पनि हो । सरकारले ह्वाइट पेपरमा एक घर एक विद्युतीय चुल्होको नारा अघि सारेको छ । तर त्यसको ठोस कार्यक्रम भने अगाडी बढ्न सकेन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले तराईका जिल्लाका लागि भनेर सरकारको बजेटमार्फत कार्यक्रम ल्याएको थियो । हामीले सामूदायिक विद्युतीकरण भएको ठाउँमा अब यो विद्युतका ट्रान्सफर्मर छ । तर विद्युत खपत बढाउनुपर्ने अवस्था छ । त्यहाँ लोड कम छ । अन्डरलोडको अवस्था छ । त्यस्तो अवस्था आएपछि हामीले ट्रान्सफर्मरको मापन गरेर त्यसले कति चुल्हो लिन सक्छ ? भनेर टेक्निकल सर्भे गरेर विद्युतीय चुल्हो विस्तार गर्दै ल्याएका छौं ।
विभिन्न संघ संस्थाको सहयोगमा हामीले यो काम गरेका हौं । हामीले ग्रामीण क्षेत्रबाट यो काम गरेका हौं । त्यहाँ करिब एक हजार चुल्हो घर घरमा बाँड्यौं भने अनुदान पनि बाँडेका थियौं । तर मान्छेमा के पाइयो भने विद्युतीय चुल्हो बालेपछि खर्च बढ्छ । विद्युत महशुल तिर्न नसकिने हो कि ? भन्ने पनि लागेको पायौं । त्यस कारण हामीले के गर्यौं भने ६ महिनासम्मको लागि परियोजनामार्फत महशुलमा बानी पार्नको लागि सहयोग गर्यौं ।
हामीले ग्रामीण क्षेत्रमा पाँच जनाको परिवारमा बिहान खाना पकाउने, खाना तताउने, चिया खाने, दिउँसो खाजा, साँझ खाना यति बनाउदा ४५ युनिटदेखि ६० युनिटसम्म विद्युत खर्च भएको पायौं । एलजी ढाकरमा बोकेर त्यहाँ पुर्याएको छ । त्योसँग तुलना गर्दा हामीले ५० प्रतिशत विद्युत महशुल सस्तो पर्ने देखियो । हामीले यो अभ्यासलाई पाइलट प्रोजेक्टको रुपमा प्रस्तुत गरिसकेपछि धादिङमा र चितवनमा यो कार्यक्रम गरौं भनेर १५ सय घरमा चुल्हो पुर्यायौं ।
हामीले एउटा ट्रान्सफर्मरमा १० प्रतिशत, १५ प्रतिशत मात्रै चुल्हो वितरण गर्न सक्छौं । सबै घरमा चुल्हो प्रयोग गर्ने हो भने हाम्रो प्रणालीले धान्न सक्दैन् । अब विस्तारै हाम्रो ध्यान प्रणालीलाई अपग्रेड गर्दै चुल्हो पनि विस्तार गर्दै जानुपर्छ ।
अहिले हामीले गण्डकीमा १० हजार वटा चुल्हो वितरणको अभियान संचालन गरेका छौं । प्रत्येक घरलाई त्यहाँ दुई हजार अनुदान पनि दिँदैछौं । अब चुल्होमा अनुदान दिने होइन । अनुदान त गाउँका टाठाबाठा मान्छेले मात्रै लिँदा रहेछन् । विपन्नले अनुदान पाएनन् भनेर हामीले एउटा लविङ सुरु गरेका छौं । बजेट भाषणबाटै इन्डक्सन चुल्होमा भन्सार दर एक प्रतिशत मात्रै बनाएको छ । सरकारले पनि यो चुल्होमा होइन आयातित चुल्होमा भन्सार फ्रि गर्नुपर्छ । भ्याटमा पनि छुट दिनुपर्छ ।
हामीले देशमा ५६ लाख घरहरुमा क्रमशः विद्युतीय चुल्हो विस्तार गर्न सक्छौं । यो अभियान पनि हामीले सुरु गरेका छौं । अब हामीलाई सबैको सहयोग के चाहिएको छ भने नेपालमा विद्युतीय चुल्होको उत्पादन पनि गर्नुपर्छ । अहिले विद्युतीय चुल्हो विदेशी चुल्होसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा छैन् । हामी सरकारलाई के भनिराछौं भनेदेखि हामीले पनि आयातित चुल्होमा प्रतिस्पर्धा गर्न सक्छौं । स्वदेशमै विद्युतीय चुल्हो उत्पादन गर्ने, सरकारले विद्युत महशुललाई पनि केही कम बनाएर लाने भनेका छौं ।
अहिले पाँच एम्पिएरको मिटर प्रयोग गर्नेमा पनि २० युनिटसम्मको छुट छ भन्ने छ । तर त्यस्तो छैन । यहाँ केही भ्रम पनि परेको छ । यो भ्रम चिर्न हामीलाई ग्राह्रो भइरहेको छ । हामीले पाँच एम्पिएरको मिटरलाई १५ एम्पिएरमा लगे मात्रै इन्डक्सन चुल्हो चलाउने वातावरण बन्छ । महशुल बढि हुनु हुँदैन । स्वदेशमा उत्पादन भएको विद्युत स्वदेशमा नै खपत हुने व्यवहारिक किसिमले अघि बढ्न जरुरी छ ।
हाम्रो लक्ष्य पनि नेपालमा बढि भएको बिजुली विदेशमा आयात नगरी स्वदेशका जनतालाई खपत गर्न लगाई समृद्ध बनाउनुपर्छ भन्ने छ । एक सय १० वर्षको विद्युत उत्दानको इतिहास नेपालमा छ । हामी सबैले यसमा साथ दिनुपर्छ ।
(स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को कार्यक्रममा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष ज्ञवालीद्धारा व्याक्त विचार)