बढ्दो आयातले औद्योगिकीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौति थपियोः प्रम देउवा

Advertisement

वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पुर्याइरहेको बताएका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले मुलुक छिटै नै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन गइरहेको सन्दर्भमा घरेलु तथा साना उद्योग क्षेत्रको विकास र विस्तारका लागि सरकारले प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी भएको बताए । 

Advertisement

घरेलु तथा साना उद्योगहरुले मुलुकको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै देउवाले भने, ‘यस्ता उद्योगहरुले मुलुकभित्र लाखौंका संख्यामा रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । यसलाई थप प्रवर्द्र्धन गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई बढाउनु आजको आवश्यकता हो । यस क्षेत्रको विकास र सहजीकरणका लागि सरकारकाृ तर्फबाट पुर्याउनुपर्ने सहयोगका लागि सरकार प्रतिवद्र्ध छ । साथै, सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन पनि सरकार प्रयत्नरत छ ।’

आज मुलुकमा जनताले उपभोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थिति रहेको भन्दै देउवाले थपे, ‘बढ्दो आयातले एकातिर मुलुकमा औद्योगिकीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौति सिर्जना गरेको छ भने अर्कोतिर विदेशी मुद्राको मागमा अत्याधिक चाप सिर्जना भई अर्थतन्त्रमा दबाब सिर्जना भएको छ ।’

उद्यमशीलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई संवृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विश्व बजारमा नयाँ अवसरको रुपमा देखा परेको सूचना प्रविधिलगायतको सेवा क्षेत्रको प्रवर्द्धन समेत यसै क्षेत्रबाट भइरहेको सन्दर्भमा यसबाट अपेक्षित लाभ उठाउन समेत उद्योगीलाई आग्रह गरे ।

महासंघका अध्यक्ष श्याम गिरीले विभिन्न आरोह अवरोह पार गरी आजको मितिमा आइपुग्दा महासंघले मुलुकभित्र लघु, घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा देखिएका चुनौति र सम्भावनाहरुका सम्बन्धमा राज्यलाई धेरैपटक आवश्यक राय सुझाव सहित सहकार्य गर्दै आएको बताए । 

साना उद्यमको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई दिगो बनाउनेतर्फ केन्द्रित रहेको बताउँदै उनले भने, ‘विषम परिस्थितिमा पनि हाम्रो संकल्प र साधना निरन्तर अघि बढिरहेको छ । स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेकै छ । अझ छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी बृद्घि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको सर्वविदितै छ ।’

सहुलियत कर्जा वितरण सहज नभएको तथा विभिन्न कार्यक्रमहरुमार्फत व्यवसायहरुलाई प्रदान गरिएको अनुदान र सहयोग वास्तविक उद्यमीले पाउन नसकेको भन्दै गिरीले यसतर्फ पनि प्रभावकारी नीति र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । 

महासंघकै इतिहासमा पहिलो चोटी काठमाडौ बाहिर आयोजना गरिएको महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र काुननहरुको बारेमा छफफल गरि ठोस निष्कर्षमा पुग्ने योजना रहेको जनाइएको छ । 

Advertisement

Advertisement