कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Advertisement

काठमाडौं। जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले १८ बर्ष नपुगेकी एक गायिकासँग करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

अदालतले पल पीडितले दिएको घटना विवरणको कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलाई आधार मान्दा शाहले पीडितलाई जबर्जस्ती करणी गरेको देखिन आएको ठहर गरेको छ ।

Advertisement

आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८–७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू ।’

पल शाहले जबर्जस्ती करणी गरेको पूर्णतः अस्वीकार गरे पनि उनले गरेको वयान अनुसार घटना भएको दिन राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेकाले जबर्जस्ती करणी गरेको तथ्यसँग मिलेको अदालतको तर्क छ । 

पलले बयानमा घटना भएको दिन राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई स्वीकार गरेको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो ।’

पलविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । अदालतले बुधबार र बिहीबार भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको हो । 

Advertisement

Advertisement