‘लक्ष्मी’ जलाएर खरानीको व्यापारः ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’ किन चाहियो राष्ट्र बैंक ?

Advertisement

अघिल्लो साता नेपाली सञ्चारमाध्यमहरुमा एक आर्थिक क्षेत्रसँग सम्बन्धी समाचार प्राथमिकता साथ आयो । समाचारअनुसार देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले पूराना नोटहरु जलाएर आम्दानी गर्ने..। राष्ट्र बैंकले खरानीको व्यापार थालेको रहेछ । त्यसबाट बिक्रेट बनाउन सातै प्रदेश र केन्द्रीय कार्यालयमा आठ वटा मेसिन किनेर ल्याएको रहेछ । राष्ट्र बैंकले प्रतिमेसिन तीन लाख ८१ हजार युरो अर्थात पाँच करोडभन्दा बढि नेपाली रुपियाँका दरले खरिद गरेको छ । यो भनेको देशको केन्द्रीय बैंकले खरानीको व्यापारका लागि ५० करोड रुपियाँका मेसिन खरिद गरि ल्याएको हो ।

नोट पोलेर निकालिएको खरानीबाट बिक्रेट उत्पादन गर्न नेदरल्याण्डबाट ५० करोड खर्चेर ल्याइएको र त्यसको जडानमा लाग्ने खर्चसहित झण्डै ६० करोड रुपियाँको उक्त परियोजनाको उद्घाटन गभर्नर महाप्रसाद अधिकारीले उत्तिकै महत्वका साथ हसिलो भएर गरेको देखियो । सामान्य नजरले हेरेमा यो समाचार सामान्य नै हो । तर अन्य बिक्रेट बनाउने उद्योगले बिक्रेट उत्पादनका लागि मेसिन जडान गरेको वा सातै वटा प्रदेशमा आफ्नो उद्योग फैलाएको जस्तो सामान्य विषय हो होइन् ? किनकी देशको केन्द्रीय बैंकले बिक्रेट उत्पादन गर्न ६० करोड रुपियाँको लागतमा एक उद्योगसरह लगानी बढाएको छ । यहाँ यति वित्तीय लगानीबाट कति आर्थिक नाफा वा कारोवार हुन्छ ? भन्नेभन्दा पनि यो विषय नेपाली जनभावनाको नितान्त विपरित र ९५ प्रतिशत नेपालीको आस्था, श्रद्धा र विश्वासमाथि खेलवाडसँग जोडिएको विषय बनेको छ । 

Advertisement

पैसा लक्ष्मीस्वरुप हुने मान्यता
बैंदिक सनातन संस्कृति र ओमकार परिवारको संस्कृतिमा कुनै पनि कार्यमा पैसाको प्रयोग गरिन्छ र उक्त क्षण प्रयोग गरिएको पैसालाई लक्ष्मीस्वरुप मानिएको हुन्छ । हुन त पैसा कागजको एक टुक्रा नै हो भन्न पनि सकिएला । तर, त्यसरी सामान्य लिन मिल्ने भए अन्य सामान्य कागजको टुक्रा पैसा बराबर मूल्यवान किन भएन ? भन्ने बित्तिकै पैसा सामान्य कागजको टुक्रा होइन भन्ने सावित भई पनि हाल्दछ । यसै कुराको महत्वलाई बुझेर र धन तथा त्यसको सदुपयोगलाई बुझेर यसको महत्व दर्शाउन हाम्रा ऋषिमुनि विद्धान बैज्ञानिकहरुले द्रव्य यानेकी पैसालाई लक्ष्मीको स्वरुपका रुपमा परिभाषित गरेको हुनु पर्दछ । त्यसैले नेपाली समाजको ९५ प्रतिशत भन्दा बढि जनसंख्याले आफ्ना देवकार्य होस् वा पितृकार्य होस पैसालाई सम्मानित तरिकाले लक्ष्मीको स्वरुप मान्दै प्रयोग गर्ने गर्दछन् ।

साथै पैसालाई खुट्टा लगाउन नहुने, जुठो हातले पैसा छुन नहुने, पैसालाई सम्मान साथ जतनले राख्नुपर्ने, पैसालाई ढोग्ने विषय हरेक नेपाली अभिभावकले आफ्ना सन्ततीलाई सिकाउने सामान्य विषय हुन् । कुनै पनि नेपालीले आफ्ना खुट्टाले पैसालाई लत्याउन सक्दैन् । त्यसैगरी पैसाको खरानीबाट बनेको ब्रिकेट बालेर जानाजान खुट्टा सेकाउन सक्दैन् । कुनै पनि श्रीमानले आफ्नो सुत्केरी श्रीमती र नवजात सन्तानलाई सेक्नका लागि जानीजानी राष्ट्र बैंकको ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’बाट उत्पादित ब्रिकेको आगो सायदै प्रयोग गर्न सक्ला । म निश्चितता साथ भन्न सक्छु ती राष्ट्र बैंकका ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’ उद्घाटनमा बटन दबाउने र थपडी बजाउने व्यक्तिहरुले समेत आफ्ना सन्ततीका नवजात शिशुहरु यस ब्रिकेटबाट सेकाउन सक्ने छैनन् ।

मूल्य मान्यता बिरोधी यात्रामा राष्ट्र बैंक
दीपावलीका बेला आफ्नो घरघरमा सेफमा पैसाको ठेली राख्दै स्वस्तिक चिन्ह बनाएर पूजा गर्ने नेपाल राष्ट्र बैंकका ती उच्चस्तरका कर्मचारीको हात, सोही लक्ष्मीस्वरुप पैसालाई खरानीमा रुपान्तरण गरी खुट्टा सेकाउने ब्रिकेट बनाउने मेसिनको स्वीच दबाउन कसरी तयार भए होलान ? यो जवाफ सायत तीनै गभर्नरसहितका कर्मचारीहरुलाई मात्र थाहा होला । अहिले यति मात्र भन्न सकिन्छ कि यी गभर्नर र उनका सल्लाहकार उच्चपदस्थ अधिकारीहरुको योजनामा बनेको यस परियोजनको समीक्षा इतिहासमा कहिल्यै नमेटिने दाग लाग्ने छ । हरेक कुराको विकल्प नहेरी अरुको देखासिकी गर्नुपर्ने हाम्रो संस्कार पनि यसमा प्रतिविम्बित देखिन्छ । र यसलाई तीनका छोरानाती सन्ततीले सोही परिभाषामा अध्ययन गर्ने छन् । सायद यस्ता देशको संस्कृति, मूल्य, मानन्यता विपरित र जनभावना विपरितका परियोजना अघि बढाउँदा ‘मह काढ्नेले हात चाट्छ’ भनेझै भएको पनि हुनसक्छ । तर आफ्नै पितापूर्खाले पवित्रतासाथ ल्याएको बृहद् मूल्य मान्यताका विपरित गएर आर्जित भएका सान र शौक क्षणभंगुर भएको दृष्टान्त खोज्न धेरै टाढा जानु नपर्ने विषय हुन् ।

बर्षेनी ३ करोडको सिधा घाटा 
‘कति परिणाम हात पार्न कति परिमाणमा लगानी गर्ने ?’ यो सामान्य व्यवसायीले समेत सोच्ने सामान्य व्यवहारिक नीति हो । तर अरुलाई वित्तीय साक्षरता र वित्तीय ज्ञान सिकाउने राष्ट्र बैंकका विज्ञहरु भने यस सामान्य विषयबारे जानकार देखिएनन् वा जानकार नभएको जस्तो देखिए । नभए वर्ष दिनमा ४० देखि ५० अर्ब रुपियाँ बराबरका पूराना नोट जलाएर खरानी पार्ने गरेको राष्ट्र बैंकले ६० करोड रुपियाँको फिक्स लगानी र बर्षेनी करोडौँ रुपियाँको सञ्चालन खर्च व्योहर्ने गरि ब्रिकेट बनाउन लगानी गर्ने थिएन होला ? 

यति लगानीबाट प्रतिदिन १४ सय किलो ब्रिकेट उत्पादनका लागि गरिएको लगानीको आर्थिक विश्लेषण गर्नै पर्ने हुन्छ । एक ब्रिकेट व्यवसायीले दिएको जानकारी अनुसार नेपालमा असाध्यै राम्रो बिक्रेट (रुखको पातपतिङ्गरबाट बनाइएको अर्गानिक र गुणस्तरीय)को मूल्य प्रतिकिलो ८० देखि ९० रुपियाँ रहेको छ । ती व्यवसायीले पैसालाई डढाएर बनाइने ब्रिकेट गुणस्तरीय नहुने र त्यसको मूल्य गुणस्तरीय ब्रिकेटसरह हुन नसक्ने बताए । तैपनि मानौ प्रतिकिलो ९० रुपियाँ नै मान्ने हो र राष्ट्र बैंकको ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’ दैनिक पूर्ण क्षमतामा सञ्चालन भयो भने अवस्था यस्तो रहने छ । राष्ट्र बैंकले दिएको जानकारीअनुसार महिनामा २० दिन उक्त ब्रिकेट उद्योग सञ्चालनमा रहने छ र दैनिक १४ सय किलो ब्रिकेट उत्पादन भयो भनेर मान्दा र यदि उक्त उद्योग पूर्ण क्षमतामा सञ्चालित हुन्छ भनेर मान्दा पनि यस उद्योग महिनामा २५ लाखको दरले घाटामा रहने छ । महिनामा २० दिन १४ सय किलो ब्रिकेट उत्पादन गर्दा र ९० रुपियाँ प्रतिकिलोमा उक्त ब्रिकेट बेचेमा राष्ट्र बैंकको यस ब्रिकेट उद्योगले बर्षमा तीन करोड आसपास कुल आम्दानी गर्ने छ । यसमा सञ्चालन खर्चअन्तर्गतका बिजुली खर्च, कर्मचारी खर्च, अन्य मर्मत खर्च लगायतका खर्चहरु घटाइएको छैन् । यदि राष्ट्र बैंकले यस उद्योग स्थापना गर्न लगानी गरेको कुल ६० करोड राष्ट्र बैंककै नीति निर्देशनअन्तर्गत स्थापित कुनै पनि बैंकमा राख्यो भने जुनसुकै वित्तीय संस्थाले दिने १० प्रतिशत न्यायोचित व्याजअनुसार बर्षेनी छ करोड आम्दानी हुन्छ । यसरी हेर्दा सिधा भाषामा राष्ट्र बैंकको यस उद्योगले देशलाई बर्षेनी चार करोडभन्दा बढि घाटाको भार थोपरिरहेको छ । 

त्यसो त यस उद्योग पूर्ण क्षमतामा चल्ने र त्यहाँबाट उत्पादित ब्रिकेटको बजारीकरण र पारदर्शिता निरन्तर प्रश्न उठिरहने विषय बनिरहेको छ । तसर्थ राष्ट्र बैंकको यस ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’ बन्द भएको समाचार नेपाली सञ्चारमाध्यममा छिट्टै आउने कुरामा दुविधा छैन् । यसले समग्र देशका नागरिकको भावनालाई चोट पुर्याउने तर केही सीमित मानिसको खल्ती भरिने कुरा दुविधा नहुने विषय रहने छ । 

अन्यत्र सबैतिर ‘आउटसोर्सिङ’ यहाँ किन आन्तरिक लगानी ?
आजभोली आर्थिक जगतमा ‘आउटसोसिङ’ निकै चलेको र लागत किफायती गतिबिधि बनेको छ । धेरै सरकारी निकायले पनि आजभोली यस्ता खाले कार्यका लागि आफै सिधै आफ्ना जनशक्ति परिचालन गरि सक्रिय नभई बाहिरी एजेन्सीको सहयोगमा कार्य गर्ने गर्दछन्, जसलाई आउट सोसिङ भन्ने गरिन्छ । उसो भए राष्ट्र बैंकले यस्तो किन गरेन ? यसमा बैंकका कर्मचारीले तर्क गरेको देखियो, ‘पैसा जस्तो संवेदनशील विषय भएकाले कठिन भयो ।’ यो तर्क सही पनि हो । तर झुत्रा भइसकेका नोट डिस्पोज गर्ने नै भइसकेपछि सही सलामत नोट नै एजेन्सीलाई हस्तान्तरण गर्नुपर्ने हो र ? खरानी बनाउन सक्ने राष्ट्र बैंकले आफ्ना जिम्मेबार कर्मचारीको रोहवरमा उक्त झुत्रा नोटलाई मसिना मसिना टुक्रा बनाएपछि मात्र एजेन्सीलाई हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन किन सकेन ?

धेरै जसो सरकारी निकायहरु अझ भनौँ उद्योग कलकारखानाहरु धराशायी भइरहेको सन्दर्भमा राष्ट्र बैंकले ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’ किन स्थापना गर्यो ? यो आज सबैतिर उब्जेको प्रश्न हो । अझ देशको केन्द्रीय बैंक आमनेपालीको जनभावना बिपरित हुने र ठेस लाग्ने कार्यमा किन उद्यत भयो ? भन्ने प्रश्न सबै भन्दा गम्भीर बनेर देखापरेको छ । राष्ट्र बैंकका ‘झुत्रा नोट खरानी ब्रिकेट उद्योग’का परिकल्पनाकारहरुले यसको जवाफ दिनैपर्ने हुन्छ ।

(पत्रकारसमेत रहेका लेखक पन्त युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा हस्तरेखाविद् हुन् । सम्पर्क ९८१३६३७२३८)

Advertisement

Advertisement