एनआरएनए महासचिवको तर्क– तीन अध्यक्ष रहेको सामुहिक नेतृत्वले सबै समस्या समाधान गर्छ

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव केशव पौडेलले संघमा राजनीतिक चलखेल नभएको जिकिर गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको हस्तक्षेप, नेतृत्वको दावेदारहरुको पदीय स्वार्थका कारण तीन–तीन जना अध्यक्ष बनाइए पनि पौडेलले चलखेल नभएको जिकिर गरेका हुन् । 

उनले राजनीतिक दल वा संघसंस्थासँग छलफल गर्दैमा संघमा राजनीति छिरेको भन्न नमिल्ने बताए । पौडेलले संघले अबका दिनमा नेपालको समृद्धिमा सहयोग गर्ने, विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोडिराख्ने, विदेशमा बसेका नेपालीलाई निरन्तर नेपाली नागरिकता लिइराख्न सक्ने व्यवस्था बनाउने बताए । 

Advertisement

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पौडेलले सबै राजनीतिक दल, सरकार र संघसंस्थाहरुसँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने बताए । एनआरएनएको सामुहिक नेतृत्वले गैरआवासीय नेपालीका समस्या समाधान गर्ने उनको दाबी छ । 

महासचिव पौडेलले संघमा केही समस्या समाधान भइसके पनि अहिले धेरै समस्या रहेको भन्दै त्यसलाई छलफलबाट टुंग्याएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘मान्छेहरुले यो संस्थामा धेरै राजनीतिकरण भयो भन्ने गरिएको छ । हामीले दल र संगठन, नागरिक समाजसँग मिलेर काम गर्नुपर्छ । त्यो मिलेर गर्दा राजनीतिक दलसँग सहकार्य गरेका हौँ । छलफल गरेका हौँ । त्यसलाई राजनीतिकरण भयो भन्न मिल्दैन ।’ 

महासचिव पौडेलले एनआरएनएमा तीन जना अध्यक्षको सहकार्यमा नेतृत्व सुचारु हुन लागेकोप्रति कतिपयले पदको लागि सहकार्य गरेको भन्ने आरोप लगाएको भनेपनि त्यो सत्य नभएको तर्क गरे । संस्थाले गैरआवासीय नेपालीहरुका समस्या समाधानका लागि सामुहिक सहमतिको नेतृत्व चयन गरेको बताउँदै उनले सामुहिक नेतृत्वले संस्थालाई संस्थागत बनाउने र पारदर्शी बनाउने कुरामा जोड दिने बताए । 

Advertisement

Advertisement