‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई भव्य स्वागत (फोटोफिचरसहित)

Advertisement

काठमाडौँ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आएको छ । 

आज मध्याह्न नेपाल आइपुगेको ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपालको संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गरिएको हो ।  

Advertisement

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याइएको हो । 

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संस्कृति र गन्तव्य प्रवर्द्धनमा सहभागि गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले बताए ।  

उनले बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवर्द्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा विशेष सहयोग हुने विश्वास व्यक्त गरे ।

सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र नेपालका विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन् । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

दस दिनसम्म हुनेछन् यी कार्यक्रम
पाटा नेपालका अनुसार मास्टर सेफ टोली आज काठमाडौँ  आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । 

उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा सहभागी हुनेछन् ।

त्यसैगरी १२ तारिखकमा काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ । उक्त टोली लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जानेछ । 

बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरशेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ । १७ तारिखकमा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ ।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । श्रीलङ्कन एयरलाइन्स, बुद्ध एयर, समिट एयर, नबिल बैंक, सिवेक हस्पिटल, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, सिद्धार्थ हस्पिटालिटी, कम्युनिटी होमस्टे, गेट कलेजलगायतले कार्यक्रमलाई सहयोग गरेका छन् ।

तस्वीरहरुः फुर्पा शेर्पा/कर्पोरेट नेपाल

Advertisement

Advertisement