‘सरकार इमान्दार हुने हो भने विदेश गएर पीआर लिनेहरुको सम्पत्ति राष्ट्रियकरण गर्दा हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकार इमान्दार हुने हो भने विदेश जाने, उतै रमाउने, त्यहींको स्थायी बसोबास अनुमति (पीआर–पर्मानेन्ट रेसिडेन्स) लिने, रकम पनि नपाउनेहरुको सम्पत्ति राष्ट्रिकरण गर्दा हुने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पढ्न, घुम्न वा पैसा कमाएर आफ्नो परिवारलाई पठाउन भनेर विदेश जानु रहर र बाध्यता हुनसक्छन् भन्दै तर आफ्नो मातृभूमि बिर्सिएर विदेशमै रमाउनेहरुको सम्पत्ति राष्ट्रियकरण गर्दा हुने बताए । क्षेत्रीले भने, ‘सरकार नै इमान्दार छैन् । सरकार इमान्दार हुने हो भने नेपाललाई बिर्सिएर उतै रमाउनेहरुको सम्पत्ति राष्ट्रियकरण गर्दा हुख्छ । सरकार नै आफै भ्रष्ट र बेइमान भएको बेला यो कुरा कार्यान्वयन हुन गाह्रो छ ।’ 

Advertisement

उनले थपे, ‘पीआर लिनेहरुको सम्पत्ति राष्ट्रियकरणको कुरा गर्ने वित्तिकै स्टालिनवाद लागू गरियो भनेर हल्ला गर्न थाल्छन् । व्यक्तिगत सम्पत्तिको अधिकारको कुरा उठाउन थाल्छन् । कस्तो समय आइसक्यो भने श्रीमान श्रीमती बेलुकी सहमतिमा सुतेका हुन्छन् । तर के कुरा मिल्दैन, बिहान उठ्ने बेलामा जबरजस्ती गर्यो भनेर श्रीमान हतकडी लगाएर थानामा बस्नुपर्ने समय आइसक्यो । त्यो भएकाले सम्पत्ति राष्ट्रियकरण गर्ने कुरा पनि जटिल छ । राज्य इमान्दार भएर गर्ने हो भने यो गर्नुपर्ने हो । तर मैले संभावना देख्दिन् । 

पछिल्लो समयमा परिवार, समाज र राष्ट्रले हुर्काउन र पढाउन ठूलो लगानी गरेकाहरु विशेषगरी युरोप, अमेरिका, अष्ट्रेलिया जान लालयीत हुने, उतै श्रीमती, छोराछोरीसँग सुःख सयलमा रमाउने, अझ नेपालबाट आफ्नो पुख्यौली सम्पत्तिसमेत बिक्री गरेर लैजाने, उतै बसेर कांग्रेस र कम्युनिष्टका नाममा राजनीति पनि गर्ने, सबेसम्म नेपाल नफर्किने, फर्किए पनि काम गर्ने उमेर ढल्किएपछि बुढेसकालमा फर्किन प्रवृत्ति बढ्दै गएपछि त्यस्ता व्यक्तिहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने कुरा उठ्न थालेको हो । 

नेपालमा केही गरौं भन्नेहरुले जग्गा नपाउने तर विदेशमा बसेर उतैको पीआर लिनेले सम्पत्ति ओगटेर बस्ने कुरा उचित नहुने भन्दै उनले पैत्रिक सम्पत्तिको दिन दुई गुनास रात चौगुना मूल्य बढने, त्यही सम्पत्ति बेचेर महंगा गाडी किन्ने, विदेशी सामान खरीद गरेर उपयोग गर्ने, आफू श्रम वा उद्यम गरेर कमाउने नखोज्ने, बरु विदेश गएर उत्तै सुख भोग गर्न खोज्ने, गएपछि पनि आफ्ना बुढा भएका बाबुआमालाई वास्ता नगर्ने प्रवृत्ति हाम्रा युवामा बढ्दै गएकाले यसलाई निरुत्साहित गर्नु जरुरी भइसकेको बताए । 

पूर्वगभर्नर क्षेत्रीले ब्रिटिस लाहुरेहरुलाई बेलायतमा स्थायी बसोबास गर्न दिएसँगै नेपालबाट सम्पत्ति बिक्री गरेर उत्तै लाने क्रम सुरु भएको बताउँदै त्यो अहिले झन बढेको बताए । उनले रुस–युक्रेन युद्धका कारण विश्वभर मुद्रास्फीति बढेकाले पनि कतिपयले बाँच्न गाह्रो भएपछि नेपालबाट पैसा पठाइदेउ भन्न थालेको देखिन्छ भने ।

क्षेत्रीले भने, ‘हामी विचारले बाँडिएका छौं । हामी देशहित हेर्ने र व्यवसायिक हुने भन्दा पनि हरेक कुरालाई राजनीतिक दृष्टिबाट हेर्ने गरेबाट बिग्रिएको हो ।’ उनले यसरी विदेश गएर उतै पीआर लिने, सिटिजनसिप लिनेहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने भनियो भने भने धेरै जटिलता हुने बताए । क्षेत्रीले भने, ‘बाउआमा छन् भने बाउआमाका नाममा राखेर गएका होलान् । आफ्नो नाममा भए कतिपयले बिक्री गरेर लगिसकेका होलान् । अंशबण्डा गरेको छैन् भने राष्ट्रियकरण गर्ने कुरामा पनि त्यसै विवाद आइहाल्छ । नियमानुसार पाउने अंश भनेर छुट्टाएर गर्ने भनेको निकै कठिन छ ।’ 

कमका लागि खाडी मुलुक, मलेसिया, इजरायल जस्ता मुलुक जानेहरु अधिकांशले दुःख गरेर मुलुकमा पैसा पठाउने भरे पनि युरोप, अमेरिका, अष्ट्रेलिया जानेहरुले देशको अन्योलपूर्ण राजनीतिक अवस्थाका कारण सकेसम्म रकम नपठाई उतै सञ्चित गर्ने प्रवृत्ति एकातिर बढेर गएको छ भने अर्कोतिर नेपालका राजनीतिक दलका नेता, प्रशासक, न्यायाधीश, जग्गा दलाल, हुण्डी कारोबारी, दुई नम्बरी व्यापार गर्ने व्यापारीहरुले अनधिकृतरुपमा रकम बाहिर लैजाने क्रम बढ्दा मुलुकको अर्थतन्त्र जटिल बन्दै गएको छ । सँगै बढ्दो व्यापार घाटा, घट्दो रेमिटान्स, पेट्रोलियम पदार्थसहित आयातित वस्तुमा भएको उच्च मूल्यवृद्धि, विदेशी अनुदान, ऋण र प्रत्यक्ष वैदेशिक लगानीमा भएको गिरावट, क्रिप्टोकरेन्सीमा भइरहेको अनधिकृत लगानी, स्रोत खुलाउनुपर्ने डरले घरमै सिरानीमुनी पैसा लुकाएर राख्ने जस्ता प्रवृत्तिले विदेशी मुद्राको संचितिमा चाप गर्नुका साथै बैंकहरु लगानीयोग्य पुँजीको अभाव खेप्न बाध्य भएका छन् । 

पूर्वगभर्नर क्षेत्रीले यो समस्या कम गर्न विदेशमा रहेकाहरुले रकम पठाएर सहयोग गर्नुपर्ने बताउँदै युरोप, अमेरिका, अष्ट्रेलिया गएका सबैले नेपालमा नबिर्सिएको बताए । जानेहरुमध्ये कतिपयले आफ्नो क्षमता देखाएर उच्च तहसम्मसमेत पुगेको र उनीहरुमा सकेसम्म आफ्नो पैत्रिक थलोलाई पनि केही गरौं भन्ने भावना रहेको बताउँदै त्यो भावना सबैमा हुनुपर्ने बताए । विगत दुई बर्षदेखि अध्ययनका नाममा ती मुलुक जान रोक्किएका हजारौं विद्यार्थी पछिल्लो समय जान थालेसँगै नेपालबाट अर्बौं रुपियाँ रकम बाहिरिएको छ । अर्कोतर्फ लाखौं रुपियाँ खर्चिएर अवैधरुपमा युरोप, अमेरिका, अष्ट्रेलिया जाने प्रवृत्ति पनि लामो समयदेखि रहँदै आएको छ ।

नेपालमा केही उद्यम गर्न जाँगर नगर्ने तर नजाउ भन्दाभन्दै मानव तस्करलाई ठूलो रकम बुझाएर युरोप अमेरिका पुगेर अलपत्र परेपछि सरकारले हेरेन, उद्दार गर्न जहाज पठाइदिएर भनेर गुनासो गर्ने हाम्रो शैली छ भन्दै क्षेत्रीले नेपालका पाङदुरे नेताले नै भोटको राजनीतिका लागि उनीहरुकै पृष्टपोषण गर्ने गरेको अनुभव सुनाए । 

उनले भने, ‘साँचो मनले राष्ट्रलाई आत्मसाथ गरेर सोच राख्ने पद्दती नै हाम्रो भएन् । यदाकदा भएका इमान्दार मानिसलाई पनि त्यही भीडमा निराश भएर बसेका छन् । अन्ततः यसको नजिता के हुन्छ भन्नुहुन्छ भने हामीले सार्वभौमिकता गुमाउँछौं । मैले पनि आस्था दिन्न । तपाईंको पनि राज्यप्रतिको आस्था गुमेको हुन्छ । किनभने नेताले चाहिने काम गर्देनन् । देशभक्तहरु संगठित हुन सक्दैनौं फेरि । संगठित हुन खाजेको मिश्र भन्नेहरु (साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र) चार–पाँच वटा भइसके ।’ 

राज्यलाई नभई नहुने विषयमा अध्ययन गरेकाहरु नै नेपालमा बस्दै नबस्ने अवस्था रहेको बताउँदै क्षेत्रीले फिजिक्स जस्ता विषय अध्ययन गर्नेहरु, कृषि विज्ञहरु एक जना पनि नेपालमा बस्न नखोज्ने र अमेरिकाको नासा जस्ता संस्थामा काम गर्न लालयीत हुने तर नेपालमा केही गरौं भन्ने सोच नराख्ने, सरकारले पनि उनीहरुलाई नेपालमै राखेर उनीहरुको ज्ञानको सदुपयोग गर्न पहल नगर्ने अवस्था रहेको तीतो सत्य सुनाए । उनले भने, ‘कृषिसम्वन्धी अध्ययन गर्ने नार्क भन्ने संस्थामा अहिले पनि ४५–४६ वटा कृषि वैज्ञानिकहरुको पद खाली छ भन्ने सुनिन्छ । कोही जागिरमा हुँदाहुँदै पलायन भए, कोही त्यो पदमा जानै खोज्दैनन् । अनि हाम्रो कृषिको विकास कसरी हुन्छ ?’

Advertisement