घरेलु, लघु, साना उद्यमहरुलाई वित्तीय साधनको पहुँचमा कठिनाई

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रि«य वित्त निगम (आईएफसी)संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा कार्यक्रम सम्पन्न भएको छ । 

नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आम गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका लागि यो कार्यक्रमको आयोजना गरिएको हो । 

Advertisement

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करिब ३.६ अरब रुपियाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान रहदा रहदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन् । 

मुलतः यसै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरुको सुधार गर्दै बैंक तथा वित्तिय संस्थालाई कर्जा विविधिकरण गर्न प्रोत्साहन गर्नु र साना तथा घरेलु उद्योगहरुको वित्तीय पहुँचमा सहयोग पुर्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको सिविफिनले बताए ।  

आईएफसीका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस. फायले अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तीका लागि धितोको प्राथमिक आधारको रुपमा प्रयोग गर्ने गरिएको बताए । उनले हाल प्रचलित चल धितो सम्पत्तिले वित्तिय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनिकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरुहरुको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउने बताए । 
 
सिबिफिनका अध्यक्ष पवन गोल्यानले चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्ने बताए । 

उनले लघु, घरेलु, साना तथा मझौला उद्यम र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने बताए । 
आईएफसीका विषय विज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै, नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
 

Advertisement

Advertisement