त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ नयाँ टर्मिनल भवन सञ्चालन, आगमन टर्मिनल निर्माण सुरु

Advertisement

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । 

आन्तरिक हवाई यात्रुको सख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल विकास गर्न लागिएका हौं । 

आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ । हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो व्यागेज कन्भेयर बेल्ट (दुईतर्फी व्याग लिन मिल्ने) बेल्ट हुनेछ । 

उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टी कन्स्ट्रक्सनले लिएको छ । निर्माण ठेक्का करिब पाँच करोड रुपियाँ सो कन्स्ट्रक्सनले पाएको छ । उक्त भवन निर्माणपछि यात्रुहरुलाई सहज हुने अपेक्षा लिइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार एक वर्षअघि निर्माण सुरु भएको नयाँ टर्मिनल भवन करिब १० करोड रुपियाँमा सम्पन्न भएको हो । चार सय जना यात्रु क्षमताको यो टर्मिनल भवनको निर्माण तुलसीभक्त शुभ जेभीले गरेको प्राधिकरणले जनाएको छ । 

नयाँ डिपार्चर हल सञ्चालनमा आएसँगै अब एकैपटकमा आठ सय जना यात्रुले सेवा लिन सक्ने छन् । सो हलको व्यवस्थापन निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले गर्ने विमानस्थलले जनाएको छ । बुद्ध एयरका अनुसार हलमा टिभीहरु राखेका छ, जसमा मौसमबारे सबै जानकारी हेर्न मिल्ने व्यवस्था गरिएको छ । 

साथै, उडानको स्थिति, मोम्मेन्ट, कुनै उडान डिले भएको, जस्ता जानकारी प्राप्त गर्न सकिने बुद्ध एयरले जानकारी दिएको छ । मन्त्री आलेलेका अनुसार नयाँ आगमन कक्ष निर्माण कार्य नौ महिनाभित्रै पूरा गर्ने लक्ष्य रहेको छ । यस अन्तर्गत हाल भएको एउटासँगै थप दुईवटा कन्वेयरिङ बेल्ट थपिएपछि पाँच मिनेटको अन्तरालमा ब्यागेज क्लियर हुन सक्ने उनले बताए।

आलेले भने, ‘फ्लाइट मुभमेन्ट दिनानुदिन वृद्धि हुँदै गएको छ । दैनिक करिब साढे तीन सय उडान हुन थालिसकेको छ । यो भिडभाड कम गराउने उद्देश्यले आगमन कक्ष विस्तार गर्न लागिएको हो।’ 

उनका अनुसार नयाँ भवनमा भीआईपी आगमन कक्ष, २५ जना क्षमताको प्रतिक्षालय, शौचालय लगायतका सुविधा हुनेछ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नयाँ डिपार्चर हल सञ्चालनमा आएसँगै वर्षौँदेखि यात्रुमा रहँदै आएको असुविधा दुर हुने बताए । 

उनले भने, ‘अब हाम्रो उद्देश्य भनेको २०२३ जनवरीदेखि पोखरा विमानस्थल सञ्चालनमा ल्याउने छ । टीआइएको अर्को टर्मिनल भवन बनाउनका लागि पनि गृहकार्य सुरु भइसकेको छ ।’

Advertisement

Advertisement