असार ३ बाट ललितपुरमा नयाँ र फरक शैली मेला सुरु हुने, स्वदेशी उत्पादन मात्रै राख्छौंः श्रेष्ठ

Advertisement

यही आउँदो असार ३ देखि ललितपुर महानगरपालिकाको कार्यालयसँगै रहेको खुल्ला स्थानमा ‘ललितपुर महानगर घरेलु प्रदर्शनी’ ‘मेड इन ललितपुर एक्स्पो’ हुँदैछ । महानगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर कमिटिले आयोजना गर्ने मेला ललितपुर महानगरभित्रका उद्यमीद्वारा उत्पादित सामग्रीहरु मात्र प्रदर्शनीमा राखिने छ । महिला उद्यमी जानकी प्रधान श्रेष्ठका अनुसार मेलामा प्रायः महिला उद्यमीहरुको सामानहरु प्रदर्शनी हुनेछ । उनले यस्तो प्रकारको मेला नेपालमा पहिलो पटक हुन लागेको बताइन् ।  लिडिङ वुमेन एशोसिएसनको अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्य, महासंघको ललितपुर महानगर कमिटिको सल्लाहकार, नेपाल महिला चेम्बर अफ कमर्शको केन्द्रिय सदस्यसमेत रहेकी श्रेष्ठसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः

 ‘ललितपुर महानगर घरेलु प्रदर्शनी’ गर्नुको कारण के हो ? मेलामा कस्ता समानहरु पाइन्छ ? 
‘मेड इन ललितपुर’ भनेर पहिलो पटक यो मेला आयोजना हुँदैछ । यसलाई फरक तरिकाले अर्थात् अरुको भन्दा फरक वा छुट्टै किसिमको नयाँपन होस भन्ने तरिकाले गर्दैछौं । मेलामा नआई हुँदैन रहेछ है भन्ने कुरा अगन्तुकलाई महशुस गराउन र मेलाले उद्यमीहरुलाई प्रोत्साहित गरोस भन्ने किसिमको हुन्छ । साथै, ललितपुर महानगरभित्रैका उद्यमीहरुलाई प्रवर्द्धन गर्ने काम पनि हुन्छ । कुनै पनि महानगरले महानगरभित्र मात्र बनेको उत्पादनलाई प्रदर्शन अहिलेसम्म गरेको छैन । यो हाम्रो मेला नै पहिलो हुनेछ । 

Advertisement

मेलाको प्रमुख उद्देश्य ललितपुरभित्रका उद्यमीहरुलाई प्रवर्द्धन गर्नु हो । ललितपुरभित्रका स्थानीयले उत्पादन गरेका र हातले बुनेका कपडा, मूर्ती, काठका सामग्री, खाद्यान्न, नेवारी खानाका परिकारः बारा, यमरी, चकलेट, बेकरी आदि सामानहरु राखिन्छ । मेरो आफ्नै नेपाली सिल्कबाट उत्पादित सामानहरु पनि रहन्छ । ललितपुरमा भएका राम्रा ब्यूटिसियनहरुले पनि सर्भिस दिन सक्छन् । ललितपुर महानगरभित्र जतिपनि घरेलु तथा साना उद्यमीहरु छन्, उहाँहरु सबैको प्लेटफर्म हुनेछ यो । यो मेला गर्नुको मुख्य उद्देश्य नेटवर्किङ पनि हो, जसको लागि हामीले विभिन्न पाहुनाहरुलाई निम्ता गरिसकेका छौं । मेलाबाट राम्रो नेटवर्क मात्र नभएर राम्रो मार्केटिङ पनि हुन्छ । घरेलु उत्पादक र प्रयोगकर्ताहरु धेरै छन् । तर त्यससम्बन्धमा प्रायः अनभिज्ञ छन् । त्यसैले पनि प्रचारप्रसार गर्ने, प्रदर्शन गर्ने ठाउँ पनि हुनु पर्छ भन्ने भएर यो मेला आयोजना गरिएको हो । 

यस्तो मेला पहिला पनि गर्नु भएको थियो ? 
यो मेला पहिलो पटक गर्न लागेको हो । ‘मेड इन ललितपुर’ अर्थात् महानगरभित्रको मात्रै उत्पादित सामानहरु प्रदर्शनमा राख्न लागेका हौं । ललितपुर महानगरपालिका भित्रकै वस्तुहरुको प्रवर्द्धन गर्नको लागि मेला आयोजना गरेको हो । कतिपय स्थानीयलाई नै थाहा छैन, ललितपुरमा के के बन्छ ? त्यसैले यो मेलाबाट मार्केटिङ, नेटवर्किङ सबै हुन्छ । स्टल भाडा कम भएपछि सामानमा कम नाफा राखेर बिक्री हुन्छ अर्थात् स्टलको भाडा कम भएपछि उद्यमीले पनि कम मूल्यमा सामान बिक्री गर्छन् । त्यसले गर्दा मेलामा सामानहरु सुपथ मूल्यमा पाइन्छ । अझ विशेष छुटको व्यवस्था गरेका छौं । 

Advertisement

कति स्टल छन्, कुन दिनदेखि कहिलेसम्म मेला आयोजना हुन्छ ?
मेलामा ४० देखि ५० वटा स्टल छन् । धेरै राखेर पनि प्रचार प्रसार हुँदैन । त्यही भएर सीमित छनोट गरेर राखेका हौं । स–साना उद्यमीहरुले भाडा तिर्न नसक्ने कारणले गर्दा स्टलको भाडा पनि एकदमै सस्तो राखेका छौं । मेला आगामी असार ३ गते सुरु हुन्छ र मेला प्रत्येक हप्ताको शुक्रबार र शनिबार राख्ने भनेका छौं । महिनाको चार पटक अर्थात् महिनामा आठ दिन मेला चल्छ । अहिले वर्षाको समय भएकोले पानीले असर गर्यो भने वा लगातार पानी पर्यो भने पछि एकदुई हप्ता मेला आयोजना नगर्न पनि सक्छौं । आगामी भदौदेखि भने प्रत्येक हप्ताको दुई दिन गर्ने निश्चित भएको छ । असारमा सुरु गरेर अबदेखि सधैंभरि अर्थात् आगामी सबै वर्षभरि यो मेलालाई निरन्तरता दिने सोच बनाएका छौं । पहिला हप्ताको तीन दिन राख्ने र स्टल भाडा पाँच हजार लिने भनेका थियौं तर फेरि त्यसलाई घटाएर हप्ताको दुई दिन र दिनको १५ सय भाडामा स्टल दिने सोच बनाएका छौं । 

अबदेखि निरन्तर अर्थात् हरेक वर्ष, महिना, हप्तामा मेला लागिराख्ने भन्नुभयो । स्टल एउटै व्यक्तिले निरन्तर राखिराख्न हो ? के हो मोडालिटि ? 
सधैंभरि एउटै उद्यमी वा व्यक्तिलाई स्टल राख्न दियो भने एकरुपता हुन्छ । नयाँ नयाँ उद्यमीका नयाँ नयाँ सामग्रीहरुको प्रचारप्रचार गर्दै जान्छौं । त्यसैले विभिन्न उद्यमीहरुलाई पालैपालो स्टल राख्न दिन्छौं । एकदमै राम्रो छानिएका उद्यमीहरु दोहोरिन, तेहरिन पनि सक्नुहुन्छ । तर सधैंभरि स्थायी रुपमा भने कसैले पनि गर्न पाउनुहुन्न । उहाँहरुलाई पनि महिनाको कतिपटक राख्ने भन्नेमा भर पर्छ । हाल भने छनौट भएका उद्यमीहरुको सामग्री प्रदर्शनीमा राख्छौं र अर्को पटक अरु नाम टिपाइराख्नु भएका उद्यमीहरुलाई मौका दिन्छौं । यसरी ललितपुर महानगरपालिकाभित्र भएका र उत्पादन वस्तुहरुको पालैपालो प्रदर्शन गर्दै जान्छौं । 

प्रदर्शनीमा कति आगन्तुकको आशा गर्नु भएको छ ?
सुरुमा प्रत्येक दिन एक–दुई हजारभन्दा बढीको आशा गरेका छौं । हाल आगन्तुक वृद्धि र प्रवर्द्धनको काम गरिराखेका छौं । स्टल बुकिङको लागि धेरैजना आइराख्नु भएको छ । स्टल राख्न सबै उद्यमीलाई मौका दिन्छौं । एकैपटक स्टलमा एकजनाले जे राख्यो अर्कोले पनि त्यही सामान राख्न नदिने भनेका छौं । किनकि त्यसो गर्यो भने प्रतिस्पर्धा हुन्छ ।

ललितपुरमा कस्ता उद्यमीहरु छन् र कस्ता सामग्री उत्पादन हुँदै आएका छन् ? निर्यातको अवस्था कस्तो छ ?
ललितपुरमा प्रमुख हेण्डिक्राफ्ट हो । जस्तो काष्ठकला, मूर्तिकला, हाते कागज, नेपाली कपडाहरु, हातले बनाएको जुत्ता, ब्याग, मकैको खोस्टा, निगालो, अल्लोबाट बनाएका सामानहरु आदि धेरै छन् । त्यसैगरी, यहींको खाद्यान्नबाट बनेका यमरी, बारा, चटामरी, चकलेट, बेकरी आदि उत्पादन भइराखेको छ जुन कतिपयलाई थाहा पनि छैन् । यहाँ उत्पादित सामानहरु चीन, जापान, कोरिया, अमेरिका, भारतलगायत धेरै देश गइराखेको छ । उनको लुगाहरु त धेरै देश जाने गर्छ । 

ललितपुरमा महिला र पुरुषमध्ये बढी उद्यमी को छन् ?
ललितपुरमा धेरै उद्यमीहरु महिला नै छन् । साना तथा घरेलु उद्योगमा बढी महिलाहरु नै संलग्न छन् भने ठूलठूला उद्यममा पुरुषहरु नै बढी छन् ।

तपाईं कसरी महिला उद्यमी बन्नु भयो ?
मलाई सानैदेखि बुबाले कमाउने तर आमाले किन नकमाएको र बुबासँग किन पैसा मागेको भन्ने लाग्थ्यो । महिलाले पनि कमाउनु पर्छ, आत्मनिर्भर हुनुपर्छ भन्ने लागेर होला मैले एसएलसीको परीक्षापछि पाँच वर्ष स्कुल पढाए । स्कुल पढ्दा पनि म कक्षामा टपर नै हुन्थे । स्कुल पाँच वर्ष पढाए । त्यसपछिको चार–पाँच वर्ष विभिन्न अफिसमा काम गरे । त्यो समयमा अनेक महिलाहरुको धेरै समस्याहरु देखे र सोचे मैले आफैले केही गरेभने ती महिलाहरुलाई केही गर्न सकिन्छ । सुरुमा मैले २०५१ सालमा यूएनडीपीले दिएको सिल्क तालिम लिएको हो । सानोमा सिल्क एकदमै मनपर्ने भएकाले तालिमपछि जागीरबाट कमाएर राखेको पैसाले केही खोलेर महिलाको लागि काम गर्छु भन्ने लाग्यो र ४० जना महिलाहरुलाई तालिम दिए । त्यसबेलाको समयमा पनि मैले महिलालाई पाँच सय रुपियाँ भत्ता र खाना दिएर तालिम दिएको थिए । महिला समूह गठनको चलन भर्खर भर्खर चलेको बेला मैले महिला समूह आफैले गठन गरे । त्यसपछि तालिम, भत्ता दिएकामध्येबाट राम्रो गर्न सक्ने २५ जना महिलाहरुलाई छानेर सानेपामा दिदीको जग्गामा टहरा बनाएर तान बुन्ने, धागो कात्ने, लुगा बनाउने आदि रेशमको काम सुरु गरे । त्यसपछि अरु पनि विभिन्न तालिमहरु लिने दिने गर्दै गए । मैले २०६४ सालमा नेपालमै पहिलो पटक दुई सय ग्रामको रेशमको सारी बनाएको हो । त्यसपछि विदेशबाट पनि धेरै अर्डर आउन थाल्यो । त्यतिबेला नेपालमा सिल्कको सामान बनाउने १०–१२ जनामा म एक्लै महिला थिए । तर अर्डर अनुसार काम गर्न सकिने, कच्चापदार्थ नै पाइएन । माग हुँदाहुँदै पनि मैले काम गर्न सकिने । त्यसपछि २०६५ सालपछि फ्याक्ट्री बन्द गरे । तर बन्द गरेपनि मसँग जति सामान थियो, त्यो सबै सिप, क्षमतानुसारका महिलाहरुलाई बाडिदिए । त्यसले गर्दा त्यतिबेला धेरै महिलाले काम पाए र जुन अहिलेसम्म गरिराखेका पनि छन् । अहिले मैले सिल्कीमा आउटसोर्सिङको काम गरिराखेको छु । मैले सानैदेखि कमाउन थालेको हो र आजसम्म पनि एकदिन बेरोजगार भएर बिनापैसा बस्नुपरेको छैन् । 

हाल महिलालाई उद्यमी बनाउन के कस्ता काम गर्दै हुनुहुन्छ ? काम गरेवापत राज्य वा संघ संस्थाबाट कुनै सम्मान पाउनु भएको छ ? 
म धेरै संस्थामा छु तर पनि विशेष महिला उद्यमीलाई प्रोत्सासन गर्ने, उद्यमी बनाउने कार्य जुनै संस्थामा बसेर गरिराखेको छु । र, आफ्नै सिल्कको उत्पादनहरु पनि गरिराखेको छु । कोभिडको समयमा पनि मैले महिलाहरुलाई पीपीई, माक्स, एप्रोन, सेनिटाइजर आदि बनाउने तालिम दिने, बनाएका सामानको मार्केटिङ गरिदिने, जेलमा भएका महिलालाई प्रोत्साहित गरेर कामहरु गरिराखेको थिए । मैले लगभग ६०–६५ जिल्लामा गएर तालिम दिइसकेको छु । अझै पनि म महिलाहरुलाई तालिम दिने, जागरुक गराउने, उद्यमी बनाउने र उहाँहरुले बनाएको सामानहरुको मार्केटिङ गरिदिने यस्तै यस्तैमा आवद्ध छु । कोभिडको समयमा बैंकसँग कोडिनेटर गरेर ४० जना उद्यमी बन्न चाहने महिलाहरुलाई ७ देखि ४० लाखसम्मको लोनसमेत उपलब्ध गराइदिएको छु । ती महिलाहरुले कोभिडको बेला पनि काम गरेर बैंकको ऋण तिर्नु भएको थियो, जुन बेला धेरैले तिर्न नसकिराखेको अवस्था थियो ।

सीपसँगै हामीले उद्यमी पनि बनाउछौं र उहाँहरुको सामानको बजारीकरण पनि गरिदिन्छौं । मलाई एकदमै गर्व महसुस हुन्छ, विभिन्न जिल्लामा मैले तालिम दिएकाहरु धेरै उद्यमी बन्नु भएको छ । उहाँहरुले पनि अरुलाई तालिम दिइराख्नु भएको छ, कुनै ठाउँमा मार्केट आफैले व्यवस्थापन गर्नुहुन्छ । भनेपछि तालिम भनेको यस्तो प्रभावकारी हुनुपर्छ भन्ने लाग्छ । तालिमपछि कसरी मार्केटिङ, प्यकेजिङ, ब्राण्डिङ गर्ने तथा गुणस्तरिय बनाउने तरिका सिकाउछौं । त्यसले गर्दा उहाँहरुलाई उद्यमी बन्न सजिलो हुन्छ । यिनै कामहरु गरेवापत म दिल्लीको ‘लायन्स क्लब दिल्ली वेजको महिला प्रतिष्ठा पुरस्कार–२०२१’ बाट सम्मानित भएको थिए । उहाँहरु आफैले मूल्यांकन गरेर सम्मान गर्नुभएको हो, सम्मानको लागि मैले कुनै पहल वा केही एप्लाई गरेको भने होइन । 

Advertisement