संसदीय समितिको फेरि सर्वोच्चलाई चुनौति, निजगढ विमानस्थल अघि बढाउन पुनः निर्देशन
File Photo

Advertisement

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई पुनः निर्देशन दिएको छ । सोही समितिले यसअघि जेठ १६ गतेको बैठकले पनि निर्देशन दिएको थियो । 

समितिको सोमबार बसेको बैठकले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । 

Advertisement

प्रतिवेदनमा निगजढ विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र निर्माण कार्य सुरु गर्नुपर्ने कुरा उल्लेख छ । यसअघि सर्वोच्च अदालतको पूर्ण इजलाशले निजगढ विमानस्थल निर्माणसम्वन्धी सबै कामकारवाहीलाई बदर गर्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्को उपयुक्त ठाउँ खोज्न सल्लाह दिएको छ । 

तर समितिका सदस्ूयहरुले भने निजगढमा तीन अर्ब लगानी भइसकेको र रुख कटानदेखि जग्गा अधिग्रहणको कामसमेत अघि बढेको अवस्थामा विमानस्थल निर्माणका काम रोक्न नहुने बताउँदै आएका छन् । तर वातावरणविद्हरुले भने खबौं रुपियाँको जंगल नष्ट गरेर र जंगली जनाबरलाई यातना दिएर निजगढमा विमानस्थल बनाउन नहुने बताउँर्दै आएका छन् । उनीहरुले तराईमा जंगल क्षेत्र घटेर चार प्रतिशतमा सीमित भएको अवस्थामा थप रुख कटान गर्न नहुने तर्क गर्दै आएका छन् । विकासवादीहरुले भने त्यो तर्कलाई अस्वीकार गर्दै आएका छन् । 

अन्तर्राष्ट्रिय सम्वन्ध समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत अन्य बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी कार्य अघि बढाउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ । 

Advertisement

Advertisement