Advertisement

काठमाडौं । त्रिभुवन चन्द्र बहुमुखी क्यााम्पस (त्रिचन्द्र) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन् । राजधानीको मुटुमा रहेको त्रिचन्द्र कलेज हालको स्थानबाट विस्थापित गरेर सकेसम्म चक्रपथ बाहिर लैजाने सरकारको रणनीति भए पनि विद्यार्थीहरुले भने पुननिर्माण गर्न दबाब दिएका हुन् । 

विस्थापित गर्ने योजनाकै कारण सरकारले त्रिचन्द्र कलेज जिर्ण भइसक्दा पनि पुननिर्माणको योजना बनाएको छैन् । मंगलवार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाए । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । 

Advertisement

कलेजमा अध्ययनरत विद्यार्थी भवन कुन बेला भत्किन्छ ? भन्ने डरमा पढ्नुपरेको उनीहरुको गुनासो छ । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढिरहे पनि भवन भत्किएर खस्ने हो कि ? भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ । 

उनीहरुले राज्य सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको बताए । विद्यार्थीहरुले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको बताए । 

प्रदर्शनका क्रममा बोल्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द कोईरालाले २०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म शुरु नहुँदा कक्षा कोठाको अभाव भएको र विद्यार्थीहरुले उठेर पढ्नुपर्ने बाध्यता रहेको बताए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएको र गत वर्षसम्म नबनाएपछि शिक्षा मन्त्रालयले नै भवन निर्माण गर्ने जिम्मा पाए पनि अहिलेसम्म कुनै पहलकदमी नभएको बताए 

त्यस्तै क्याम्पसका अर्का विद्यार्थी शेरेन जोशीले घरबाट कलेज आएपछि पढ्न बस्दा कहिले पुरिने हो भन्ने डरमा अध्ययन गर्नुपरेको बताए । त्यस्तै विद्यार्थी सुरेन्द्र विश्वकर्मा र विष्णु पाण्डेले कलेजका भवनहरु निर्माण नहुँदा विद्यार्थी सडकमा आउनुपरेको बताए । 

त्यस्तै क्याम्पसका पाले जीवन लामाले आर्थिक अवस्था सम्पन्न नभएका विद्यार्थी पनि अध्ययन गर्ने शैक्षिक संस्था नबन्नु दुःखको कुरा भएको बताए । उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि सोही विद्यालयमा अध्ययन गर्नुभएको तर अहिले चासो नदिएको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्रिचन्द्र क्याम्पसकै उत्पादन भएको भन्दै विद्यार्थीहरुले प्रधानमन्त्रीले विद्यालय बनाउन चासो नदिन दुःखको कुरा भएको बताए । उनले सरोकारवाला निकायहरु मिलेर विद्यालय पुनर्निर्माण गर्न तत्काल पहलकदमी लिनुपर्ने आवश्यक रहेको बताए । 

दरबारमार्गमा त्रिचन्द्र कलेज हुँदा बारम्बार विद्यार्थीहरुको विरोध प्रदर्शन, सडक अवरोध जस्ता समस्या हुँदा सुरक्षा निकायदेखि अन्य सरोकारवालाले सो ठाउँबाट त्रिचन्द्र कलेज विस्थापित गरी सो ठाउँमा आकर्षक पार्क बनाउनुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन् ।  

Advertisement

Advertisement