प्रेम सुवालको तर्क– एमसीसी सम्झौता पास गरेकाले देशमा आर्थिक संकट बढ्यो

Advertisement

काठमाडों । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको तर्क गरेका छन् । 

संसदमा मंगलबार उनले एमसीसी संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकिर गरे । सुवालले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढेको तर्क गरे । 

Advertisement

सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्यास पाए पनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको सुवालले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आयात गर्नु परेको बताए । 

उनले भने, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो । सर्वसाधारण जनता महंगीको मारमा परे । एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो । यसको प्रमाण हामी दिन सक्छौं । अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो । यसैकारण महंगी बढेको हो । मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तराष्ट्रिय बजारमा बजार मूल्यको एक तिहाई मूल्यमा तेल, ग्याँस उपलब्ध गरायो । खै, नेपालको कूटनीति ? तेल र ग्यास भारतले जस्तै गरेर ल्याउन सरकार असफल भएको छ । नेपालमा तेल र ग्यासको मूल्य आकाशियो । देउवा सरकारले रुसविरुद्ध मतदान नगरेको भए नेपाललाई पनि रुसले तेल र ग्याँस भारतलाई जस्तै अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई भन्दा कम मूल्यमा दिने थियो । यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको ।’

Advertisement

Advertisement