निजगढको प्रस्तावित लागत रु. एक खर्व २० अर्ब छ, बजेट आउँछ रु. २६ करोडः आले

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिवद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

बुधबार संसदमा बोल्दै आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनैपर्ने अवस्था रहेको बताए । उनले सो विमानस्थल निर्माणका लागि २६ करोड बजेट न्यून भएको उल्लेख गर्दै थप बजेट अर्थ मन्त्रालयले निकासा गर्नुपर्ने बताए । 

Advertisement

आलेले भने, ‘निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिवद्ध रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य यात्रु चापका कारण यसको विकल्प अविलम्ब खोज्नुपर्ने अवस्था छ । राष्ट्रिय आयोजनाको रुपमा प्रस्तावित निजगढ विमानस्थलको निर्माणका लागि प्रारम्भिक लागत एक खर्व २० अर्ब अनुमान गरिएको छ । चालू आवको नीति तथा कार्यक्रममा यस परियोजनाका लागि छुट्टयाइएको जम्मा २६ बजेट न्यून हो । अर्थ मन्त्रालयले थप बजेट व्यवस्था गर्नेमा म आशावादी छु ।’ 

उनले थपे, ‘साथै नेपाल नागरिक उडड्यन प्राधिकरणले यस परियोजनाको विस्तृत डिजाईन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा मोडालिटीसम्बन्धि सिफारिस समिति बनेको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै सरकारले नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत तीन अर्व लगानी गरिसकेको छ । यो परियोजनासँग जोडिएको काठमाडौं तराई द्रुतमार्गका लागि सरकारको दुई खर्व लगानी भईसकेको अवस्था छ ।’

मन्त्री आलेले सो विमानस्थलको विस्तृत डिजाईनको काम प्राधिकरणमार्फत भइरहेको उल्लेख गर्दै त्यसको मोडोलिटी तय गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा सिफारिस समिति पनि बनाइएको बताए । आठ हजार ५० हेक्टर जग्गा सो विमानस्थलको निर्माणका लागि अधिग्रहण भइसकेको पनि उनले बताए । 

Advertisement

Advertisement