बीमा कम्पनीहरु मर्जरमा जाउ पनि भन्ने, गएपछि नयाँलाई लाइसेन्स बाँड्ने काम हुँदैनः पौडेल

Advertisement

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई मर्जरमा लाने र फेरि नयाँ लाइसेन्स बाँड्ने काम नहुने स्पष्ट पारेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरमा गएपछि नयाँ कम्पनीलाई लाइसेन्स बाँड्ने काम हुन्छ कि ? भन्ने आशंका धेरैमा पलाएको बताउँदै उनले त्यस्तो नहुने बताएका हुन् । पौडेलले अहिले लघुबीमा कम्पनीबाहेक अरुलाई कमर्सियल लाइसेन्स वितरण नहुने बताए ।  

Advertisement

पौडेलको भनाईः 
हामीले धेरै पटक भनेका छौं बीमा क्षेत्रमा अब मर्जरको विकल्प छैन । यसको मतलब हामीले बीमा कम्पनीहरुको संख्या घटाउनलाई जोड दिइरहका छौं । बीमा क्षेत्रमा मर्जर बाध्यकारी छ भन्ने चर्चा पनि बढेको छ । तर, हामीले बाध्यकारी भन्दा पनि मर्जरमा जान चाहने कम्पनीहरुलाई बाटो खुल्ला गरेका हौं । 

अहिले मेरो अनुमानमा बीमा कम्पनीहरुले मर्जरलाई उत्साहको रुपमा लिन थालेका छन् । हामीले सबैभन्दा पहिला बीमा कम्पनीहरुलाई चुक्ता पूँजी बढाउ भनेका हौं । पुँजी वृद्धि केही कम्पनीलाई सहजै छ भने केहीका लागि ठूलो गृहकार्यको विषय पनि बनेको छ । 

साधारण शेयर (आईपीओ) जारी नगरेका कम्पनीहरुलाई पुँजी वृद्धि गर्न असजिलो छ । उनीहरुले आईपीओ ल्याउँदा नै पुँजी वृद्धिलाई मद्दत पुग्ने किसिमले ल्याउन सक्छन् । अब आईपीओ जारी गर्न जम्मा पाँच वटा जीवन बीमा कम्पनी बाँकी छन् । रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन्स लाइफ इन्स्योरेन्स, आईएमई र महालक्ष्मी लाइफ इन्स्योरेन्स । आईपीओ ल्याउँदा पनि कम्पनीहरुलाई अहिलेको अवस्थामा त्यति धेरै नाफा चाही छैन । रेट अफ रिटर्न कम छ । त्यस्तै, राइट शेयर इन्स्यू गरे पनि जनताले पैसा हाल्ने अवस्था कमै छ । 

बीमा व्यवसायमा कम्पनीहरुले व्यवसाय भित्राउन अहिले पनि धेरै संघर्ष गर्नुपर्ने अवस्था छ । सानो केक जस्तो व्यवसाय भएकाले सबैले त्यसलाई बाँढेर खानुपर्ने अवस्था छ । 

बीमा कम्पनीहरुलाई प्रविधिमैत्री बनाउँदै कम्पनीहरुको दक्षता बढाउन आवश्यक छ । प्लाष्टिकको कुर्सीमा बसेर मात्रै अब बीमाको अवस्था राम्रो हुने देखिदैन । शाखा प्रमुखहरुले वास्तविक बजार पनि बुझ्न जरुरी छ ।

अहिले बीमा कम्पनीहरुलाई मर्जरको विषयमा धेरै किसिमका दुविधाहरु सिर्जना भएको पनि हामीले पाएका छौं । यो कुुरा सत्य पनि हो । अहिले मर्जर नै नयाँ थालनी भएकाले त्यस्ता दुविधा उत्पन्न हुनु सामान्य कुरा हो । तर, त्यस्ता समस्याहरु समाधान लागि हामीले सहजीकरण गर्दिन्छौं । बाटो खोल्दिन्छौं ।

अधिकांशलाई बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा लगेर फेरि लाइसेन्स बाँड्छ कि ? भन्ने पनि परेको हुनसक्छ । यसमा हामीले लघुबीमाको त लाइसेन्स बाँड्ने  नै भनेका छौं । तर, त्यो भन्दा बाहेकका कम्पनीलाई लाइसेन्स दिने पक्षमा हामी छैनौं । बीमा कम्पनीको लागि कमर्शियल लाइसेन्स हामीले बाँड्दैनौं । मर्जरमा जाउ पनि भन्ने, नयाँ लाइसेन्स पनि बाँड्ने काम हुँदैन् ।

Advertisement

Advertisement