स्पेनमा परिवार लैजान रोकेकोमा स्पेनका एनआरएनए अगुवाहरु सरकारसँग रुष्ट

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघका अगुवाहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाईदिन माग गरेका हुन् ।

यस्तै, उनीहरुले सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवा पनि प्रभावकारी बनाउन माग गरे । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्ष शालिकराम डुम्रेले स्पेनमा नेपाली दूतावास हुँदा पनि फ्यामिली भिसाको समस्या रहेको सुनाए । दूतावासले राम्रोसँग समन्वय नगरेको उनको गुनासो छ ।

Advertisement

डुम्रेले भने, ‘हामीले परिवारका सदस्यहरुलाई घुम्नको लागि लग्न खोज्दापनि समस्या भयो, भिसाको लागि समय खर्चिनुपर्ने भयो । बुवाआमालाई भिजिट भिसामा आफू बसेको देश लैजान सकिएको छैन् । युरोपमा बस्नेहरुलाई राम्रो व्यवहार भएन ।’ 

भिसालगायतका कन्सुलर सेवा प्रभावकारी बनाउनको लागि सरकार खासगरी परराष्ट्र मन्त्रालयले उचित कदम चालोस भन्ने उनको भनाई छ । डुम्रैले स्पेनमा गैरआवासीय नेपालीहरुको दोस्रो पुस्ता स्किल्ड मेनपावरको रुपमा देखापरेको भन्दै उनीहरुलाई पनि नेपालको विकास र समृद्धिको लागि उपयोग गर्नसक्नुपर्ने सुनाए ।  

त्यस्तै, उनले सबै नेपालीहरु रहरले नभएर बाध्यताले विदेशिएको भन्दै पारिवारिक मिलनको लागि आवश्यक प्रक्रिया अपनाउँदा पनि भिसा प्राप्त गर्न समस्या भएको गुनासो पोखे । 

यस्तै, गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले पनि भिसालगायतका कन्सुलर सेवामा देखिएको समस्याको उठान गरे । उनले भने, ‘हामीलाई स्पेनमा धेरै समस्या रहेको छ, स्पेनवासीका लागि स्पेन कन्सुलर र नेपाल परराष्ट्र मन्त्रलय हाम्रो समस्याको समाधान गर्न खोज्नुहुन्न ? किन हामीलाई कन्सुलरले भनेको समयमा समस्याको समाधान गर्दैन् ?’ कार्यक्रममा बाग्लुङ समाज स्पेनका अध्यक्ष राजु थापाको पनि उपस्थिति थियो । उनी एनआरएनए, स्पेनका सल्लाहकार पनि हुन् । 

Advertisement

Advertisement