अर्थतन्त्र आत्मनिर्भर बनाउने मुख्य संवाहक साना तथा घरेलु उद्योग हुन्ः : उद्योगमन्त्री बडू

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको ई–कमर्श साईट ‘एमएसएमई डट कम’को बिहीबार राजधानीमा शुभारम्भ गर्ने क्रममा उनले घरेलु तथा साना उद्योगहरु सरकारको प्राथमिकतामा रहेको बताए । 

Advertisement

बडूले भने, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन् । यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ ।’

घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान ई–कमर्श साइट सञ्चालनमा ल्याइएकोमा मन्त्री बडूले खुशी व्यक्त गरेका थिए । 

उनले भने, ‘ई–कमर्समार्फत स्वदेशी वस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाईहरुको यो प्रयासमा सरकारको साथ रहने छ ।’ मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउँदै उनले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यात र उत्पादनलाई बढाउने नीति लिएको जानकारी गराए । 

साथै, बडूले लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को ‘मेड इन नेपाल मेक इन नेपाल’को दशकका रूपमा कार्यक्रम अघि बढाएको बताए । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्या बजारको पहुँच भएको बताएका थिए । उनले भने, ‘हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन । फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन् ।’

विश्वभर फैलिएको कोरोनाका कारणले गर्दा करिब दुई वर्ष घरेलु उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै अध्यक्ष सिंहले महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै अब लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरु डिजीटल प्रविधिमार्फत बजार प्रवद्र्घन हुने विश्वास व्यक्त गरे । 

उनले महासंघले घरेलु उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ सो अवधारणा ल्याएको बताए । 

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले भर्चुअल प्रर्दशनी र ई–कमर्श साईटको औचित्यमाथि प्रकाश पार्दै लघु, घरेलु तथा साना उद्योगहरु स्वभावैले ठूला बजारसम्म पुग्न नसकेको परिप्रेक्षमा यसबाट स्थानीयस्तरमा रहेका उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए । उनले गाउँघर र दूरदराजमा रहेका उत्पादनलाई बजारीकरण गर्न डिजीटल प्रविधि प्रयोग गर्ने सन्दर्भमा भर्चुअल प्रर्दशनी र ई–कमर्श साईटको प्राविधिक कार्य शुरु गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेशन अफ एक्स्पोर्ट एसोसियसन नेपालका अध्यक्ष पवन कुमार गोल्यानलगायतले सञ्चालित ई–कमर्श साइटको सफलताको शुभकामना दिंदै सहकार्यका लागि आफू तयार रहेको बताएका थिए । 

ई–कमर्श साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ । ई–कमर्श साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिदबिक्री डेमोमा पाँच लाख रुपियाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement