काठमाडौं महानगरले झण्डै साढे छ अर्बले बढाएर ल्यायो २५ अर्ब ४१ करोडको बजेट

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । उक्त महानगरपालिकाले शुक्रबारको नगरसभामा चालु बर्षमा भन्दा झण्डै साढे छ अर्बले बजेटको आकार बढाएर प्रस्तुत गरेको हो । 

प्रस्तावित बजेटमा कार्यालय खर्चका लागि चार अर्ब ६८ करोड बजेट छुट्याएको छ जुन कुल बजेटको २० प्रतिशत हो । त्यस्तै, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब आठ करोड  बजेट विनियोजन गरिएको छ जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत हो ।

Advertisement

गत बर्ष महानगरले चालु आर्थिक बर्षका लागि १८ अर्व ९५ करोड ७७ लाखको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट अन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत केन्द्र, प्रदेश र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपियाँको बजेट ल्याएको जानकारी दिइन । 

उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको बताए । 

डंगोलले सामाजिक विकास क्षेत्रको लागि एक अर्ब, ६२ करोड, २८ लाख, २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरेको बताइन् । उनले केन्द्र र प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको पनि बताइन् । डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९–८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन् । 

चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपियाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपियाँ र वित्तिय व्यवस्थापनतर्फ १८ करोड रुपियाँ गरी कुल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो । 
 

Advertisement

Advertisement