राम्रो हेरचाह भयो भने बुढो भए पनि दाँत झर्दैन्ः डा. खत्री, दन्त रोग विशेषज्ञ, सुमेरु सिटी अस्पताल

Advertisement

काठमाडौं । दाँत दुखाई अहिले धेरैको समस्या बन्ने गरेको छ । हाम्रो खानपान तथा हेरचाहले दाँतको सुरक्षा निर्भर रहन्छ । दाँतको हेरचाहलाई उपेक्षा गरिए जीवनभर दुःख पाइन पनि सक्ने सुमेरु अस्तालका दन्त रोग विशेषज्ञ डा. शितल खत्री बताउँछन् । 

उनले दाँतको हेरचाह नै यसलाई जोगाउने मुख्य अस्त्र रहेको बताए । खत्री भन्छन्, ‘दाँत र मानव जीवनको सम्बन्ध धेरै नजिकको सम्बन्ध हो । अन्य अंग जस्तै मानिसलाई दाँतले पनि जीवनभर साथ दिने गर्छ । वास्तवमा दाँतको कुनै आयु हुँदैन । सामान्यतया हामीले दाँत मानिसको बुढेसकालसँगै झर्छ भन्छौं । तर, यो सत्य होइन । दाँतलाई हामीले राम्रोसँग हेरचाह गर्यौ भने यसले हामीलाई हाम्रो जीवन रहुन्जेल साथ दिन्छ ।’ 

Advertisement

उनको भनाई जस्ताको तस्तैः 
दाँतको सुरक्षा कसरी गर्ने ? भन्ने कुरा मानव स्वास्थ्यसँगै जोडिने कुरा हो । दाँतको सुरक्षाका लागि यसको सरसफाई नै मुख्य मानिन्छ । हामीले गुलियो खाँदा दाँत बिग्रिन्छ भनेको पनि सुन्छौं । तर दाँत र गुलियो पदार्थमा त्यस्तो शत्रुता केही पनि छैन् । तपाईंले खाना खाएपछि राम्रोसँग कुल्ला गर्नु हुन्छ । ब्रस गर्नु हुन्छ भने गुलियो खाँदा पनि दाँतलाइ असर पर्दैन् ।

हेरचाह पुगेन भने दाँत किराले खान्छ । सबैको दाँतको आकार एकैनासकोे हुँदैन । त्यसैले खप्टिएको दाँत छ भने त्यहाँ खाने कुरा अड्किन्छन् । यही खाने कुराले पनि बिस्तार बिस्तार दाँतलाई असर गर्छ ।

मान्छेको उचाई छिटो र ढिलो बढेको जस्तै दाँत पनि ढिलो चाँडो उम्रिने गर्छ । हामीले चिरेर पनि दाँत आउने बाटो बनाउँछौं । दाँत ढिला आएमा त्यसको पनि उपचार हुन्छ ।

मुखबाट रगत आउने कारण पनि दाँतको सरसफाईसँग जोडिएको कुरा हो । त्यस्तै, मादक पदार्थ सेवन गर्दा पनि दाँतको इनामेलमा असर पर्छ । एसिड भएको खाने कुरा चाहीं दाँतको शत्रु हुन् । सकेसम्म सोडा भएको खाने कुरा पनि खानु हुँदैन् । त्यसले दाँत पहेलो बनाउने गर्छ । 
एकजना स्वस्थ मानिसले बिहान बेलुका ब्रस गर्नु राम्रो मानिन्छ । दाँत दुख्यो भनेर जथाभावी पेनकिलर खानु राम्रो हुँदैन । पहिला दुखाईको कारण पत्ता लगाउनु पर्छ र त्यसको समयमा नै उपचार गर्नुपर्छ । 

समय समयमा डाक्टरलाई दाँत जचायौं भने बिग्रिहाल्ने सम्भावना कम हुन्छ । विदेशतिर त्यसरी देखाउने चलन सामान्य भए पनि नेपालमा भने दुखाई खप्न नसकेपछि मात्रै अस्पताल जाने चलन छ । 

दाँतको उपचार गर्न नेपालमै विश्वका सबै उपकरण उपलब्ध छन् । पहिले पहिले बिरामीलाई नयाँ दाँत हाल्नु पर्दा भारतबाटै मगाउनु पथ्र्यो । तर अहिले त्यस्तो ढिलाई हुँदैन ।  यहाँ नै धेरै सुविधा पाइने भईसकेको छ । दाँतको ए क्लासको उपचार अहिले नेपालमा हुने गरेको छ ।  रोग अनुसार दाँतको उपचार महङ्गो र सस्तो हुनेगर्छ ।

दाँत धेरै हदसम्म बिग्रियो भने यसको धेरै थरी असर हुनेगर्छ । दाँतलाई जोगाउन सकियो भने यसले अनुहारको सौन्दर्य, पाचन प्रणाली, निरोगीपना बढाउन मद्दत गर्छ ।

स्वास्थ्य मन्त्रालयले पनि दन्त रोग सम्बन्धी सघाउनुपर्ने ठाउँहरु धेरै नै छन् ।  बाहिरबाट दन्त रोग पढेर आएका जनशक्तिलाई राज्यले सहयोग गर्नुपर्छ । एकजनाको दाँत भनेको पनि त यसको जीवनसँग जोडिने कुरा हो ।

मुख्य कुरा भनेको दाँतको बारेमा पढेका विद्यार्थीहरुलाई व्यवाहारिक सिकाईका लागि सरकारले राम्रो नीति ल्याउन जरुरी छ ।
 

Advertisement

Advertisement