‘नेपालमै गुणस्तरीय शिक्षा हुँदा पनि विदेशिने क्रम घटेन, सरकारले नरोके एक दिन समस्या आउँछ’

Advertisement

विदेशीस्तरकै पाठ्यक्रमनुसार नेपालको पढाइ भए पनि नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या एक दमै बढिराखेको छ । यहाँको मोटो, परिस्थिति सुहाउँदो र विदेशीस्तर​को शिक्षा नेपालकै विश्वविद्यालयअन्तर्गतका कलेजले दिइराखेको भए पनि नेपालमा स्थापित विदेशी विश्वविद्यालयअन्तर्गतका कलेजहरु जस्तो क्वालिटी दिएका छैनन भन्ने आरोप लाग्छ जसले गर्दा पनि विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएको छ । यसलाई सरकारले बेलैमा ध्यान दिएन भने अबको १० वर्षमा नेपालमा युवाको संख्या नै पाउन मुस्किल पर्ने युनिग्लोब कलेजका प्रिन्सिपल नरबहादुर विष्टको चिन्ता छ । 

काठमाडौंको बानेश्वरस्थित युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सन् २००९ देखि सञ्चालित चिरपरिचित कलेज हो । गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थहरुको नाम चल्दा अग्रपंक्तीमा नाम आउने युनिग्लोब कलेजमा बिबिए, बिबिए, बिआई र एमबिए, एमबिए (फाइनान्स) पढाइ हुने गर्दछ । नौ सय ५० विद्यार्थी अध्ययन गर्ने यस कलेजको बारे र शिक्षा क्षेत्रबारे कलेजका प्रिन्सिपल एवं प्रवन्ध निर्देशक विष्टसँग कर्पोरेट नेपालले गरेको कुराकानीः

Advertisement

युनिग्लोब कलेजमा पढेका विद्यार्थीको रिजल्ट कस्तो छ र पढाइपछि के कस्तो ठाउँमा कार्यरत छन् ?
हामीले विश्व र नेपालको परिवेशसँग मिल्दो व्यवहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिएका छौं । प्राक्टिकल शिक्षाको लागि आफ्नै कम्युनिकेशन ल्याबमा फरकखालको कार्यक्रमहरु गर्दै आएका छौं । विद्यार्थीलाई विभिन्न प्रिजेन्टेशन एनलाइसिस, केस एनलाइसिसलगायतका प्रतियोगितामा सहभागी गराउँछौं । बिजनेश मिटिङ, सेडुलिङ आदि बैंक तथा कम्पनीमा चाहिने सबै कुराहरु कलेजमै सिकाउछौं । सैद्धान्तिक शिक्षाको लागि पढेका योग्य, युनिभर्सिटीकै प्रोफेस्नल व्यक्तिहरु शिक्षक हुनुहुन्छ । पिएचडी गरिसक्नु भएको ११ जना शिक्षकहरु हुनुहुन्छ । जसले गर्दा विद्यार्थीहरुले माथिल्लो तहको रिजल्ट ल्याइराखेका छन् । यहाँको विद्यार्थीले गर्ने रिसर्च पनि एकदमै माथिल्लोस्तरको छ । मास्टरको थेसस लेख्नेले पीएचडीस्तरको रिसर्च गर्छन् । जस्तोः नेपालको बजेट कस्तो आयो, समानुपातिक वितरण भएको छ छैन आदि हेर्ने, डाटा कलेक्शन गर्ने र फिल्डमै गएर रिसर्च गरी आर्टिकलहरु तयार पार्छन् । ती आर्टिकललाई कलेजकै म्यानेजमेन्ट, इकोनोमी, फाइनान्स गरी चार थरिको जर्नलमा निकाल्छौं । कलेजले वर्षमा १६ वटा जर्नल निकाल्छ । यसबाहेक विद्यार्थीहरुको अझ स्तरीयखालको आर्टिकलहरु अन्तर्राष्ट्रिय जर्नलमा पनि पब्लिस भइराखेको छ । यसरी विद्यार्थीलाई उद्यमशीलता विकासको लागि अग्रसर गराउने, सिकाउने काम गराउछौं । व्यवसायमा कन्भर्ट गर्न सकिने खालको विद्यार्थीहरुको आइडिया छ भने त्योसँग सम्बन्धित उद्यमीहरुलाई कलेजमै बोलाएर अन्तरक्रिया गराइदिने कामसमेत गर्दै आएका छौं । जसले गर्दा यहाँका विद्यार्थीहरुले पढाइपछि आफ्नै व्यवसाय सुरु गरेका छन् । कतिपयले पढ्दापढ्दै कम्पनी रजिष्टर गर्ने या काम सुरु गर्ने गरेका छन् । यहाँका विद्यार्थीहरुको नौ वटा बिजनेश सुरु भएको छ । हाम्रो कोर्षको स्टक्चरनै त्यस्तो छ, बैंकिङ ट्रेनिङ्ग लगायतका विभिन्न प्रशिक्षण दिएर तयारी अवस्थामा बैंक, इन्स्युरेन्स तथा विभिन्न कम्पनीहरुमा काम गर्न सक्नेखालको जनशक्ति उत्पादन गर्छौ । हाम्रो करिब ७० प्रतिशत विद्यार्थीहरु बैंकमा कार्यरत छन् । त्यसमध्ये धेरैजसो नेपाल राष्ट्र, बाणिज्य आदि बैंकहरुमा म्यानेजरसम्मको पोष्टमा काम गरिराख्नु भएको छ । ११ वर्ष भयो हाम्रो विद्यार्थीहरु बजारमा जान थालेको । यि सबै कुराले गर्दा पोखरा युनिभर्सिटको माथिल्लो र्याङ्कमा हाम्रो कलेज छ । अहिलेसम्म पोखरा विश्वविद्यालयबाट टप गरेकामध्ये नौ जना त हाम्रो कलेजका विद्यार्थीहरु हुन् । एउटै कलेजबाट नौ जनाले गोल्ड मेडल पाउनु भनेको हाम्रो एकेडेमी कुन स्तरको हो अर्थात् पढाइमा अब्बल रहेछ भन्ने स्वत बुझिन्छ ।

तपाईंहरुले अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरु पनि गर्नुहुन्छ ?
हामी अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरु धेरै नै गर्छौ । धेरै खर्च भएपनि विद्यार्थीहरुको लागि कलेजमा हरेक वर्ष इन्टरनेशनल कन्फ्रेन्स आयोजना गर्छौ । त्यसमा विभिन्न देशबाट युनिभर्सिटीका विद्यार्थी, प्रोफेसर, रिसर्चरहरु आफ्नो आर्टिकल वा रिसर्च पेपर ल्याएर प्रिजेन्ट गर्ने, त्यससम्बन्धमा छलफल गर्ने आदि हुन्छ । कार्यक्रममा सहभागिताका लागि थाइल्याण्ड, पाकिस्तान, इण्डियन, बंगलादेश, युरोपियन गरी १०र१२ वटा देशका मान्छेहरु प्रत्येक वर्षमा आउनु हुन्छ । यसरी अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि अरुलाई हामीले जसरी आमन्त्रण गर्छौ उनीहरुले पनि हाम्रा विद्यार्थीहरुलाई आमन्त्रण गरिराखेका हुन्छन् । जसमा हाम्रा विद्यार्थीहरु वर्षमा दुईदेखि तीन सयको हाराहारीमा अन्तर्राष्ट्रिय भ्रमण, कन्फ्रेन्स आदिमा जाने गर्छन् । त्यस्तै, हामीले विदेशी युनिभर्सिटीमा पढाइराखेका टिचरहरुलाई हाम्रो कोर्ष पढाउनलाई गेष्ट टिचरको रुपमा आमन्त्रण गर्छौ । उहाँहरुले एक–दुई दिन मात्र नभएर पूरै कोर्ष नै पढाएर जानु हुन्छ । विद्यार्थीकै लागि भनेर चारवटा नेपाली टिचरलाई दिने तलब जत्तिकै एउटै विदेशी टिचरलाई दिएर ल्याउने गर्छौ । जसले गर्दा हाम्रा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय सम्मेलनहरुको लागि धेरै सहयोग पुर्याउछ । 

युनिग्लोब कलेजमा नेपाली टिचरको अवस्था कस्तो छ ?
हामीले दिने तलब आकर्षित नै छ । सबैले प्रशंसा नै गर्नु हुन्छ । स्तरनुुसार तलब, सुविधा राम्रो पाइराख्नु भएको छ । यहाँ फूलटाइम पढाउने टिचरले महिनाको एकदेखि डेढलाखसम्म पाइराख्नु भएको छ । 

कोभिडका कारण भएको लकडाउनको समयमा विद्यार्थीहरुलाई कसरी अध्यापन गराउनु भयो ?
लकडाउनको समयमा देशभरिका विद्यार्थीलाई अनलाइन सिस्टमबाट पढाएका थियौं । कतिपय विद्यार्थीहरु ग्रामिण भेगका भएपनि सबैकोमा इन्टरनेट पहुँच थियो । पोखरा विश्वविद्यालयमात्र त्यस्तो विश्वविद्यालय हो जसले घरमै बसिबसि पढ्न, परिक्षा लिन मिल्ने राम्रो स्तरीय सिस्टमको विकास गरेको थियो । पोखरा विश्वविद्यालयबाहेक नेपालका अरु विश्वविद्यालयअन्तर्गतका कलेजले अनलाइन कक्षा संचालन गरेपनि अनलाइनबाट परिक्षा लिने सिस्टम भने गरेका छैनन् । 

निजी कलेजमा पढाई शुल्क एकदमै महङ्गो भयो भनेर बेलाबेलामा विरोधलगायत अनेक गुनासा र समस्याहरु सुनिन्छ, देखिन्छ, सर्वसाधारणले पढ्नै नसक्ने महङ्गो छ ?
गुणस्तरीय शिक्षाको लागि खर्च त लाग्छ नै । राम्रो शिक्षकलाई तलब दिदा पनि खर्च लाग्छ नै । विद्यार्थीहरुलाई जति बढि सुविधा दियो त्यति बढि खर्च लाग्छ र खर्चनुसारको शुल्क निर्धारण हुन्छ । कुनै पनि कुरा निःशुल्क त कहि पनि हुँदैन । यदि सरकारी तबरबाट हाम्रो जस्तो गुणस्तरीय शिक्षा दिने हो भने उनीहरुको झन चार गुणा बढी लागत पर्छ । अहिले सरकारी शिक्षाको लागि अर्बौ रुपैयाँ खर्च भईराखेको छ । करबाट नगरी हाम्रो जस्तो शुल्क उठाएर खर्च व्यहोर्ने हो भने शिक्षकलाई तलब दिन पनि पुग्दैन र सरकारी विद्यार्थीहरुको शुल्कबाट आएको पैसा हराएर जान्छ । निजी कलेजले गर्ने, सोच्ने भनेको व्यक्तिव्यक्तिलाई हो । त्यसैले एक रुपैयाँ खर्च गर्दा पनि त्यो ठिक ठाउँमा गयो कि गएन भन्ने हुन्छ । सार्वजनिक विद्यालयहरुमा हेर्दा निःशुल्क देखिन्छ तर त्यसको लागत निजीभन्दा बढी भइराखेको छ । शिक्षा मन्त्रालयले अनुसन्धान गरेर पब्लिस गरेकै छ नि, निजीको भन्दा सरकारीको प्रति विद्यार्थीको खर्च दोब्बर छ भनेर । प्रत्यक्षरुपमा महङ्गो लागे पनि वृहत अर्थशास्त्री दृष्टिकोणबाट हेर्दा निजीले जे काम गर्छ त्यो सरकारीको भन्दा धेरै सस्तो गुणस्तरीय हुन्छ । तरपनि प्रत्यक्ष अप्रत्यक्ष भन्ने मात्र हो । निजीमा प्रत्यक्ष देखिने भयो, सरकारीमा अप्रत्यक्ष हुन्छ, जुन देखिदैन । एक जना विद्यार्थीलाई कति खर्च गरिएको छ भनेर सरकारी स्कुलमा देखिदैन । हुनत कतिपय निजीले पनि अनावश्यक पैसा उठाएका छन् । तर, त्यस्ता सोचका मान्छेहरु विस्तारै डुबेर जान्छन्, भोलिका दिनमा अविभावक, विद्यार्थीहरुले ठगी भइराखेको कुरा थाहा पाउछन् र हेर्दाहेर्दै त्यस्ता स्कुल बन्द हुन पुग्छन् । जुन, भएका पनि छन ।

निजी कलेजैपिच्छे विद्यार्थीहरुबाट लिइने शुल्क किन फरक पर्छ ?
एकनासको गुणस्तर छ भने शुल्क पनि एउटै हुन्छ र गुणस्तर फरक छ भने शुल्क पनि फरक पर्छ । हाम्रोमा बिहान ६ बजेदेखि साढे २ बजेसम्म एमबीएको पढाइ हुन्छ । त्यसमा थप विभिन्न सम्बन्धित गतिविधिका कार्यक्रमहरु गराइराखेका हुन्छौं । जसले गर्दा हाम्रो जस्तो कलेजहरुमा एकैखालको शुल्कहरु हुन्छ । कतिपयमा विद्यार्थीहरु कलेजै नगएपनि हुने अर्थात् बिहान एक÷दुई घण्टा पढ्दा हुने खालका हुन्छन् । एमबीए त एमबीए नै हो तर पार्टटाइममा पढ्ने भएपछि लागत पनि कम लाग्ने हुन्छ । हामीले यहाँ आठ घण्टा पढाउने शिक्षक राख्नु र दुई घण्टा पढाउने शिक्षक राख्नुमा फरक हुन्छ । काठमाडौं विश्वविद्यालय शुल्कवेस विश्वविद्यालय हो । विद्यार्थीको शुल्कबाट नै बजेट बनाइन्छ । काठमाडौं विश्वविद्यालयअन्तर्गतको र हाम्रो शुल्क एकैखालको हो । जति त्यहाँ पढ्नेले तिर्छन हाम्रोमा पनि त्यति नै तिर्छन् । 

पछिल्लो समय विद्यार्थीहरु विदेश पढ्न जाने लहर चलेको छ, यो प्रवृत्तिलाई रोक्न के गर्नु पर्छ ?
नेपालबाट विदेश गएर पढ्ने र नेपालमै विदेशी विश्वविद्यालयका कलेजहरुमा पढ्ने प्रवृत्ति अहिले नेपालमा बढिराखेको छ भने नेपालका विश्वविद्यालयहरु र नेपाली विश्व विद्यालयअन्तर्गतका कलेजहरुमा विद्यार्थीहरुको संख्या घट्दै गइराखेको छ । विदेशी विश्व विद्यालयअन्तर्गतका नेपालमा भएका कलेजहरुको संख्या पनि बढ्दै गइराखेको अवस्था छ । हामीले नेपाली विश्वविद्यालयहरुको प्रणाली, ऐन, कानुन, नियमभित्र बसेर काम गर्नुपर्छ तर यि कुनैपनि नियमहरु विदेशी विश्वविद्यालयका कलेजहरुलाई लागू छैन । नेपालमा सयभन्दा बढी विदेशी कलेजहरु छन् । २० वर्ष अगाडिदेखि संचालित विदेशी कलेज अहिले फस्टाएर आएका छन् । हाम्रा कलेजहरुलाई विद्यार्थी कक्षामा ८० प्रतिशत सहभागी भएनन भने परिक्षा दिन नपाउने, शिक्षक राख्दा मास्टर तहको योग्यलाई मात्र राख्न पाउने, कलेजहरु तीन रोपनी जग्गाभन्दा कममा खोल्न नपाइने आदि नियम र मापदण्ड रहेका छन् तर विदेशी विश्वविद्यालयअन्तर्गतका कलेजका विद्यार्थीहरुको पठनपाठनमा गुणस्तर छ÷छैन भनेर नत अनुगमन नै हुन्छ, नत नेपालको कुनै निकायको मापदण्डमा नै रहेका छन् । इण्डिया, बंगलादेशजस्ता कतिपय देशमा विदेशी विश्वविद्यालय खोल्न पाइदैन, उनीहरुले आफ्नैलाई संरक्षण गर्ने, माथि उठाउने गर्छन् तर नेपालमा भने अन्यलाई प्राथमिकतामा राखिन्छ । यसले हामीलाई मात्रै अप्ठ्यारो पर्ने होइन, सरकारलाई नै अप्ठ्यारो परेको छ । शिक्षाको नाममा विदेशी कलेजमार्फत अर्बौ डलर विद्यार्थीको शुल्कमार्फत विदेशीएको छ । यसरी विदेशी विश्वविद्यालयहरुलाई नेपालमा सम्बन्धन दिएर उसलाई आम्दानीको श्रोत बनाइदिइएको छ । नेपालबाट वर्षमा एक लाखभन्दा बढी विद्यार्थीहरु बाहिर गइराखेका छन् । नेपाली विश्वविद्यालयमा नेपाली विद्यार्थी घट्नु भनेको हामीलाई घाटा त छदैछ अर्कोतिर देशलाई शोधानान्तर घाटा भएर डलर विदेशीइराखेको छ । यसरी चार–पाँच वर्षयताको ट्रेनमा एकदमै ठूलो संख्यामा पढ्न युवाहरु बाहिर गईराखेका छन् । यसलाई बेलैमा सरकारले सोच विचार गरेर नेपालमै बस्ने वातावरण बनाउन सकेन भने नेपालमा युवाको अवस्था नै रहदैन । बाहिर जानै दिन हुँदैन भन्ने त होइन तरपनि अनावश्यक रुपमा विदेशीने खालको वाध्यतात्मक वातावरणलाई रोक्नु पर्छ । कतिपय विदेशका कलेज नेपालको जस्तो गुणस्तरीय छैन तरपनि विद्यार्थीहरु विदेश पढ्ने वाहानामा गइराखेका छन् ।  

निजी स्कुलरकलेजको आम्दानीको केही प्रतिशत विपन्न विद्यार्थीको लागि भनेर काठमाडौं महानगरपालिकाको शिक्षा कोषमा राख्ने नियम लागू गर्ने भनिएको छ, यो ठिक हो ?
सक्नेले नसक्नेलाई सहयोग गर्नु भनेको राम्रो कुरा हो, यो नियम प्राय विकसित देशहरुमा हुन्छ । तर, यो नीतिको सही सदुपयोग हुनुपर्यो र यसमा हाम्रो सहयोग नै रहन्छ । शिक्षा क्षेत्रमा धेरै नाफा हुन्छ भन्ने मान्छेको सोच छ । तर, नेपालमा भएका धेरैजसो निजी स्कुल, कलेजहरु ७० देखि ८० प्रतिशत घाटामा छन् । बाहिरबाट हाइफाई देखिए पनि भित्र खर्च धान्न नसक्ने अवस्था छ । राजनीतिक नेता, सर्वसाधारणको सोचमा निजी स्कुल कलेजले हजारौं विद्यार्थीबाट करोडौं पैसा उठाउछ, कमाउछ, खान्छ भन्ने छ । तर त्यस्तो होइन, प्रायले २० प्रतिशत नाफामा चलाइराखेका हुन्छन् । यस्तो अवस्थामा फेरि सरकारले पाँच प्रतिशत कर उठायो भने त्यो पैसा फेरि अभिभावकलाई नै मार पर्ने हो । हाम्रो आम्दानीको श्रोत विद्यार्थीको शुल्क हो र त्यही शुल्कबाटै हामीले सबै खर्चको व्यवस्थापन गर्नुपर्छ । त्यसैले सरकारले हामीसँग थप शुल्क उठाउनु भनेको विद्यार्थीहरुको शुल्क बढ्नु हो । शिक्षा निःशुल्क हुनु, कम पैसामा गुणस्तर हुनु भनेको एकदमै राम्रो हो । यो विषयलाई लिएर मेरो कलेज घाटामा छ भन्ने सोच राख्नु हुँदैन । यस्ता नीति विस्तारै विस्तार हुँदै जानु पर्छ, जसले देशनै समृद्धि हुने हो । सार्वजनिक शिक्षालाई सबलिकरण गरी निजीलाई निरुत्साही गर्ने सरकारको नीति धेरै राम्रो छ । सरकारले नै राम्रो शिक्षाको विकास गरे स्वत देश विकास हुने र देशमा जताततैबाट आम्दानीको श्रोत खुल्ने हुन्छ । तर, हाम्रोमा भनिन्छ मात्रै सफल हुँदैन । 

Advertisement

Advertisement