एलन मस्क ४४ अर्ब डलरमा ट्विटर खरीद गर्ने सम्झौताबाट पछि हटेपछि ट्विटरले मुद्दा हाल्यो

Advertisement

एजेन्सी । विश्वका धनाड्य तथा चर्चित गाडि निर्माता कम्पनी टेस्लाका प्रमुख एलोन मस्क सामाजिक सञ्जाल ट्विटर किन्ने निर्णयबाट पछि हटेपछि समस्या सिर्जना भएको छ । ट्विटरका अध्यक्ष ब्रेट टेलरले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता लागू गराउन मस्कविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेका छन् । 

ट्वीट गर्दै टेलरले यसअघि मस्कसँग भएको सर्त अनुसार उक्त कारोबार सम्पन्न गर्न ट्विटर प्रतिबद्ध रहेको बताउँदै मस्कलाई पनि सम्झौता कार्यान्वयन गराउन मुद्दा दायर गर्ने बताएका हुन् । मस्कले यसअघि नै ट्विटर खरीदबाट पछि हटेको बताएका थिए । 

Advertisement

खरीद बिक्रीमा विवाद भएपछि ट्विटरको शेयर मूल्य ७ प्रतिशतले घटेको छ । उक्‍त खरिद विवादको कानुनी लडाइँ जटिल र लामो हुनसक्ने ठानिएको छ । प्रारम्भिक खरिद् सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने शर्त राखिएको थियो ।

गएको महिना मस्कले आफूले ट्विटरमा रहेका नक्कली र स्प्याम खाताबारे विवरण कुरिरहेको भन्दै उक्त सम्झौता अस्थायी रूपमा यथास्थितिमा राखिएको बताएका थिए । उनले कम्पनीले दाबी गरेजस्तै कूल प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम त्यस्ता खाताहरू रहेको पुष्टि हुने प्रमाण दिन ट्विटरलाई आग्रह गरेका थिए । 

अमेरिकी धितोपत्र नियामक युएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई लेखेको पत्रमा मस्कका वकिलहरूले ट्विटर त्यस्तो सूचना दिन विफल भएको वा नचाहेको बताएका थिए । वकिलहरुले मस्कको आग्रहअनुसारका विवरणहरु दिन नमानेको र कतिपय कुराको औचित्य पुष्टि गर्न नसकेको तर आफूहरुले भने शर्त पालना गरिरहेको बताएका थिए । 

नक्कली खाताहरू ठूलो सङ्ख्यामा मानिसहरूलाई सूचना फैलाउने लक्ष्य सहित खोलिएको र उनीहरूले सञ्जालमा हुने अन्तरक्रियालाई आफ्नो अनुकूल प्रभावित पार्ने काम गर्ने मस्कको भनाई छ । ट्विटरले भने आफूले प्रत्येक दिन झन्डै १० लाख त्यस्ता खाता मेटाउने गरेको बताएको थियो ।

एलोन मस्कले ट्विटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भनेर सूचना लिन चाहेको लामो समय भइसके पनि कम्पनीले दिन आनाकानी गरेपछि मस्क खरीद प्रक्रियाबाट पछि हटेका हुन् । ट्विटरमा चासो देखाएपछि टेस्लाको शेयर मूल्य पनि उल्लेख्य रूपमा घटेको छ।

Advertisement

Advertisement