अदालतले आदेश दिँदा पनि ग्राण्डी अस्पतालद्धारा ज्योति समूहलाई रकम दिन आनाकानी

Advertisement

काठमाडौं । नयाँ बसपार्कमा भएको अर्बौं रुपियाँ भ्रष्टाचारमा मुछिएका ग्राण्डी अस्पतालका अध्यक्ष दीपक कुँवर र उनको समूहले अदालतको आदेश अटेर गर्दै ज्योति समूहलाई तिर्न बाँकी ठूलो रकम दिन आनाकानी गरेको छ । 

अस्पताल नाफामा हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर कुँवर समूहले ज्योति समूहलाई लामो समयदेखि रकम दिन आलटाल गर्दै आएको हो । उक्त विवादमा अस्पताल सञ्चालक समिति र व्यवस्थापनले बदमासी गरेको ठहर गर्दै अदालतले अस्पतालको बैंक खाता नै रोक्का गरेको छ । अस्पतालमा ज्योति समूहको २५ प्रतिशत शेयर स्वामित्व रहेको छ भने ज्योति समूहलाई तिर्न बाँकी रकम एक अर्ब ५० करोड रुपियाँ नाघ्दा पनि रकम तिर्न आनाकानी हुँदै आएको छ ।  

Advertisement

कुँवर समूहले एकलौटी गर्न थालेसँगै विवाद सुरु भएपछि ज्योति समूहका डा. रुप ज्योतिलाई अस्पताल सञ्चालक समितिबाट जबरजस्ती हटाइएको थियो । ज्योति समूहले आफूलाई उपेक्षा गर्न थालेपछि अस्पतालमा भएको आफ्नो शेयर लगानीसँगै ऋण र त्यसको ब्याज फिर्ता माग्दै आएको थियो । तर रकम दिन अस्पताल कब्जा गरेको समूहले आनाकानी गरेपनि ज्योति समूह बाध्य भएर अदालत गएको थियो  । 

ग्राण्डीको योजनाकार तथा शेयरहोल्डर डा. चक्रराज पाण्डे र अर्का मुख्य लगानीकर्ता डा. ज्योतिबीच सम्वन्ध बिग्रिएसँगै विवाद सुरु भएपछि उक्त समूह मिलेर ज्योतिलाई एक्लाउने र रकम पनि नदिने रणनीति बनाएको थियो । रुप ज्योतिले अस्पतालको सेवालाई प्रभावित पार्ने वा बन्द गर्ने आफ्नो कुनै उद्देश्य नरहेको र बैंक खाता रोक्का गर्ने काम अदालतबाट भएको बताउँदै आफूले पाउनुपर्ने रकम नदिएपछि न्यायका लागि अदालत जानुबाहेक आफ्नो अर्को विकल्प नरहेको बताएका छन् । 

अहिलेको सञ्चालक समितिको नेतृत्व गरिरहेका कुँवरले भने अस्पताल बन्द गराउन ज्योति समूह लागेको जिकिर गर्दै आएको छ । तर ज्योति समूहले गरेको २५ लगानी र ठूलो कर्जा सापटीका सम्वन्धमा भने सो समूह खुल्न चाहेन् । कुँवर नयाँ बसपास सञ्चालनको जिम्मा पाएको लोच्छे बहुउद्देश्यीय संस्थाको अध्यक्षसमेत हुन् । उक्त कम्पनीले काठमाडौं महानगरपालिकाबाट अनधिकृतरुपमा ४५ बर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको छ भने नयाँ बसपार्क लागि छुट्टाइएको १८० रोपनी जग्गामध्ये झण्डै आधामा व्यापारिक कम्प्लेक्सदेखि होटलहरुसम्म निर्माण गरेर महिनामै करोडौं रकम भाडा अशुल्ने काम गर्दै आएको छ । साथै, नयाँ बसपार्कलाई कुरुप बनाएको, प्रतिवद्धताअनुसार बगैंचाहरु निर्माण नगरेको आरोप पनि कुँवरमाथि लाग्दै आएको छ । जापानी सहयोग संस्था जाइकाले निर्माण गरेको उक्त नयाँ बसपार्क तत्कालिन नेपाल सरकारलाई हस्तान्तरण गर्दा यसरी भाडामा सञ्चालन गर्न निजी क्षेत्रलाई नदिने प्रतिवद्धता गरिए पनि लोच्छेले हात पारेको हो । 

नयाँ बसपार्कमा अर्बौं रुपियाँ भ्रष्टाचारको गरेको भन्दै विवादमा मुछिएका कुँवर यतिबेला ग्राण्डी अस्पतालको अध्यक्ष छन् । उनको समूहलाई राजनीतिक संरक्षण भएकाले पनि ज्योति समूहलाई रकम दिनुको सट्टा पेलेर जाने रणनीतिमा पाण्डे र कुँवर समूह देखिन्छ । 

डा. रुप ज्योतिले भने आफूले लगानी गरेको रकमभन्दा ब्याज नै धेरै भइसकेको र कहिले मुद्दा विचाराधिन भएको नाममा, कहिले मेलमिलापको नाममा समय गुजार्ने र रकम दिन आनाकानी गर्ने काम गरिएको बताए । उनले भने, ‘अस्पताल सञ्चालन गर्न रकम पुगेन भन्दै पटक पटक पैसा लैजाने काम भयो । एक पैसा मैले पाएको छैन् । यही बीचमा मलाई सञ्चालक समितिबाट पनि षडयन्त्रपूर्वक हटाउने काम भयो । यो ढंगले काम गरेपछि म चुप लागेर कसरी बस्ने ? कानुनी उपचारबाहेक अर्को विकल्प थिएन् । त्यही भएर अदालत गएको हो । अदालतले रकम फिर्ता गर्न आदेश दिएको छ । त्यो आदेश अटेर गरेपछि अदालतले नै बैंक खाता रोकिदिएको हो । मलाई अन्याय भएको देखेर कागजपत्र हेरेर नै जिल्ला अदालतदेखि उच्च अदालतबाट यस्तो आदेश भएको होला ।’ तल्लो अदालतहरुको आदेशविरुद्ध कुँवर र पाण्डे समूह अहिले सर्वोच्च अदालत गएको छ । 

अदालतको आदेशअनुसार ग्राण्डीबाट ज्योति समूहको रकम अशुली प्रक्रियामा गइसकेकोले ग्राण्डीका सञ्चालकहरुले जतिसुकै षडयन्त्र गरे पनि वा समय लम्ब्याउने प्रयास गरे पनि अब अर्थ नरहेको डा. ज्योतिको भनाई छ । उनले भने, ‘ग्राण्डीका सञ्चालकहरुको व्यक्तिगत आचरण मेरो चासोको कुरा होइन् । सरकारले हेर्ने कुरा हो । मैले यतिबेला आफूमाथि अन्याय गरिएकाले आफूले नियमानुसार पाउने रकम विना शर्त पाउनुपर्छ भन्ने मात्रै हो । मलाई अहिलेसम्म जति दुःख दिए पनि त्यो बिर्सिन चाहान्छु । अस्पताल राम्रो होस्, जनताले गुणस्तरीय र सर्वसुलभ सेवा पाउन भन्ने मेरो पनि शुभेच्छा छ ।’ 

ज्योतिले थपे, ‘उनीहरुले पैसा लिएको र अस्पतालले प्रयोग  गरेको स्वीकार गरेको छ । पैसा मैले बैंकमा जम्मा गरिएको रेकर्ड छ । तर तिर्न चाहीं नखोज्ने । खाइदिन खोज्ने । दश बर्ष भइसक्यो । सावाँ लिएपछि ब्याज त तिर्नुपर्यो नि । मैले पनि दुःख गरेर कर तिरेर कमाएको पैसा र ऋण खोजेर दिएको पैसा हो । एक पैसा दिएको छैन् । यसमा मैले होइन्, उनीहरुले नै अस्पताललाई संकटमा पार्ने काम गरेको हो ।’ कपाली तमसुकको म्याद  १० बर्षभन्दा नहुने तर ग्राण्डीले दशौं बर्षसम्म रकम नदिएर झुलाउने चलाखी गरेको बुझेपछि आफूले बेलैमा अदालत जान बाध्यता भएको बताउँदै ज्योतिले अदालत नजाने हो भने मेरो कहिले पनि नउठ्ने अवस्था थियो  भने । 

उनले अब अस्पताल सञ्चालन गर्नेहरुसँग रकम तिर्नुको विकल्प नरहेको बताउँदै नतिरे अदालतले उनीहरुमाथि आवश्यक कारवाही गरेर रकम अशुल्ने बताए । ज्योतिले भने, ‘मैले आफूले जन्माएको अस्पताल, बन्द होस्  भन्ने कहिले पनि थिएन् । मैले लामो समय प्रतिक्षा गरें । आग्रह गरें । जतिबेला अस्पताललाई रकम पुगेन भनियो, त्यतिबेला सुरुसुरु लगेर दिएँ । जब उनीहरुको नियत खुल्न थाल्यो,  त्यसपछि पैसा फिर्ता मागेको हो ।’ गत बर्ष ग्राण्डी अस्पतालले १५ करोड रुपियाँ नाफा गरेको थियो । अहिले ज्योतिले माग गरेको रकम आफूले लगानी गरेकोमध्येबाट २० करोड मात्रै हो । अरु रकमको लागि अदालतको निर्णय आउन बाँकी छ । ‘उनीहरुको नियत के देखिन्छ भने अल्पताल  बन्द गर्ने र रुप ज्योतिले बन्द गर्यो भनेर मलाई बदनाम गर्ने’, उनले भने । 
 

Advertisement

Advertisement