अनुमतिविना ड्रोन नउडाउन उड्डयन प्राधिकरणको चेतावनी

Advertisement

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमतिविना ड्रोन उडान नगर्न चेतावनी दिएको छ। केही दिनयता हवाई रुटहरूमा असर पुग्ने गरि ड्रोन उडान भएको भन्दै उसले यस्तो चेतावनी दिएको हो।

ड्रोन उडान गर्न प्राधिकरणमा दर्ता गर्नुपर्ने प्रावधान छ। गृह मन्त्रालयले यसको नियमन गर्न मानव रहित हवाई उपकरण उडान सम्बन्धि कार्यविधि समेत जारी गरिसकेको छ। ड्रोनको उडान १५ मिनेटसम्म, ३०० मिटरको रेञ्‍जमा १०० मिटरसम्मको उचाईसम्म गर्न पाइने व्यवस्था छ। 

Advertisement

त्यस्तै दुई किलोभन्दा बढी ड्रोनको तेस्रो पक्ष बीमा समेत गर्नुपर्ने प्रावधान छ। अनुमतिविना ड्रोन उडान गरे कारबाही गर्ने प्राधिकरणले जानकारी दिएको छ।  

सरकारी नियम विपरित ड्रोन उडाएको खण्डमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनसक्छ । अनुमति नलिई ड्रोन उडान गरेको खण्डमा अनधिकृत ड्रोन जफत गरिने व्यवस्था ड्रोन सम्बन्धी कार्यविधिमा छ ।

साथै ड्रोन उडानबाट कुनै व्यक्तिको गोपनीयताको हक हनन भएको खण्डमा वा वैयक्तिक रुपमा क्षति पुगेको भए पीडित पक्षको निवेदनमा कानून अनुसार कारबाही हुन सक्छ ।

नेपालको कानून अनुसार ड्रोन उडान गर्न जोकसैले भने पाउँदैन । यसका लागि १८ वर्ष उमेर पुरा गरेको र रेडियो फ्रिक्वेन्सी सम्बन्धी आधारभूत ज्ञान तथा तालिम प्राप्त गरेको हुनुपर्दछ ।

साथै उडान उपकरण सम्बन्धी आधारभूत ज्ञान समेत हुन आवश्यक छ । व्यवसायिक रुपमा ड्रोन उडान गर्न चाहने व्यक्तिको योग्यता पुगेको वा नपुगेको विषयमा नागरिक उड्डययन प्राधिकरणले मूल्याङ्कन र परीक्षण गर्ने व्यवस्था गरिएको छ । 

Advertisement

Advertisement