प्राधिकरण सस्तोमा इण्डियालाई बिजुली बिक्रीमा रमाउँदै, उदयपुर सिमेन्ट बिजुली अभावले बन्द

Advertisement

काठमाडौं । एसियाकै ठूलो मध्येको एक अर्थात् नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग विद्युत अभावका कारण  बन्द भएको छ । 

उदयपुरको त्रियुगा नगरपालिकास्थित उक्त उद्योगका सूचना अधिकारी लक्ष्मणप्रसाद पोखरेलले दैनिक ८५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योग बन्द हुँदा दैनिक एक करोड रुपियाँ घाटा व्यहोर्नु परेको बताए । 

Advertisement

बिजुलीका कारण करिब तीन हप्तादेखि बन्द उदयपुर सिमेन्ट उद्योगले ठूलो नोक्सान भोग्नुपरेको पोखरेलले बताए । उनले भने, ‘चट्याङले ट्रान्सफर्मरलाई हानेकाले यही असार ९ गतेदेखि नै विद्युत आपूर्ति बन्द भएको हो । हप्ता दिनमा बनिसक्छ भनिएको थियो । तर बनाइएन् । अरु कारण नभएर बिजुलीको कारणले हाल उद्योग बन्द हुँदा ठूलो घाटा व्यहोर्नु परेको छ ।’ 

उदयपुर सिमेन्ट उद्योग पूर्णरुपमा संचालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्छ । अहिले उद्योगले अन्तबाट दुई मेगावाट बिजुली आपूर्ति गरिराखेको छ । त्यो २ मेगावाट बिजुली बत्ति बाल्नका लागि खर्च भइरहेको छ । लहानस्थित टावरमा चट्याङ लागेपछि उद्योगमा विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट २ मेगावाट बिजुली आपूर्ति गरिएको हो । नेपाल विद्युत प्राधिकरण भने अहिले भारतमा सस्तो दरमा केही बिजुली निर्यात गरेकोमा रमाउँदै आएको छ । उद्योगीहरुले विजुली निर्यात नगर्न र उद्योगहरुलाई बरु सहुलियत दरमा दिएर उत्पादन बढाउन सहयोग गर्न आग्रह गर्दै आए पनि प्राधिकरणले सुनुवाई गरेको छैन् । साथै, विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहित गरेर बिजुली खपत बढाउने र ठूलो इन्धन आपूर्ति घटाउने कुरामा पनि प्राधिकरण उदासिन देखिएको छ । 

उदयपुरले गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ जसको निकै माग गरेको छ । उद्योगले चालु आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा भनेजति सिमेन्ट उत्पादन गर्न नसकिने भएको पोखरेलले बताए । उनले हालसम्म २१ लाख बोरा सिमेन्ट भने उत्पादन भइसकेको बताए । लक्ष्यलाई भेट्टाउन अझै तीन लाख बोरा उत्पादन गर्नुपर्ने हुन्छ । तर, बिजुली बन्न अझै एक हप्ताभन्दा बढी समय लाग्ने र सो समयसम्म नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले उद्योगले लिएको उत्पादनको लक्ष्यलाई भेट्टाउन नसक्ने निश्चित छ । 

उता, उद्योगका पूर्वअध्यक्ष अक्रुर खड्काले बिजुलीको कारणले तीन हप्तादेखि उदयपुर सिमेन्टको उत्पादन बन्द भएकाले देशलाई ठूलो नोक्सान भएको बताए । उनले सरकारी स्वामित्वको उद्योग संचालनमा सम्बन्धित निकायले चाँडोभन्दा चाँडो ध्यान पुर्याउनु पर्ने बताए । 

Advertisement

Advertisement