गाडि आयातमा फेरि प्रतिवन्ध लगाइन्छ भन्ने सोचेकै थिएनौंः थापा, नाडा शो स्थगित हुने

Advertisement

काठमाडौं । गत बैशाख दोस्रो हप्तादेखि आयातमा लगाइएको प्रतिबन्धलाई लम्ब्याउँदै १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल आयातमा रोक लगाइएकोमा अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले असन्तुष्टि पोखेको छ । 

यसअघि बैशाखमा गाडि आयातमा लगाइएको प्रतिबन्ध असार मसान्तसम्मका लागि तोकिएको थियो । असारपछि पूर्ववतरुपमा गाडीको व्यवसाय गर्न पाइने आशामा रहेका अटोमोवाइल व्यवसायीहरु सरकारको पछिल्लो निर्णयबाट निराश भएका छन् । 

Advertisement

गाडी आयातमा यसअघिको निर्णयमा थप कडाइ गर्दै सरकारले १५० सीसीदेखि माथि क्षमताका मोटरसाइकलको आयातमा समेत पूर्ण प्रतिबन्ध लगाउनुका साथै पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको एलसी प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ । तरलतासँगै विदेशी मुद्राको संकुचनका कारण दबाबमा रहेको सरकारले संभावित आर्थिक संकटबाट जोगिन भन्दै आयातमा कडाई गर्दा अटोमोवाइललगायतका व्यवसायी मारमा परेका हुन् । 

सरकारले सबै किसिमका कुरकुरे, कुर्मुरे जस्ता खाद्यवस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सुर्तीजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, तास, तीन सय डलर माथिका मोबाइल फोन र सबै प्रकारका खेलौनाको आयातमा समेत प्रतिबन्ध लगाएको छ । 

नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोवाइल क्षेत्रमा पुनः प्रतिबन्ध लगाइन्छ भन्ने कुरा आफूहरुले सोच्दा पनि नसोचेको बताए । उनले भने, ‘आजदेखि खुल्छ भन्ने नै थियो । प्रधानमन्त्री, मन्त्रीज्यूहरुको आश्वासन पनि त्यही थियो । आयातमा कडाई गर्दा राजश्वमा पनि ठूलो कमी आइराखेको छ भन्ने उहाँहरुको भनाइ थियो । तर, देशकै सबैभन्दा ठूलो ‘नाडा अटो शो’लाई समेत असर हुनेगरी पुनः प्रतिबन्ध गरियो ।’ 

थापाले आगामी भदौ ६ देखि १२ गतेसम्म हुने भनिएको ‘नाडा अटो शो सरकारको पछिल्लो निर्णयले स्थगित हुने बताए । देशकै ठूलो प्रदर्शनी र आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत गर्ने अटो शो बन्द हुने स्थिति आउने दुखद हो भन्दै उनले भने, ‘अब अटो शो हामीले स्थगित गर्ने क्रममा सल्लाह गर्दैछौं । किनभने आयात भदौं १५ गतेदेखि खुलेपछि मंसिरमा गाडी आइपुग्छ । अहिले अटो शो गर्नलाई हामीसँग सवारी साधन पनि छैन् । त्यसैले अटो शो गर्ने सम्भवै हुँदैन ।’ 

उनले बर्षमा भदौ, असोज, कार्तिक सबैभन्दा बढी सवारी साधन बिक्री हुने महिना हो भन्दै यी महिनामा कूल आयातको झण्डै ४० देखि ४५ प्रतिशत गाडी, मोटरसाइकलको बिक्री हुने गरेको बताए ।

लामो समयको प्रतिवन्धले गर्दा बैंक वित्तीय संस्थाले खुलेर सवारी साधन किनबेच गर्न नपाएको गुनासो गर्दै थापाले थपे, ‘पहिला हामीले अर्डर गरेपछि उनीहरु (निर्यातकर्ता)ले गाडी मोटरसाइकल बनाउन सुरु गर्थे र तयार भयो भनिसकेपछि हामीले एलसी खोल्थ्यौं । अहिले एलसी खोलेपछि अर्डर गर्नुपर्छ । बल्ल उनीहरुले अर्डर अनुसार बनाउन सुरु गर्छन् । अहिलेको प्रतिबन्ध भदौ १५ गते पछाडी खुलेपछि अर्डर अनुसारका गाडी आदि बनाइसकेर नेपाल पठाइसक्दा मंसिर लाग्छ जुन बेला सिजन अफ भइसक्छ । त्यसले गर्दा अहिले हामी व्यवसायीलाई ठूलो असर परेको छ ।’

उनले यस पटकको प्रतिबन्धले अटोमोबाइलका शोरुम, सर्भिस सेन्टर आदि सबै बन्द गर्ने स्थितिमा पुगेको बताए । अब सरकारी तथा संस्थानलगायतका सवारी साधनलाई सेवा पुर्याउन नसक्ने अवस्थामा रहेको थापाको भनाई छ । उनले भने, ‘हाम्रो मात्रै वस्तु आयातमा किन रोकावट हुन्छ ? हाम्रो भन्दा विलासिताको वस्तुहरु धेरै छन् । तिनीहरु चाहीँ रोकिदैन । सवारी साधनलाई विलासिताको वस्तु, अनुत्पादक क्षेत्र भनेर आयात बन्द गरिराखिन्छ । प्रतिबन्ध गरिएका कुरकुरे, कुर्मुरे, चुरोट, मदिरा आदि वस्तुहरु सबै नेपालमा उपलब्ध छन् ? यी सबै अनौपचारिक माध्यमबाट जति पनि आइराखेको छ यस्ता चिज नेपालमा कतै कमी भएको देख्नु भएको छ ? यी सबै सरकारलाई भन्सार नबुझाई अनौपचारिक माध्यमबाट आइराखेको छ । तर, सवारी साधन त्यसरी ल्याउन सक्ने अवस्था हुँदैन् । औपचारिक विधिबाट आउछ । त्यसैले, सवारी साधनलाई सधैं विलासिताको वस्तुको रुपमा राख्ने, सधैं आयात रोक्ने गर्नु भएन ।’ 

अध्यक्ष थापाले आगामी भदौ १५ गतेपछि पनि प्रतिबन्ध हट्ने कुराको कुनै भरोसा नरहेको बताउँदै सोही कारण नेपालका कम्पनीलाई विदेशी कम्पनीले विश्वास गर्ने वातावरण पनि नरहेको बताए । हालको प्रतिबन्धले शोरुमहरु बन्द गरेर कर्मचारीहरुलाई बिदा गर्नुपर्ने अवस्था रहेको उनले बताए । थापाले प्रत्यक्ष रोजगारी पाइराखेका एक लाखभन्दा बढी बेरोजगारी हुने निश्चित भएको दावी गरे । 

उनका अनुसार नेपालमा १० हजारभन्दा बढी स्पेयर्स पार्टस पसलहरु रहेको र शोरुम, सर्भिस सेन्टरहरु पनि धेरै भएकाले सरकारलाई सबैभन्दा बढी राजश्व योगदान गर्ने क्षेत्र अटोमोवाइलको आयात प्रतिबन्धले धरासायी हुने निश्चित भएको बताए । 

Advertisement

Advertisement