बीमा गर्नुभन्दा बैंकमा पैसा राख्नुपर्ला जस्तो लाग्योः श्रेष्ठ, भवितव्य पर्दा पैसा चाहिन्न ? – सिलवाल

Advertisement

काठमाडौं । नयाँ बीमा निर्देशिकामा तोकिएको बीमाशुल्कलाई लिएर पछिल्लो समय निर्माण व्यवसायीहरु बीमा समितिसँग रुष्ट छन् । विगतमा चलिरहेको नन ट्यारिफ दर गुणात्मक वृद्धि गरिएको भन्दै उनीहरुले समितिविरुद्ध आन्दोलनको चेतावनी दिँदै आएका छन् । 

बीमाशुल्क वृद्धि गरिएकोमा विकास आयोजनाका प्रमुखहरु पनि सन्तुष्ट देखिन्नन् । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले एकै पटक चार गुणाले शुल्क वृद्धि गर्नु उचित नभएको बताए । 

Advertisement

उनले भने, ‘जलविद्युतका तटहरु उच्च जोखिमा हुने भएकाले हामीले बीमा गर्नैपर्छ । जलविद्युत कम्पनीले बीमा अहिले मात्र होइन पहिलेदेखि गर्दै आएका छन् । तर नियामक भएकाले बीमा समितिले एकै पटक चार गुणा बीमाशुल्क वृद्धि गर्दा यो चाहीं आयोजनाको हितमा भएन ।’ श्रेष्ठले बीमा बजारलाई समितिले सही ढंगबाट विस्तार गर्नुपर्ने बताउँदै नियामक व्यवसायी वा बीमा कम्पनी कोही पक्षीय बन्न नहुने बताए । 

उनले माथिल्लो तामाकोशीले मात्रै बीमाशुल्कवापत वार्षिक १२ करोड रुपियाँ बीमाशुल्क बुझाउँदै आएकोमा समितिले नयाँ निर्देशिका जारी गरेसँगै बढेर ४८ करोड पुगेको गुनासो गरे । 

अहिले आधा अर्ब रुपियाँ बीमालाई बर्षेनी बुझाउने कि बीमा नै नगरी त्यो पैसा बचाउने ? भन्ने दोधारमा जलविद्युत कम्पनीहरु रहेको सीईओ श्रेष्ठदे बताए । 

यस्तो छ समितिका अध्यक्षको तर्कः 
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफूहरुले व्यवसायी तथा आयोजनाहरुको समेत हकहित हुने किसिमले निर्देशिका जारी गरेको दावी गरे । उनले भने,‘ आउनुस् ! जलविद्युत व्यवसायीहरुलाई हाम्रो स्वागत छ । तपाईंहरु आएर मेरो प्रवक्तासँग आफ्नो कुरा राख्नुस् । कुरा गर्नुुस् । जुन चार गुणा पैसा बढाइयो भन्ने सवाल छ, बीमा क्षेत्रले पनि त १५७ प्रतिशत भन्दा बढी क्लेम तिर्नुपर्छ ।’ 

सिलवालले आफूहरुले चाहेको कुनै पनि बीमाको पुनर्बीमा हुनुपर्छ भन्ने हो भन्दै यो जलविद्युतको बीमाको पनि पुनर्बीमा गर्नुपर्ने भएकाले शुल्क बढेको बताए । उनले भने, ‘भोलि भवितव्य हुँदा कम्पनीले सरक्क पैसा दिन सक्नुपर्छ भन्ने हाम्रो सोचाई हो । हामीले कसैलाई पनि मार्न खोजेको होइन । बचाउन खोजेको हो ।

कसैको मूल्य बढाउने वा घटाउने हाम्रो काम होइन भन्दै सिलवालले थपे, ‘कसैले धेरै मूल्यको बीमा व्यवसाय गरेको हुनसक्छ, कसैले कम मूल्यको हुनसक्छ । त्यो त फेरि ग्राहकले छान्न पाउने अधिकार पनि छ त ।’ 

यता जलविद्युत कम्पनीहरुले आफूहरुको पुनर्बीमा लामो समयदेखि रोकिएको सुन्दा कार्टेलिङ सुरु भएको आशंका गरेका छन् भने बीमा समितिले भने व्यवसायीहरुले ठूला कूरा गर्ने र बीमालाई राजनीतिक विषय बनाउने प्रयास थालेको बताएको छ । 

Advertisement

Advertisement