यु–२० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालद्वारा माल्दिभ्स ४-० ले पराजीत

Advertisement

काठमाडौँ । भारतमा सोमवारबाट शुरु भएको साफ यु–२० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । 

भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सबिरुद्ध शानदार प्रदर्शन गर्दै सुखद् शुरुवात गरेको हो । 

Advertisement

खेलको शुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांस समय बलमा पकड  जमाएपनि गोलको खाता भने ४२ औं मिनेटमा मात्र लिएको थियो । नेपालका दीपेश गुरुङले ४२ औं मिनेटमा माल्दिभ्सका गोलकिपरबाट फर्किएको रिबाउन्डमा १८ यार्ड बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । 

शुरुवातमा  अग्रपंक्तिमा तालमेल अभाव देखिएको खेलमा आधा घण्टाको खेलपछि नेपाली टोलीले  दबाब राखेको थियो । पहिलो हाफको अग्रतापछि दोस्रो हाफमा उच्च मनोबलका साथ खेलेको नेपालले  दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । सोही क्रममा ५८ औं मिनेटमा सुगम  सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिसरन्त छुन्जुले मैदानको  मध्यभागबाट निकालेको बललाई गोलमा परिणत गरेका थिए । 

६२ औं मिनेटमा नेपालका  कप्तान आयुस घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा कृतिसरत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३–० मा  पुर्याएका थिए । 

यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४–० को जित निश्चित गरेको हो । यससँगै नेपालले प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । शुरुवाती दुई  संस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई  सुम्पिएको थियो । 

प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई  २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि  प्रतिष्पर्धा गर्नेछन् ।

Advertisement

Advertisement