पर्यटन पुनःरुत्थान अभियानः पाटा नेपालले थाइल्याण्डमा नेपाल सेल्स मिसन आयोजना गर्ने

Advertisement

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा यही साउन १६ गतेअर्थात् अगष्ट १ तारिखका दिन ‘नेपाल सेल्स मिसन–२०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोभिड महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानलाई सहयोग पुर्याउने उद्देश्यले पर्यटन प्रवद्र्धनार्थ सेल्स मिसन आयोजना गर्न लागिएको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), थाइ ट्राभल एजेन्ट्स एशोसिएशन, एसएस ग्रुप थाइल्याण्ड र जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिजको सहकार्यमा बैंककस्थित रेमब्राण्डट होटलमा आयोजना हुने सेल्स मिसनमा नेपालबाट पाटा नेपाल च्याप्टरसँग आबद्ध १५ सदस्यका २० पर्यटन व्यवसायी एवम् प्रोफेशनलले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ । साथै ४० भन्दा बढी थाइ ट्राभल एजेन्ट्स तथा टूर अप्रेटर्स, मिडिया तथा थाइल्याण्ड पर्यटन सम्बद्ध सरोकारवालाले समेत सहभागिता जनाउने छन् ।

Advertisement

नेपाल सेल्स मिसनको प्रमुख अतिथिमा थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाल प्रमुख अतिथि रहने र पाटा अन्तर्राष्ट्रियका सिइओ लिज ओर्टिगेराले विशिष्ट अतिथि तथा प्रमुख वक्ताका रुपमा सहभागिता जनाउने पाटाले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आइसकेको परिवेशमा बुद्धिष्ट पर्यटनको ठूलो बजार थाइल्याण्ड र नेपालबीचको पर्यटन सम्भाव्यता थप उजागर गर्न तथा नयाँ अवसरको प्रवद्र्धन गर्न नेपाल सेल्स मिसन एउटा उत्कृष्ट मञ्च हुने विश्वास रहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बताए । 

त्यसैगरी नेपाली डेलिगेशनले अगष्ट २ देखि ४ सम्म थाइल्याण्डको सोङखलामा आयोजना हुने ‘छैटौँ पाटा डेष्टिनेशन मार्केटिङ फोरम’ मा समेत सहभागिता जनाउने पाटा नेपालको विज्ञप्तिमा जनाइएको छ । रासस

Advertisement

Advertisement