नेपालमा पहिलो पटक टोस्टमास्टर्स डिस्ट्रिक्टको तालिम

Advertisement

काठमाडौं । टोस्टमास्टर्स इन्टरनेशनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । टोस्टमास्टर्सले यही साउन ६, ७ र ८ मा आयोजना गरेको तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए । 

एक गैर–नाफामुखी शैक्षिक संस्था टोस्टमास्टर्स इन्टरनेशनलले विश्वव्यापी नेटवर्कमार्फत सार्वजनिक बोल्ने र नेतृत्व कौशल सिकाउने काम गर्दै आएको छ । अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेशनल हाल विश्वका १४९ राष्ट्रमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मा शुरु भएको हो । 

Advertisement

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । तालिममा सहभागीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए । सो अवसरमा डिस्ट्रिक्ट डाइरेक्टर डि.टि.एम.अंकुर यादवले एक कुशल नेताले सङ्गठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्ने धारणा व्यक्त गर्दै भने, ‘हामीले हरेक वर्ष नयाँँ प्रेरणाको साथ काम गर्नु पर्छ र यस वर्ष केही नयाँँ सिक्दै, आफूमा सकरात्मक परिवर्तन ल्याउँदै अघि बढ्नु पर्छ ।’ 

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि.टि.एम.रन्जित आचार्यले नेतृत्व वर्गलाई सम्बोधन गर्दै नेता हुनु भनेको सबैभन्दा उत्कृष्ट हुनु नभएर हिजोको आफूभन्दा आजको आफू सुधारिनु भएको धारणा व्यक्त गरेका थिए । प्रत्येकको प्रतिस्पर्धा अरु कोही नभएर स्वयम् आफ्नै विगत भएको र सफल हुनको लागि आफैमा जिम्मेवारबोध, चनाखो हुनुपर्ने बताउँदै उनले भने, ‘मान्छेले सधैँ केही न केही गरिरहनु पर्यो र आफूले जे गरेको छ त्यसमा रमाउन सक्नु पर्यो ।’

तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सिप व्यक्तिगत र व्यवसायिक जीवनमा पनि लागू गर्न सके धेरै प्रगती गर्न सकिने बताएका थिए । ​डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि.टि.एम.सुमन शाक्यले कोभिडपछिको नौलो समयलाई इङ्गित गर्दै भने, ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँनयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्र भनेको राइज रिबिल्ड र रिभाइभ हो ।’

डिस्ट्रिक्ट ४१ का डि.टि.एम.क्लब ग्रोथ डिरेक्टर मुनप्रधान र उनको समूहले तालिम कार्यक्रमको नेतृत्व गरेका थिए । तालिममा टोस्टमास्टर्सको बजार प्रवद्र्धन गर्न, नयाँ क्लबहरू खोल्ने बिषयलाई समेत प्राथमिकता दिइएको थियो । तालिम कार्यक्रम अन्तरकृयात्मक हुनुको साथै डिस्ट्रिक्ट ४१ का  नवनिर्वाचित डिस्ट्रिक्ट अफिसरहरुको लागि अत्यन्तै जानकारीमूलक रहेको सहभागीहरुले बताएका छन् । तालिममा भारतबाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए । 

Advertisement

Advertisement