औद्योगिक क्षेत्रभित्र जमिनको अप्रत्यासित भाडा वृद्धिप्रति व्यवसायीको विरोध

Advertisement

काठमाडौं । मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी)बीच छलफल भएको छ । औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलनलगायतका विषयमा छलफल भएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको गत असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी बिल औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि उद्योगहरू समस्यामा परेको बताइएको छ । लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसँगको परामर्शबिनै भाडा वृद्धि गरी पत्र पठाएको फिनीको तर्फबाट जानकारी गराइएको छ । 

Advertisement

पछिल्लो पटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुगेका उद्योगहरूलाई आपसी सहमतीका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फी रुपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमै प्रतिकूल असर पर्ने चिन्ता छलफलमा व्यक्त गरिएको छ । भेटवार्तामा औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आय आर्जन गर्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरिएको छ । 

त्यसैगरी, औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको लगायत गुनासो फिनीको तर्फबाट राखिएको छ । साथै, फिनीले उठाएका विषयहरुमा साथ दिन एफएनसीसीआईलाई आग्रह गरिएको छ ।

सो अवसरमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका इस्यूहरू जायज रहेको बताए । उनले कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनु पर्नेमा उल्टो हतोत्साहित बनाउने निर्णय गरिनु चिन्ताजनक विषय भएको बताए । 

भाडा वृद्धिको निर्णय समय र विषयका हिसाबले समेत गलत रहेको अध्यक्ष गोल्छाले बताए । जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको तर्क उनको थियो । उनले भने, ‘तपाईहरूका जायज माग पूरा गराउने सम्बन्धमा एफएनसीसीआईको पनि साथ रहन्छ ।’ फिनीले राखेको वृहद औद्योगिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा महासंघले आन्तरिक तयारी गरेर अगाडि बढ्ने उनले प्रष्ट्याएका छन् । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्यले फिनीले उठाएका इस्यूहरूमा एफएनसीसीआईको साथ र सहयोग रहने प्रतिवद्धता जनाएका छन् । फिनीका अध्यक्ष रामहिरा पाठकले दुबै महासंघ मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुपर्ने भन्दै आफ्नो संस्थाले उठाएका इस्यूहरूमा एफएनसीसीआईको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताएका छन् । 

सो भेटवार्तामा फिनीका अध्यक्ष पाठकले फिनीको तर्फबाट उठाइएका इस्यूहरू एफएनसीसीआईका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरेका थिए । छफफलमा एफएनसीसीआईका कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक, फिनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement