राजा त्रिभूवन र महेन्द्रले प्रयोग गरेका तीन सवारीसाधन संग्रहालयमा, ४० वटै राखिने

Advertisement

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।

बुधवार राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गरेका थप तीन वटा सवारीसाधन प्रदर्शनमा राखिएको हो । पूराना सवारीसाधनको भौतिक मर्मत र रङरोदन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको बताए । 

Advertisement

उनले राजा त्रिभूवन र महेन्द्रलाई उपहारस्वरुप प्राप्त भएको र उनको परिवारले प्रयोग गरेका गाडीहरु आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेगरी खुला गरेको बताए । न्यौपानेले आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै जाने बताए । 

त्यस्तै नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित राजा त्रिभूवनले प्रयोग गरेको सवारीसाधन प्रदर्शनीमा राखिएको बताए । उनले राजा महेन्द्रले प्रयोग गरेको सवारीसाधन पनि प्रदर्शनीमा राखिएको जानकारी दिए । गुरुङले राजाहरुले प्रयोग गरेका ४० वटा सवारी साधन रहेको उल्लेख गर्दै आगामी दिनमा सबै सवारीसाधनलाई प्रदर्शनीमा राखिने बताए । 

एउटा त्रिभूवनले काठमाडौंमा शिकार खेल्ने बेलामा प्रयोग गरिएको हो भने अर्को त्रिभूवनको राजपरिवारका लागि प्रयोगमा ल्याइएको थियो । त्यस्तै अर्को सवारीसाधन भने राजा महेन्द्रले प्रयोग गरेका थिए जसलाई आजबाट नारायणहिटी दरबारमा सर्वसाधारणलाई अवलोकन गर्नका लागि प्रदर्शनीमा राखिएको छ ।  

Advertisement

Advertisement