नेपालका माहुरीपालक किसान निराश

नेपालमै उत्पादित मह उपेक्षित, विदेशबाट भने ३० करोड बढीको आयात

Advertisement

काठमाडौं । केही दिनअघि ‘दाङका किसान मह नबिकेपछि निराश’ भन्ने समाचार आएको थियो । उक्त समाचारपछि गएको आर्थिक बर्षमा विभिन्न देशबाट मह आयातमा करोडौं रकम बाहिरिएको सरकारी तथ्यांक सार्वजनिक भएको थियो । 

अहिले दाङका मह उत्पादक किसान मह बिक्री गर्ने ठाउँ नपाएर चिन्तित छन् । विगत वर्षभन्दा यस पटक महको उत्पादन बढेको छ । उत्पादन बढे पनि माग बढ्न नसकेपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न बाध्य भएका छन् । 

Advertisement

नेपाल मौरीपालक महासंघका अनुसार दाङमा हाल पाँच सयभन्दा बढी व्यवसायिक रुपमा मौरीपालक किसान रहेका छन् । उनीहरु अहिले आफूले उत्पादन गरेको मह नबिकेर निराश छन् । दाङको मह पोखरा, काठमाडौंलगायत शहरमा बिक्री हुने गरे पनि आयातित महको कारण पछिल्लो समस्य नेपाल किसानले उत्पादन गरेको १५० टन मह बिक्री नभएर थन्किएको महासंघको भनाई छ ।

स्थानीय ब्रान्डिङ नहुँदा, प्रचारप्रसार नहुँदा, सरकारले बजारको व्यवस्था गर्न सहयोग नगर्दा र आयातमा कडाई नगर्दा गाउँघरमा उत्पादित अर्गानिक मह छोडेर उपभोक्ता आयातित महमा रमाउने गरेका छन् । विशेष गरी भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महलाई उपेक्षा गर्ने गरेको देखिएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा कूल ३० करोड ४० लाख ११ हजार रुपियाँ बराबरको मह आयात भएको छ । अष्ट्रेलिया, भारत, पोर्चुगल, हङकङ, मलेसिया, रोमानिया, यूएई, यूके, अमेरिकाबाट सो परिणामको मह नेपाल भित्रिएको हो जसमा सबैभन्दा बढी मह भारतबाट आयात भएको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट पनि विभिन्न देशमा महको निर्यात हुने गरे पनि त्यो नगन्य छ भने आयातको परिमाण निकै ठूलो रहेको छ । गत आर्थिक वर्षको तथ्यांकका अनुसार नेपालबाट अष्ट्रेलिया, क्यानाडा, फिनल्याण्ड, जापान, कतार, यूएई, अमेरिका, भारत, जापान अमेरिकामा गरी कूल दुई करोड ९५ लाख ४० हजार रुपियाँ बराबरको मह निर्यात भएको छ जसमा सबैभन्दा बढी भारत र सबैभन्दा कम फिनल्याण्ड निर्यात भएको छ ।

यसले नेपाल मह निर्यातयोग्य भए पनि स्वदेशमा यसको राम्रो बजारीकरण नहुँदा किसानले दुःख गरेर उत्पादन गरेको मह खेल जाने अवस्था सिर्जना भएको हो । 

Advertisement

Advertisement