भक्तपुरका ठेकेदारले धम्काएर खाली चेकमा हस्ताक्षर गराई पाँच करोडको चेक बाउन्स गराएः पीडित

Advertisement

काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैले ५ करोड १४ लाख ६० हजार रुपियाँ भरेर बाउन्स गरी सम्पत्ति हडप्न खोजेको भन्दै बौद्व धर्म गुरु भीमसुवा गुरुङले न्याय गरेकी छन् । 

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई गत जेठ २ गते त्वानावासु र उनीसँग आएका जीवन बुढाथोकी लगायत ९ जनाले विप्लव समूहका हौ भन्दै हतियार खल्तीमा छ भनेर धम्काउँदै ६ घण्टा बन्धक बनाएर अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने ३ वटा चेक लगेको सुनाइन् । 

Advertisement

उनीहरुले आफ्नो छोरा मार्ने र आफूलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको रुँदै बताइन्् । रिम्पोछे ट्रष्टकी अध्यक्ष समेत रहेकी गुरुङले पीडकहरुले आफूलाई नियन्त्रणमा लिई छाडे लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराए पनि आफ्नो कुरा सुनुवाई नगरेको दुखेसो पोखिन् । 

गुरुङले जिल्ला प्रहरी परिसर टेकुमा आफूलाई अन्याय परेकोबारे जाहेरी दिन जाँदा दर्ता नगरेको पनि सुनाइन्् । उनले सभामुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संसद समेत १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरे पनि आजसम्म कुनै जानकारी नआएको उनको गुनासो छ । 

धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालक केशव त्वानाबास र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोद तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । उक्त सम्झौता अनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालकले गुरु रिम्पोछे ट्रष्टको खातामा ३ करोड रुपियाँ जम्मा गरेको र उक्त रकम विनोद तामाङले बुझे पनि कोभिडको कारण काम अगाडी बढाउन सकेनन् । 

पछि ती दुईबीच भएको सम्झौताबमोजिम काम नभएपछि तीन करोड रुपियाँ बुझेका विनोदले रकम फिर्ता गर्न नसकेपछि केशवले आफूमाथि अपराधिक कार्य गरेको गुरुङको भनाई छ । 

उनले आफू अन्यायमा परेको बताइन् । गुरुङले भनिन्, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाँच्नुसम्म टर्चर दियो । सात–सात घण्टा नियन्त्रणमा लिएर उनीहरुले मेरो चेक जबरजस्ती लगेको छ । त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरि त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ । मलाई धेरै अन्याय भएको कारण आज पत्रकार सम्मेलन गर्न परेको हो ।’

उनले सम्बन्धित निकायसँग आफूलाई न्याय दिन माग गरिन् । गुरुङले आफू न्यायको खोजिमा जता पुगेपनि न्याय पाउन नसकेको गुनासो सुनाइन् । उनले भनिन्, ‘यो देशमा न्याय नै रहेनछ, राम्रो मान्छेलाई केही कामै नहुने रहेछ, नराम्रोको मात्रै काम हुने रहेछ ।’

गुरुङले केशवसँग अफिसकै कामको सिलसिलामा चिनजान भएको बताइ्न् । आफ्नो तामाङ दाजुभाईले स्वयम्भुको लागि जम्मा गरेको उक्त रकम फिर्ता हुनुपर्ने उनको भनाई थियो । 

Advertisement

Advertisement