अर्थ मन्त्रालयमा अनधिकृतरुपमा छिर्नेहरुको बयानविना नै विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

Advertisement

काठमाडौं । बजेट जारी हुने अघिल्लो रातमा अर्थ मन्त्रालयका अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दरहरु हेरफेर गरेको र उक्त दिनको सीसीटीभी फुटेज मेटाएको विषयमा छानविन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार संसदमा प्रतिवेदन बुझाउने भएको छ । 

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई मुख्य दोषीको रुपमा औंल्याइएको यस प्रकरणबारे समितिले शुक्रबार दिउसो ३ बजे सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउन लागेको हो । सभामुखले समितिको म्याद थप गर्न अस्वीकार गरेपछि आज प्रतिवेदन तयार गरेर बुझाउन लागिएको समिति स्रोतले बतायो । 

Advertisement

बजेटको अघिल्लो रात अनधिकृतरुपमा अर्थ मन्त्रालय प्रवेश गर्नेहरुलाई बयानका लागि नबोलाई छानबिन समितिले प्रतिवेदन बुझाउन लागेको हो । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले रिकभर गरी पठाएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज धमिलो भएकाले मान्छे चिन्ह नसकिएको भन्दै विज्ञहरुलाई समेत बोलाएर छलफल गरेको समितिले सिंहदरबारको मुल गेटको सीसीटीभी फुटेजदेखि टेलिफोनको कल डिटेल नै नहेरी दोषीहरुलाई चोख्याउने तरिकाले प्रतिवेदन बुझाउन लागिएको जनाइएको छ । 

प्रतिवेदनमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट सीसीटीभीको हार्डडिक्स पठाउँदा जेठ १४ र १५ गतेको ५१ वटा सिंगल फ्रेमका क्लिपहरू प्राप्त हुन आए  पनि क्लिपहरू चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगी नभएको बताउँदै ती क्लिपहरूमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको बताएको जनाइएको छ । 

विशेष समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका चार साँसदसहित विभिन्न दलका साँसदहरु रहेका छन् जसमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव छन् । उमालेका साँसदले भने प्रतिवेदनको निष्कर्षको विरोध गरेका छन् ।

Advertisement

Advertisement