‘वाह ! अलैंची’ अभियान शुरुः नेपाली परिकारमा यसको प्रयोगलाई बढाउन अभियान केन्द्रित

Advertisement

काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी।)को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह अलैंची’ अभियान शुरु गरेको छ । 

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ ।

Advertisement

बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, शेफ सन्तोष शाह, यस ‘वाह अलैंची’ अभियानका ब्रान्ड एम्बेसेडर हुन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्ने छन् । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।

नेपालमा विश्व बजारको ६६०० मेट्रिक टन अलैंची उत्पादन हुन्छ, जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत हो । तर, नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारत लगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ । 

सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैंचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो । त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको रु. १०० देखि रु. १५० सम्ममा खुद्रा बिक्री हुने नेपाली अलैंचीको मूल्यको तुलनामा अहिले १०० ग्रामको सुकमेलको रु. ४०० देखि रु. ५०० सम्म बढी मूल्य तिरिरहेका छन् ।
 

Advertisement

Advertisement